+
+

अति भो भारतीय मिडियाको हर्कत !

फेक न्यूजको आडमा घृणाको व्यापार

चिरञ्जीवी पौडेल चिरञ्जीवी पौडेल
२०७७ असार २५ गते १०:१७

२५ असार, काठमाडौं । भारतीय मिडियाको विषयमा एउटा भनाइ विश्वव्यापी चर्चित छ– यिनीहरु सबैथोक गर्छन्, सिवाय पत्रकारिता । सुन्दा अतिरञ्जना लागे पनि भारतीय मिडियाको आम चरित्रलाई यही भनाइले सबैभन्दा बढी न्याय गर्छ ।

सर्वत्र स्वीकारिएका पत्रकारिताका तीन मूल मन्त्र हुन्, वस्तुनिष्ठता, निस्पक्षता र विश्वसनीयता । तर, यो भारतमा लागू हुँदैन । भारतीय मिडियाका लागि तीन मूल मन्त्र हुन्– टीआरपी, टीआरपी र टीआरपी । टीआरपीभन्दा बाहिर उनीहरु केही सोच्न चाहँदैनन् । प्रोपोगाण्डाको आगो दन्काएर टीआरपीको रोटी सेक्नुलाई उनीहरुले पत्रकारिता भन्छन् । अधिकांश भारतीय मिडियाले बेच्ने समाचारको स्तर सडकमा गरिने उछृंखल नारावाजीभन्दा पनि निम्नकोटीको हुन्छ ।

भारत विश्वकै ठूलो प्रजातन्त्र हुनुमा गर्व गर्छ । सिद्धान्तमा भारत प्रजातान्त्रिक मुलुक नै हो । तर, व्यवहारमा ? व्यवहारमा चाहीँ भारतको प्रजातन्त्र उनीहरुका लागि मात्र हो, जो सत्ताको दास बन्न तयार छन् । धार्मिक र जातीय अल्पसंख्यकका लागि त्यहाँ प्रजातन्त्र छैन । र, उनीहरुका लागि बोलिदिने मिडिया पनि छैनन् । भारतीय मिडिया सत्ताको दुन्दुभी बजाउनमै गर्व गर्छन् ।

राज्यले दपेटाईमा परेका उत्पीडित समुदायलाई मिडियाले सान्त्वना दिँदैनन्, तिरस्कार गर्छन् । छिछि दुरदुर गर्छन् । अन्यत्र मिडियालाई आवाजविहीनहरुको आवाज मानिन्छ भने भारतमा मिडियालाई सत्ताको चाकर ठानिन्छ ।

आम सञ्चारभित्र पनि समाचारमूलक टीभी च्यानलहरुको झन् दुर्दशा छ । यी टेलिभिजनका न्यूज एंकरहरु समाचार पढ्दैनन्, भुक्छन् । प्राइम टाइममा देखाउने ‘टक शो’ सँग त हामी सबै परिचित नै छौं । टक शोका नाममा टीभी प्रस्तोताहरु अतिथिमाथि हुलहुज्जत गरेको पाइन्छ । ती कार्यक्रममा अतिथिलाई विचार मन्थन गर्न होइन, झाँको झार्न बोलाइन्छ । भारतीय टीभी प्रस्तोताका अगाडि हाम्रा ऋषि धमला पनि शालीन लाग्छन् ।

भारतमा अल्पसंख्यक, खासगरी मुस्लिम समुदाय राज्यसँगै मिडियाको कोपभाजनमा पर्दै आएका छन् । सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएपछि मुस्लिम समुदायका लागि आफ्नै देश बिरानो बनेको छ । राज्यको नजरमा सबै मुस्लिमहरु देशद्रोही र पाकिस्तानी एजेन्ट हुन् । राज्यको यही भाष्यलाई मिडियाले काँधमा बोकेर हिँडेका छन् । उनीहरुलाई राज्यले अह्राइरहनु पनि पर्दैन । मोदीले ‘आँ’ पनि गर्न नपाई अलंकार बुझ्न सक्ने क्षमता भारतीय मिडियामा छ । मुस्लिमलाई बदनाम गर्ने अभियानमा आजतक, जी न्यूज, रिपब्लिक न्यूज, नेटवर्क १८ जस्ता च्यानलहरु प्रतिस्पर्धारत छन् ।

पछिल्लो समय मुस्लिमहरुलाई मिडियाले ‘कोरोनाका प्रसारक’ भनेर खुब प्रचारित गरे । भारतमा मुस्लिमले नै कोरोना फैलाएका हुन् भनेर उनीहरु लगातार फलाकिरहे ।

भारतमा लकडाउन जारी रहेको बेला टिभी प्रस्तोता अर्नब गोस्वामीले रिपब्लिक टीभीमा चिच्याउँदै प्रश्न गरे, ‘किन मस्जिदको अगाडि मात्रै मानिसहरुको भिड लाग्छ ?’

