Comments Add Comment

‘बामदेव कार्ड’ को हदम्याद- वैशाख २० सम्म !

शनिबार सचिवालयमा प्रधानमन्त्रीले प्रस्ताव ल्याउने दाबी

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने प्रस्ताव बुधबार साँझको सचिवालय बैठकमा राख्दा नेताहरु छक्क परे । बामदेवलगायत सचिवलायका अन्य नेतालाई लागेको छ, ओलीले ‘कार्ड’ खेलेका हुन्, वामदेवलाई प्रधानमन्त्री बनाउन चाहेका होइनन् ।

के प्रधानमन्त्री ओली साँच्चै नै कोरोना रोकथाम भएपछि गौतमलाई प्रधानमन्त्री बनाउन चाहन्छन् त ? यस सम्बन्धमा प्रश्न गर्दा नेकपाका एक नेताले भने, ‘ढाँटको निम्तो खाई पत्याउनू !’

नेकपाको सचिवालय बैठक बैशाख २० गते शनिबार बस्दैछ । अध्यक्ष ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउन चाहेका हुन् कि हैनन् भन्ने छिनोफानो शनिबारको बैठकबाटै हुने नेकपा नेताहरुको भनाइ छ । नाम सार्वजनिक गर्न नचाहने एक नेताले भने, ‘बामदेवलाई प्रधानमन्त्री बनाउनै चाहेको हो भने प्रधानमन्त्री ओलीका तर्फबाट शनिबारको बैठकमा ठोस प्रस्ताव पक्कै आउला । प्रतिनिधिसभामा चुनाव हारेको व्यक्तिलाई कसरी प्रधानमन्त्री बनाउने भन्ने स्पष्ट खाकासहितको प्रस्ताव प्रधानमन्त्रीबाट आयो भने उहाँले बामदेवलाई प्रधानमन्त्री बनाउन चाहेकै हो भन्ने शनिबारै स्पष्ट भइहाल्छ ।’

माधव नेपालनिकट नेकपा नेताहरुका अनुसार प्रधानमन्त्रीले खेल्न खोजेको ‘बामदेव कार्ड’ को हदम्याद वैशाख २० सम्म छ । प्रधानमन्त्री ओलीले बामदेवबारे शनिबारको बैठकमा ठोस प्रस्ताव नल्याएमा यो कार्डको म्याद त्यही दिनदेखि ‘एक्स्पायर’ हुनेछ ।

तर, प्रधानमन्त्रीले शनिबारको बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने कार्ययोजना प्रस्तुत गरेको अवस्थामा होला ? त्यसपछि नेकपाको शक्ति सन्तुलन र नेपालको राजनीतिमा नयाँ बहस सुरु हुने नेताहरुको विश्लेषण छ ।

केपी ओलीसँग रहेका विकल्प

बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनै चाहेका हुन् भने प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा दुईवटा विधि सुझाउन सक्छन् :

एक- राष्ट्रियसभाको सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव सचिवालय बैठकमा राख्ने । र, बामदेवलाई राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन गराएर राष्ट्रियसभा सदस्य बनाई प्रधानमन्त्री बनाउने प्रस्ताव सचिवालयमा राख्ने ।

दुई- प्रतिनिधिसभाको कुनै सिट खाली गराएर त्यसमा बामदेव गौतमलाई उपचुनाव जिताएर प्रधानमन्त्री बनाऔं भन्ने प्रस्ताव शनिबारको बैठकमा राख्ने । यसका लागि आफ्नो कुनै सांसदको राजीनामा समेत सचिवालय बैठकमा पेश गर्ने ।

प्रधानमन्त्री ओलीले शनिबार सचिवालयको बैठकमा यी दुईमध्ये एउटा प्रस्ताव ल्याएको खण्डमा उनी वामदेवलाई प्रधानमन्त्री बनाउन ईच्छुक रहेको सिद्ध हुने नेकपा नेताहरु बताउँछन् ।

यो पनि पढ्नुहोस प्रचण्ड–नेपाल पक्षका नेता भन्छन् : ओलीको क्षेप्यास्त्र खेर जान्छ

प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा ल्याउन सक्ने यी दुई प्रस्तावको राजनीतिक प्रभाव कस्तो पर्ला ? अनि, प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव आइहाल्यो भने सचिवालयका अन्य नेताहरुको अभिमत के होला ? यो बेग्लै विश्लेषणको विषय हो ।

