
१७ असार, काठमाडौं । कोरोना भाइरसको महामारीले पारेको प्रभाव वैदेशिक व्यापारमा देखिन थालेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को ११ औं महिनासम्म आइपुग्दा निर्यातको वृद्धिदर शून्य प्रतिशतमा झरिसकेको छ । आयात समेत साढे १५ प्रतिशत कम भइसकेको छ ।
यसले समग्र वैदेशिक व्यापार घटेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार चालु आवको ११ महिना (साउन -जेठ)सम्म कुल ११ खर्ब ८८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यसमध्ये आयात ११ खर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
निर्यात भने ८८ अर्ब रुपैयाँ मात्र छ । कुल वैदेशिक व्यापारमा आयात-नियार्तको हिस्सा क्रमशः ९२.६० प्रतिशत र ७.४० प्रतिशत रहेको छ ।
आयात १५.३१ प्रतिशतले ओरालो
११ औं महिनासम्म आइपुग्दा आयात भने गत आवको तुलनामा १५.३१ प्रतिशत कम भएको छ । चालु आवमा ११ खर्ब ८१ करोडको आयात भएको छ । गत आवको ११ औं महिनामा १२ खर्ब ९९ अर्ब ८० करोडको आयात भएको थियो । निर्यात समेत ११ औं महिनामा आउँदा निकै घटेको छ ।
विभागको तथ्याङ्कअनुसार चालु आवको प्रारम्भिक महिनाबाटै निर्यातले राम्रो गति लिएको थियो । तर कोरोना भाइरसको महामारीसँगै यसको गतिमा भने ब्रेक लागेको छ ।
चालु आवको ११ औं महिनामा गत आवको यसै अवधिको तुलनामा शून्य दशमलव १९ प्रतिशत वृद्धि भएको छ । गत आवमा ८७ अर्ब ८३ करोडको निर्यात भएको थियो ।
व्यापार घाटामा केही सुधार
आयातमा ठूलो कमी देखिएपछि त्यसले यो वर्ष व्यापार घाटा न्यूनीकरणमा भने केही सहयोग गरेको छ । चालु आवको ११औं महिनासम्म कुल १० खर्ब १२ अर्ब ८१ करोडको व्यापार घाटा रहेको छ ।
यो गत आवको यसैअवधिको तुलनामा १६.४३ प्रतिशतले कम हो । गत आवमा १२ खर्ब ११ अर्बको व्यापार घाटा रहेको थियो ।
प्रतिक्रिया 4