मुम्बईमा रहेको एउटा मस्जिद नजिक रेल्वे स्टेसन छ । कोरोनाभाइरसका कारण रोजगारी गुमाएका प्रवासी कामदारहरु घर फर्किने आशामा रेल्वे स्टेशन नजिक जम्मा भएका थिए । त्यसको दुई दिन अगाडि यस्तै भिड मोदीको गृहनगर गुजरातमा पनि देखिएको थियो । तर, अर्नबले त्यो भिडलाई कुनै धर्मसँग जोडेका थिएनन् ।

भारतमा मार्चको तेस्रो सातामा कोरोनाभाइरसको त्राश फैलिइसकेको थियो । तर, सरकारले लकडाउन घोषणा गर्नु अगाडिसम्म त्यहाँ सरकारले गत डिसेम्बरमा ल्याएको नयाँ नागरिकता ऐनविरुद्ध मुस्लिमहरुले प्रदर्शन गरिरहेका थिए । यस्ता प्रदर्शनलाई भारतीय मिडियाले ‘पाकिस्तानद्वारा प्रवद्र्धित’ भनेर दुष्प्रचार गरे । टीभी च्यानलहरुले आन्दोलनकारीलाई ‘आतंककारी’ का रुपमा पेश गरे ।

यी दुई साना उदाहरण मात्रै हुन् । अर्नबजस्ता थुप्रै टीभी प्रस्तोताहरु छन्, जो भारतमा बीजेपीका हनुमान भनेर चिनिन्छन् । बीजेपीको आदेश पाए कालोलाई सेतो र सेतोलाई कालो भन्न उनीहरुलाई कत्ति पनि हिच्किचाहट हुँदैन । पाकिस्तान र चीनसँग भारतको तनाव उत्पन्न हुँदा भारतीय मिडियाहरुले कसरी समाचार प्रशारण गर्छन् हामीले हेरेकै छौं ।

गत वर्षको फेबु्रअरीमा भारत प्रशासित काश्मिरको पलुवामामा आतंकवादी समूहको आक्रमणमा परी ४६ भारतीय सैनिक मारिए । उक्त आतंकवादी समूहलाई पाकिस्तानले संरक्षण दिएको भन्दै भारतीय वायूसेनाले बदलास्वरुप पाकिस्तानी भूमिमा पसेर बम फ्याक्यो । भारतीय टीभी च्यानलहरुले भारतको बमवर्षाबाट पाकिस्तान ध्वस्तै भएको जसरी समाचार प्रशारण गरे । पाकिस्तानतर्फ ठूलो नरसंहार भएको दावी उनीहरुले बिनाप्रमाण गरिरहे । तर, अन्तमा पुष्टि भयो कि भारतीय लडाकु बिमानले मानिसहरुको आवादी नभएको बालाकोटको जंगलमा बम खसालेर भागेको थियो । उक्त विष्फोटमा केही रुखहरुमा क्षति पुगेको थियो भने एउटा भंगेरा मरेको थियो ।

नेपालमा भारतको इच्छाविपरित हुने कुनै पनि विकासक्रममा चीनको हात देख्ने मनोरोगले भारतीय मिडियालाई गाँजेको छ

अहिले चीनसँग जारी रहेको तनावमा पनि भारतीय मिडियाको शैली उस्तै छ । लद्दाखमा भएको भिडन्तमा भारततर्फ २० जना सैनिकको हताहती भएको भारत सरकारले स्वीकार्यो । चीनतर्फ भएको कति क्षति भयो भन्ने अहिलेसम्म कुनै तथ्य सार्वजनिक भएको छैन । तर भारतीय मिडियाहरु कमाण्डरसहित ४५ जना चिनीया सैनिक मारिएको काल्पनिक समाचार प्रशारण गरेर आत्मरतिमा रमाइरहेका छन् ।