ओलीलाई सजिलो छैन

बामदेव गौतमलाई प्रधानमन्त्रीको पद दिएर फकाउने अनि प्रचण्ड-माधव समूहबाट उनलाई आफूतिर तान्ने नियतले प्रधानमन्त्रीले शनिबार औपचारिक प्रस्ताव ल्याइहाले भने यसले प्रचण्ड र माधव नेपाललाई मात्रै नभएर स्वयं प्रधानमन्त्रीलाई समेत अक्करमा पार्ने सम्भावना देखिन्छ ।

प्रथमत : राष्ट्रियसभाको सदस्यसमेत प्रधानमन्त्री बन्न पाउने प्रस्ताव प्रधानमन्त्री ओलीको तर्फबाट सचिवालयमा ल्याइनु भनेको संविधानको मर्म र भावनाविपरीत कदम हुन जानेछ । र, यसको अपजसको भारी प्रधानमन्त्री स्वयंले बोक्नुपर्ने हुन्छ । यो कदमवापत सरकारले थप आलोचना र विरोधको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । र, यसका लागि गरिने संविधान संशोधनमा दुईतिहाई बहुमत नजुट्ने निश्चित भएकाले यो बाटोबाट वामदेव प्रधानमन्त्री बन्ने सम्भावना छैन । र, परिणाम केपी ओलीकै विपक्षमा जाने छ ।

दोस्रो : उपचुनावबाट वामदेवलाई प्रतिनिधिसभामा ल्याउने प्रस्ताव प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा ल्याए भने उधारो कि हाताहाती भन्ने प्रश्न उठ्न सक्छ । किनभने, विगतमा पनि यसबारेका सम्भावनाका खेलहरु धेरै भएका थिए । सांसद धनबहादुर बूढालाई राजीनामा गराउन खोजिएको थियो, मतदाताले मानेनन् । अर्का सांसद रामवीर मानन्धरको राजीनामा प्रकरण पनि सफल भएन । कास्कीमा खाली भएको सीटमा पनि वामदेव जान सकेनन् ।

अब यो अवस्थामा कसलाई खाली गराएर बामदेवलाई उपचुनावमा पठाउने ? नेकपाका एक नेता भन्छन्, ‘प्रधानमन्त्री ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउन चाहेकै हो भने यसबारे शनिबारको बैठकमा ठोस प्रस्ताव आउला । उहाँले त्याग नै देखाउनु खोज्नुभएको हो भने झापाको आफ्नै निर्वाचन क्षेत्र खाली गराएर भए पनि वामदेवलाई प्रतिनिधिसभामा ल्याउन पनि सक्नुहोला ।’

तर, उपचुनावमा बामदेवलाई जिताउनु अर्को जोखिमपूर्ण गेम हुन सक्छ । नेकपाका लागि । यसका साथै प्रधानमन्त्री आफैंले शनिबारको सचिवालय बैठकमा बामदेवका लागि उपचुनावको प्रस्ताव ल्याउनु भनेको राजनीतिक अस्थिरताका लागि आफैं साक्षी बसेको ठहरिने छ र जनतामा उनको लोकपि्रयता थप कमजोर हुने खतरा बढ्नेछ ।
के यी सबैखाले जोखिमहरु मोलेर प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ‘रोडम्याप’ प्रस्तुत गर्लान् त ? पार्टीभित्र र बाहिर सबैतिरबाट यसलाई चासोपूर्वक हेरिएको छ ।

प्रचण्ड-माधव समूहलाई पनि सजिलो छैन

प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा जुनसुकै प्रक्रियाबाट भए पनि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याइहाले भने यसबाट प्रचण्ड-माधव समूहलाई पनि अप्ठ्यारो पर्नेछ ।

संविधान संशोधन गरेर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा यसअघि नै प्रचण्ड-माधव समूहका नेताहरुले समर्थन जनाइसकेका छन् । तर, व्यापक विरोध भएपछि प्रचण्ड समूहका नेताहरु यो विषयमा पछि हटेको अवस्था छ ।

यो पनि पढ्नुहोस संविधानविद् भन्छन्– अहिले बामदेव गौतम प्रधानमन्त्री बन्न सक्नुहुन्न

