
काठमाडौं । लकडाउन सकिएसँगै टूटल र पठाओ जस्तै नेपालमा राइड सेयरिङ सेवा दिने ‘लुजुम’ले सेवा थाल्दैछ । लकडाउन खुल्नासाथ नेपाली राइड सेयरिङ सर्भिसको बजारमा अर्को नयाँ एप ‘लुजुम’ अर्थात ‘लौ जाऔं’ थपिँदै छ । लुजुम कम्प्युटर सर्भिसेस प्रालिका कार्यकारी निर्देशक प्रतीक सुब्बा बजार अध्ययन र योजना बन्दाबन्दै चार वर्षअघि बनेको योजना अनुरूप सेवा सुरुवात गर्न ढिला भएको बताउँछन् ।
‘तर अब विशेष योजनाका साथ आउँदै छौं,’ उनी भन्छन्, ‘नेपालको सवारी प्रणाली सहज र सुलभ बनाउने योजना हामीले बनाएका छौँ । त्यसैले हामी अनलाइन र अफलाइन दुवै माध्यमबाट बुकिंग सेवा दिएर इन्टरनेट तथा स्मार्टफोन नभएका यात्रीलाई पनि जोड्ने तयारीमा छौं ।’
लुजुमले पहिलो चरणमा मोटरसाइकलमा यो सेवा दिनेछ । विस्तारै ट्याक्सी, तीन पांग्रे (उपत्यका बाहिरका लागि टेम्पो र सफारी), बोलेरो र स्कर्पियो रिजर्भलाई समेत जोड्ने तयारीमा कम्पनी जुटेको छ ।
सुरुवात काठमाडौंबाट हुने भएतापनि लगत्तै विराटनगर, पोखरा, धरान, इटहरी, चितवन जस्ता मूख्य तथा ठूला शहरमा लुजुमको सेवा विस्तार हुनेछ । डेनमार्क र अष्ट्रेलियामा अध्ययन गरेर फर्केका युवाहरु प्रतीक सुब्बा र डेनिस कार्की तथा सूचना प्रविधि कन्सल्टेन्ट गुञ्जा सुनुवारको समूहले यो योजना बुनिरहेको छ ।
जसमध्ये मोटरसाइकल राइड सेयरिङमा विराट मेडिकल कलेजको समेत लगानी रहनेछ । ट्याक्सी सेवा सुरु गर्दा त्यसमा विदेशमा रहमा विभिन्न व्यक्तिले लगानी गर्ने तयारी भइरहेको सुब्बा बताउँछन् ।
सुरक्षा कोष
यात्री र पार्टनरको सुरक्षाका लागि लुजुमले सम्पूर्ण सवारी साधनको सुरक्षा कोषको व्यवस्था गर्नेछ । केही दुर्घटना भएको खण्डमा यात्री र पार्टनरको उपचारको केही भाग लुजुमका सहकर्मी स्वास्थ्य केन्द्र मार्फत व्यहोरिनेछ ।
महिला यात्रीको थप सुरक्षाको निम्ति सवारीसाधन निश्चित गर्नु अघि महिला यात्रीले महिला चालक छनौट गर्न पाउने छन् । उपलब्धताका आधारमा त्यस्तो अवस्थामा महिला यात्रीलाई महिला पार्टनर नै उपलब्ध गराउने कम्पनीको योजना छ ।
लुजुमले आफ्ना यात्रीप्रति लक्षित गर्दै सबैभन्दा सुरुवाती समयमा यात्रा गर्ने ५५ जना यात्रीलाई ५ वर्षका लागि मासिक रूपमा केही निःशूल्क यात्राको सेवा प्रदान गर्नेछ ।
प्रतिक्रिया 4