यस्तै फेक न्यूजको विजनेसले गर्दा भारतभित्रै पनि त्यहाँका मिडियालाई विश्वास गर्न छोडिएको छ । अनर्व लगायत टिभी प्रस्तोताहरु अदालतमा कैयन मुद्दाको सामना गरिरहेका छन् । तैपनि उनीहरु सुध्रिन चाहँदैनन् ।

नेपालबारे दुष्प्रचारका श्रृंखला

छिमेकी देशहरुलाई भारत सरकारले गर्ने हेपाहा व्यवहारको प्रतिध्वनी भारतीय मिडियामा प्रकट हुन्छ । उनीहरुले छिमेकी देशका नकारात्मक समाचारलाई मात्रै ठूलो स्थान दिन्छन् । नेपालका सन्दर्भमा पनि त्यही हो ।

नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण हुँदा नेपाली मिडियामा त्यो धेरै दिनसम्म हेडलाइन बनिरहन्छ । तर, भारतीय मिडियामा चाहिँ त्यसको समाचार दुर्बिन लगाएर खोज्नुपर्छ । नेपालमा कुनै दुखद घटना घट्यो भने चाहिँ भारतीय सञ्चारकर्मी झिंगाले फोहोर खोजेझैं भन्किन आउँछन् । वास्तविताभन्दा सयौं गुणा अतिरञ्जित बनाएर समाचार प्रकाशन÷प्रशारण गर्छन् ।

दरबार हत्याकाण्ड र भूकम्पका बेला नेपालमा भारतीय सञ्चारकर्मी छ्याप्छ्याप्ती भएका थिए । नेपालीले भारतीय मिडियालाई राम्ररी चिन्ने मौका पाएको चाहिँ भुकम्पको बेला हो । भुकम्पका बेला भारतीय सञ्चारकर्मीको रिपोर्टिङ यति वाहियत र नकारात्मक थियो कि नेपालीहरुले सामाजिक सञ्जालमा ‘ब्याक अफ इन्डियन’ मिडिया भनेर ह्यासट्याग नै चलाए ।

अहिले जारी सीमाविवादमा पनि भारतीय मिडियाको समाचार अत्यन्त सतही र प्रस्तुति अनर्गल छ । उनीहरु विवादको जरोमा पुग्नै चाहँदैनन् । कालापानीमा भारतीय फौज कहिलेदेखि किन बस्यो, नेपालको दावीमा कति दम छ, भन्नेतर्फ उनीहरुको फिटिक्कै चासो छैन ।

उनीहरु एउटै सुगारटाई गरिरहेका छन् कि नेपालले चीनको उक्साहटमा यो मुद्दा उठाइरहेको छ । नेपालमा भारतको इच्छाविपरित हुने कुनै पनि विकासक्रममा चीनको हात देख्ने मनोरोगले भारतीय मिडियालाई गाँजेको छ । अलि सफ्ट भर्सनमा बोल्नेहरुले भन्ने गर्छन्, ‘भारतले नेपालजस्तो असल छिमेकी चीनको पोल्टामा सुम्पिदियो ।’

नेपाल–भारत सीमाविवाद बारे भारतीय मिडियामा जेजति रिपोर्ट आएका छन्– तीनको सार यति मात्रै छ कि नेपाल चीनको पोल्टामा गयो । नेपालले उठाएको मुद्दामा उनीहरुलाई गम्भिर बहस गराउनु नै छैन ।  भारतीय मिडिया कसरी टिआरपीका पछाडि मात्रै दौडिन्छन् भन्ने यसबाट पनि पुष्टि हुन्छ कि नेपालमा मन्त्रिपरिषदले नक्शा पारित गरेको समाचारभन्दा उनीहरुका लागि मनिषा कोइरालाको एउटा ट्वीट महत्वपूर्ण हुन गयो ।

पछिल्लो समय नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र कलह बढेको छ । पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । यो विकासक्रमलाई लिएर भारतीय मिडियाहरु निकै उत्साहित छन् ।

नेपालको आन्तरिक राजनीतिले भारतीय मिडियामा अभूतपूर्व स्थान पाइरहेको छ । तर, उनीहरुले सद्दे समाचार दिइरहेका छैनन् । नयाँ नक्शा पारित गरेकै कारण ओलीको पद संकटमा परेको विश्लेषण सुनाइरहेका छन् ।