अब शनिबारको बैठकमा यही प्रस्ताव प्रधानमन्त्रीले ल्याए भने प्रचण्ड-माधव समूहले विरोध गर्न सक्ने अवस्था छैन । प्रधानमन्त्रीको प्रस्तावको विरोध गर्दा बामदेव गौतमले चित्त दुखाउने डर प्रचण्ड माधव समूहलाई छ । तर, त्यसलाई समर्थन गर्दा असंवैधानिक निर्णयमा सही गरेको प्रचण्ड-माधवमाथि पनि लाग्ने निश्चित छ । यो अवस्थामा उनीहरुले या त आफ्नो राजनीतिक साख गुमाउनुपर्ने हुन्छ, या त वामदेवको साथ ।

किनभने, ९ सदस्यीय सचिवालयमा बामदेव गौतम बिच्किएर केपी ओलीतिर लागे भने ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, वादल र वामदेव समेत गरी ओली पक्ष बहुमतमा पुग्ते छ । बाँकी चार जना प्रचण्ड, माधव, झलनाथ र नारायणकाजी अल्पमतमा पर्ने छन् ।

संविधान संशोधन गरी उपचुनाव गरेर वामदेवलाई प्रधानमनत्री बनाउने प्रस्ताव आयो भने के हुन्छ ?

यो प्रस्तावमा प्रचण्ड-माधव समूहले सहमति जनाएमा असार-साउनयता चुनावको गुञ्जायस हुने छैन, त्यसका लागि आगामी छठ पछिसम्म कुर्नुपर्ने हुन्छ । त्यसबेलासम्म प्रधानमन्त्री केपी ओलीको सरकारलाई नै प्रचण्ड-माधव नेपालले सघाउनुपर्ने छ । र, यसबाट ओली सरकारमाथिको आन्तरिक संकट करिब ६ महिनासम्म सहजै टरेर जाने छ ।

त्यसपछि हुने चुनावमा बामदेव गौतमले जितिहाल्ने सम्भावना रहँदैन । वामदेवले चुनाव जितेको भन्दा नजितेकै फाइदा हुने भएकाले उनलाई ओली पक्षले पनि भित्रैदेखि साथ दिने अवस्था हुँदैन । अर्को पक्षले पनि भित्रैदेखि साथ दिँदैन । मतदाताहरुले पनि राजनीतिक अस्थिरतालाई बढाउनका लागि हुने उपचुनावमा नेकपालाई साथ दिने अवस्था हुँदैन । र, त्यो चुनाव नेकपाविरुद्धको ‘जनमत संग्रह’मा परिणत भइदिन सक्छ ।

के अब प्रचण्ड, झलनाथ खनाल र माधव नेपाललगायतका शीर्ष नेताहरुले शनिबारको बैठकमा त्यस्तो आत्मघाती उपचुनावको निर्णयमा हस्ताक्षर गर्लान् ? गरे भने प्रधानमन्त्रीजस्तै उनीहरु सबै आलोचनाको पात्र बन्ने छन् ।

यसअघि नै बामदेव गौतमका लागि संविधान संशोधन गर्न तयार देखिएर प्रचण्ड- माधव समूह पनि जनतामाझ चर्को आलोचनाको शिकार बनिसकेका छन् । आफ्नो गुटको बहुमत देखाउन यो समूह पनि जायज/नाजायज जुनसुकै निर्णय गर्न तयार छ भन्ने विगतको घटनाक्रमले देखाइसकेको छ । त्यसैले, जुनसुकै विधिबाट भए पनि बामदेवलाई प्रधानमन्त्री बनाउने निर्णय आगामी शनिबारको बैठकले सर्वसम्मत रुपमै गर्‍यो भने पनि त्यसमा अचम्म नमान्दा हुन्छ ।

प्रधानमन्त्रीबाट प्रस्तावै आएन भने ?

शनिबार बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीका तर्फबाट बामदेवलाई प्रधानमन्त्री बनाउने कुनै ठोस प्रस्ताव आएन भने के हुन्छ ?

प्रधानमन्त्री ओलीले कुनै ठोस प्रस्ताव ल्याएनन् भने उनले गौतमलाई प्रधानमन्त्री बनाउन चाहेका होइनन् र कार्ड मात्र खेल्न चाहेका हुन् भन्ने छर्लङ्ग हुन्छ । र, कतिपय नेताले भनेजस्तै ‘वामदेव कार्ड’ को सोही दिनबाट म्याद सकिन्छ ।

सँगसँगै, नेकपा एउटा गम्भीर राजनीतिक दुर्घटनाबाट पनि जोगिन्छ । तर, यसबाट ओली सरकार गणितीय संकटमा पर्ने जोखिम चाहिँ बढ्न सक्छ ।

