+
+

नक्कल गर्नु मान्छेको मूल स्वभाव हो, तर..

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १७:३१

‘नक्कल’ शब्दले आफैँभित्र नकारात्मक भावलाई बोकेको हुन्छ । नक्कल शब्द सुन्नसाथ मान्छेहरू नाक खुम्च्याउन थाल्छन् । जबकि मान्छेले जीवनमा जे-जति कुरा सिक्छन्, त्यो नक्कल गरेरै सिक्ने हो । जन्मबाटै मान्छेले नक्कल गर्न सुरु गर्छन् । खान पिउनु, बोल्नु, चल्नु, हिँड्नु लगभग सबै काम उसले नक्कल गरेरै सिक्छ।

आमाबुबाको नक्कल गर्दागर्दै बालबच्चाले व्यावहारिक जीवनका कुराहरू सिक्छन् । अरूको देखेर, सुनेर नै बच्चाले नक्कल गर्न थाल्छन् । यही क्रममा उनले जीवनोपयोगी कुराहरू आर्जन गर्छन्। नयाँ अनुभव संगाल्छन् । नक्कल नगरी कुनै पनि कुरा सिक्न सम्भव होला ?

नवजात शिशुको अघिल्तिर तपाईंले ज्ञानका ठेली राखिदिनुहोस् वा भव्य पुस्तकालयभित्र उनलाई राखिदिनुहोस् र बाँकी मान्छेको सम्पर्कबाट विच्छेद गरिदिनुहोस् । अब उनले केही कुरा सिक्छन् ?

त्यही शिशुलाई एउटा बाख्रासँग हुर्किन दिएमा उनले बाख्राको जस्तै आवाज निकाल्न थाल्छन् । के त्यस्तै आवाज निकाल्नका लागि उनलाई बाख्राले सिकाएको हो ? होइन, उनले बाख्राको नक्कल गरेर आफैँले सिकेका हुन् ।

हामी किन नक्कल गर्छौं ?

हामीले एकअर्कालाई हेरेर नै धेरै कुरा सिक्छौं। अरूले लगाएको, अरूले खाएको, अरूले बोलेको आदि कुरा हेरेर त्यसैको नक्कल गर्छौं । आखिर किन हामी नक्कल गर्छौं ?

किनभने हाम्रो मस्तिष्कले सधैं सुरक्षित बाटोको खोजी गरिरहेको हुन्छ ।

जुन बाटो सुरक्षित लाग्छ, त्यसैतर्फ हाम्रो झुकाव रहन्छ। जुन काम धेरै मान्छेले गरिरहेको देखिन्छ, त्यही काम मस्तिष्कले सुरक्षित ठान्छ र त्यही काम गर्नका लागि प्रेरित गर्छ । मानौं, एउटा ठूलो भवनभित्र प्रवेश गर्ने दुईवटा ढोका छन्। एउटा ढोकाबाट धेरै मान्छे प्रवेश गरिरहेका छन् । अर्कोबाट एकाध मात्र प्रवेश गरिरहेका छन् । अब तपाईं धेरै मान्छेको पङ्क्तिमा उभिनुहुन्छ। किनभने तपाईंको मस्तिष्कले के ठान्छ भने जहाँ धेरै मान्छे प्रवेश गर्छन्, त्यहाँ पक्कै सुरक्षित एवं सजिलो छ।

के हामी कोरोना नियन्त्रणका लागि पनि नक्कल गरिरहेका छौं ?

जसै विश्वभर कोरोनाको सन्त्रास फैलिँदै गयो । असुरक्षित मुलुकहरूले लकडाउन गर्‍यो । भिडभाड, आउजाउ, यातायात नियन्त्रण गर्न सबैलाई घरभित्रै बस्न आह्वान गरे। कोरोना भाइरसको संक्रमण जसरी एकपछि अर्को देशमा फैलिँदै गयो । उसैगरी लकडाउने गर्ने ट्रेन्ड पनि बढ्यो ।

आफ्नो कामधन्दा ठप्प पारेर मान्छेहरू घरभित्रै बसे । कसैले विरोध गरेनन् । कसैले लकडाउनको उल्लंघन गरेनन्, किन ?

किनभने मान्छेलाई के लाग्यो यो नै सुरक्षित उपाय हो जो अरूले अपनाइरहेका छन् । स्विडेनले जस्तो हर्ड इम्युनिटी अपनाएर दैनिक जनजीवन सहज बनाउने विधिलाई अरूले पच्छ्याएनन् । किनभने सबैलाई लाग्यो, अरूले यस्तो विधि अपनाएका छैनन् । त्यसैले यो सुरक्षित छैन ।

तर, लकडाउनको कारण आर्थिक स्थिति र सामाजिक जीवन नराम्ररी प्रभावित भयो । यही कारण कोरोना भाइरसको संक्रमण कायम रहे पनि कतिपय मुलुकले लकडाउन खुकुलो बनायो । एकपछि अर्को मुलुकले कोरोनाको सन्त्रासबीच लकडाउन खुकुलो बनाउँदै लग्यो ।

अतः लकडाउन गर्ने ट्रेन्डलाई जसरी अर्को मुलुकले पच्छ्याउँदै गयो । उसैगरी लकडाउन खुकुलो गर्ने तरिकालाई पनि पच्छ्याउन थाले । यो एक हिसाबले नक्कल नै थियो । मान्छेले सुरक्षाको खोजीमा यस्तो नक्कल गरिरहन्छ । तर, नक्कलमा पनि अक्कलको जरुरत हुन्छ ।

भारतीय आयुर्वेदिक चिकित्सक एवं लेखक डा.अबरार मुल्तानीको विचारको सम्पादित अंश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?