यतिसम्म कि सरकारसँग विभिन्न माग राख्दै युवाहरुले गरेको ‘इनफ इज इनफ’ आन्दोलनलाई उनीहरुले नक्शाको विरोधमा गरिएको भनेर दुष्प्रचार गर्न भ्याए ।

पितपत्रकारिताको उत्कर्ष

भारतीय टीभी च्यानल जी मिडियाले हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सम्वन्धमाथि काल्पनिक कथा बुन्दै सो टीभीले अनर्गल प्रचार गरेको हो ।

‘ओली कि ईश्कीया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनिया राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै टिभीले उनैको जालमा फसेर ओलीले भारतविरोधी कदम चालिरहेको दाबी गरेको छ ।

आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढाइ, लेकिन वा हनि ट्र्याप मे फसगए ।’

यान्कीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दावी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दावीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्कीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ ।

भारतीय टीभीको अफवाह यतिमा मात्रै सीमित छैन । उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरेहको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही संसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दावी गरिएको छ ।

जीटीभीमा प्रशारित यो रिपोर्ट भारतीय पत्रकारिताको नांगो रुप हो । यो रिपोर्टलाई ‘पितपत्रकारिता’ वा ‘प्रपोगाण्डा’ भनेर दुत्कारेर मात्रै पुग्दैन । यो पत्रकारिताको खोल ओडेर गरिएको संगीन अपराध हो । सत्यतासँग एक प्रतिशत पनि सम्वन्ध नरहेको विषयलाई १६ मिनेटको रिपोर्ट बनाएर प्रशारण गर्ने भारतीय टिभी च्यानललाई के गर्ने ? हामी त इन्डियन च्यानलले जे पनि भन्छन् भनेर मुन्टो बटारौंला, तर यसले भारत र अन्य देशका मानिसहरुलाई पक्कै प्रभाव पार्छ ।

कुनै अमुक देशका प्रधानमन्त्री र महिला राजदूतबीच काल्पनिक कथा रचेर प्रायोजित रिपोर्ट बनाउनु जी टीभीको अक्षम्य अपराध हो । यसमाथि नेपालको सरकारले एक्सन लिनैपर्छ । केही समयअगाडि नेपालमा एक अखबारले माओत्सेतुङको तस्वीरमा मास्क लगाइदिएको सामान्य घटनामा काठमाडौंस्थिति चिनीया दूतावासले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको थियो । जीटीभीको हर्कत त्योभन्दा सयौं गुणा आपत्तिजनक छ ।

तर, दिल्लीस्थित नेपाली दूतावास भने भारतीय मिडियाले एकपछि अर्को कपोलकल्पित र भ्रामक समाचारहरु प्रकाशन/प्रशारण गरिरहँदा पनि मस्त निद्रामा छ । टाइम्स अफ इन्डियाजस्तो प्रतिष्ठित पत्रिकाले समेत नेपालका प्रधानमन्त्रीको तस्वीर दुरुपयोग गर्यो । त्यसमा आपत्ति जनाएर दूतावासले एउटा पत्रसमेत पठाउन सकेन । जिटीभीको रिपोर्टमा पनि उसले अहिवलेसम्म चासो दिएको छैन ।

विषयको संवेदनशीलताका कारण अब नेपाल सरकारले नै जीटिभीमाथि एक्सन लिनुपर्ने समय आएको छ । टीभीलाई उक्त रिपोर्ट तत्काल हटाएर माफी माग्न लगाउनुपर्छ ।

अर्को कुरा, नेपालको दुष्प्रचार गर्ने भारतीय मिडिया नेपालमा स्वच्छन्द तरिकाले चलिरहेका छन् । नेपालीले पैसा तिरितिरी भारतीय मिडियाका ‘फेक न्यूज’ हेरिरहेका छन् । यस्तै अवस्था हो भने प्रश्न उठ्न सक्छ, यी भारतीय न्यूज मिडियालाई नेपालमा सदाका लागि किन रोक नलगाउने ?

लेखकको बारेमा
चिरञ्जीवी पौडेल

पौडेल अनलाइनखबर डटकमका पूर्व एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?