शनिबार प्रधानमन्त्रीले प्रस्ताव ल्याउने दाबी

के ओलीले साँच्चिकै बामदेवलाई प्रधानमन्त्री बनाउन खोजेका हुन् त ? ओलीसँग विहीबार पनि भेटेका नेताहरुका अनुसार यसपटक रणनीतिक रुपमा होइन, गम्भीर रुपमा उनले बामदेवलाई अघि सारेका हुन् । उनकै प्रस्तावमा सम्भवतः वैशाख २० गतेको सचिवालय बैठकले बामदेवलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गर्नेछ ।

ती नेताले भने, ‘केपी कमरेडले गम्भीर रुपमा नै यो प्रस्ताव ल्याउनुभएको हो । केही दिन टार्नका लागि होइन भन्ने मैले बुझेँ । केही दिनमै उहाँका लागि कुनै निर्वाचन क्षेत्र खाली गराइन्छ । संविधान संशोधन गरेर राष्ट्रियसभामा सदस्य प्रधानमन्त्री बनाउने कुरा हुन्न । उपचुनाव गरेर ल्याउने अवस्था मैले बुझेको छु ।’

विहीबार र शुक्रबारको गृहकार्यपछि शनिबार बस्ने बैठकमा बामदेवलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने प्रस्ताव लैजाने बालुवाटारको तयारी रहेको स्रोतको दाबी छ । यद्यपि खुमलटार र कोटेश्वरले बालुवाटारबाट त्यस्तो औपचारिक प्रस्ताव आएर निर्णय हुन्छ भन्ने अझै विश्वास गरेका छैनन् । साँच्चिकै आयो भने दुवै पक्षको रणनीति के हुन्छ ? अझै प्रष्ट छैन ।

तत्काल यो निर्णय गर्दा ओली सरकार वार कि पारको लडाइबाट जोगिन्छ । कोरोना महामारीविरुद्धको लडाई अझै कति समय रहन्छ भन्ने ठेगान छैन । यही बेला ओलीले आफ्नो कार्यालयको तेस्रो बजेट ल्याउनेछन् । यसबीचमा कुनै निर्वाचन क्षेत्र खाली गरेर बामदेवलाई चुनाव लडाउँदासम्म कम्तिमा ६ महिनाको समय ओलीले थप व्यतीत गर्नेछन् ।

यो पनि पढ्नुहोस बामदेवका लागि क्षेत्र छाड्न तयार छु, संविधान संशोधन नगरौं : खगराज

आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउने प्रचण्ड-माधव गठबन्धनको प्रयास विफल बनाउन बामदेव कार्ड प्रयोग गर्न ओली बाध्य भएका हुन सक्छन् । संसदीय दलमा बहुमत भएको भनिरहँदा ओलीले अचानक लिएको यो रणनीतिले धेरैलाई अन्योलमा मात्र पारेको छैन, पार्टीभित्रकै विरोधी खेमालाई पनि नयाँ रणनीति बनाउन बाध्य पारेको छ ।

ओलीले माधव नेपाललाई तेस्रो बरियताको अध्यक्ष बनाउने प्रस्तावका बारेमा भने पहिले नेपालकै प्रतिक्रिया माग्ने भनेका छन् ।

ओलीले बामदेव कार्ड खेल्नुको पछाडि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल तीनैजना नेताको प्रधानमन्त्री बन्ने आकांक्षामा ब्रेक लगाउन खोजेको देखिन्छ । आफूलाई पार्टी अध्यक्ष र संसदीय दलको नेता बन्न सघाएका बामदेवलाई गुन पनि लगाइने र अपमानजनक ढंगले हटाउन खोज्नेहरुलाई जवाफ समेत हुने गरी ओलीले सुविचारित ढंगले नै यो प्रस्ताव ल्याएको उनीनिकट नेताहरु बताउँछन् ।

यसैवीच केपी ओलीनिकट नेता कर्णबहादुर थापाले अनलाइनखबरलाई दिएको अन्तरवार्तामा भने प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएका छन् । थापाले वामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव रणनीतिक मात्र भएको बताएका छन् ।

केपी ओलीनिकट नेता थापा भन्छन्, ‘प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ भन्ने मलाई लाग्दैन, .. यो एकदमै रणनीतिक कदम हो ।’

यो पनि पढ्नुहोस ‘प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, बामदेव कार्ड रणनीतिक हो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment