
२४ वैशाख, काठमाडौं । लकडाउन सुरु भएको दिनदेखि बन्द भएको रानीपोखरी पुनर्निर्माणको पुनः सुरु भएको छ ।
रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गत हप्तादेखि र रानीपोखरी पुनर्निर्माण आइतबारदेखि सुरु भएको हो ।
रानीपोखरी पुनर्ननिर्माण ढिला हुन नदिन काम सुरु गरिएको प्राविधिक परामर्शदाता राजमान महर्जनले बताए । ‘४५ दिनसम्म घरभित्रै बसेका छौं, अहिलेसम्म यहाँ कोरोनाको संक्रमण देखिएको छैन । संक्रमण नफैलिएपछि धेरै दिन भयो काम बन्द भएको काम किन रोकेर राख्नु भनेर सुरु गरिएको हो’ उनले भने ।
पुनर्निर्माणमा भक्तपुर र कीर्तिपुरका कामदार खटिएका छन् । त्यस्तै थप दुई जना धादिङबाट समेत ल्याइएको छ ।
निर्माण सामग्रीको अभाव
सवारी पास नहुँदा पुनर्निर्माणका सामान ढुवानी गर्न कठिनाई भएको निर्माणकर्ता सीए तुलसी कन्स्ट्रक्सनकासाइट इन्जिनियर सनम श्रेष्ठले बताए ।
‘पहिले ल्याएको सामान ६/७ दिनलाई मात्रै पुग्ने छ । त्यसपछि फेरि काम रोकिन्छ । सामान नै नभएपछि कसरी काम गर्ने हो ?, उनले भने, ‘प्राधिकरणलाई सामान ल्याउनको लागि पासको व्यवस्था गरिदिनु भनेको एक महिना भइसक्यो । अहिलेसम्म व्यवस्था गरिदिएको छैन ।’
मन्दिर र पोखरीको लागि भक्तपुर र गोर्कणबाट माटो, इँटा, काठलगायतका सामान ल्याउनुपर्ने हुन्छ । पोखरीमा पानी अड्याउन प्रयोग हुने माटो गोकर्णबाट ल्याइएको छ ।
हाल लकडाउन अघि ल्याएको माटो र पुराना इँटा प्रयोग गरेर काम गरिएको छ । त्यो पनि सकिएपछि अप्ठेरो पर्ने इन्जिनियर श्रेष्ठको भनाइ छ ।
शिखर शैलीमा बन्ने रानीपोखरीभित्र रहेको बालगोपालेश्वर र बगैचा निर्माणको ठेक्का सीए तुलसी कन्स्ट्रक्सनले पाएको छ ।
हाल पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मन्दिर निर्माणको काम भर्खरै सुरु भएको छ ।
प्रतिक्रिया 4