+
+

प्रि–मनसुनमा मनसुन थपिँदा पहिरोको ओइरो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १७:०८

७ साउन, काठमाडौं । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)ले यो वर्षको मनसुनमा ‘नर्मल’ वर्षा हुने पूर्वानुमान गरेको थियो । तर ३० जेठमा मनसुन सुरु भएयता नेपालमा औसतभन्दा धेरै पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकी प्रवक्ता डा. अर्चना श्रेष्ठ यो वर्ष मनसुनको पहिलो एक महिनामा ‘नर्मल’भन्दा बढी वर्षा भएको बताउँछिन् । देशभर दुई स्थानबाहेक सबैतिर यसपटक अधिक वर्षा भएको जानकारी उनले दिइन् ।

२३० प्रतिशत बढी वर्षा

मनसुनमा मात्र होइन यो वर्ष, हिउँदे झरी र प्रि–मनसुनमा पनि धेरै पानी पर्यो । गत हिउँदमा पनि निकै वर्षा भएको थियो । विभागका महानिर्देशक सरजुकुमार वैद्यका अनुसार हिउँदमा २३० प्रतिशत र प्रि–मनसुनमा १३० प्रतिशत बढी वर्षा भयो ।

प्रि–मनसुनकै कारण चैत–बैशाखमा समेत काठमाडौंमा खासै गर्मी भएन ।

४ साउनदेखि नेपालको ठीकमाथि रहेको निम्नचापीय रेखा ९ साउनसम्म रहने महानिर्देशक वैद्य बताउँछन् । ‘निम्नचापीय रेखा नेपालमाथि हुँदा भारी र अतिभारी वर्षाको संभावना हुन्छ,’ वैद्य भन्छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा बर्सेनि बाढीपहिरोका कारण औसत एक सय जनाको ज्यान जान्छ । यो वर्ष भने मनुसुन सुरु भएको पहिलो एक महिनामै त्योभन्दा बढी ज्यान गइसकेको छ

पहिरोको प्रमुख कारक

मनसुन सुरु भएको दोस्रो दिन ३१ जेठमै कुश्मा–३, पर्वतमा गएको पहिरोले नौ जनाको ज्यान लियो । मनसुन सुरु हुँदा नहुँदै यत्रो पहिरो किन गयो त ?

‘हिउँदे झरी र प्रि–मनसुनले भिजाएको जमिनले मनसुनी झरी थेग्न सकेन,’ भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनाल भन्छन्, ‘यो पटकको पहिरोमा झरीको ठूलो भूमिका देखिन्छ ।’

छोटो समयमा सानो क्षेत्रमा अत्यधिक वर्षा हुने दर बढ्दै जाँदा बाढी पहिरोको जोखिम पनि बढेको डा. खनाल बताउँछन् । जलवायुमा आएको परिवर्तनले गर्दा बढ्दै गएको आरी घोप्टे झरी (क्लाउड ब्रस्ट)ले विनास निम्त्याउने गरेको उनले बताए ।

पहिरोबारे विद्यावारिधी गरेका त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक प्रेमबहादुर थापा भने यतिबेलाको पहिरोमा हिउँदे झरी प्रत्यक्ष सम्बन्ध नरहेको बताउँछन् । सामान्यभन्दा बढी प्रि–मनुसन र मनसुनी वर्षा नै पहिरोको प्रमुख कारक रहेको उनको तर्क छ ।

अधिक वर्षा कारक भए पनि पहिरो निम्त्याउने मानवीय कारणमा भने डा. खनाल र डा. थापा एकमत छन् । जथाभावी सडक खन्नु, जोखिमयुक्त स्थानमै वस्ती बसाल्नु जस्ता कारणलाई बिर्सन नमिल्ने उनीहरूको भनाइ छ ।

बाढीभन्दा पहिरोको क्षति बढी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा बर्सेनि बाढीपहिरोका कारण औसत एक सय जनाको ज्यान जान्छ । यो वर्ष भने मनुसुन सुरु भएको पहिलो एक महिनामै त्योभन्दा बढी ज्यान गइसकेको छ ।

मनसुन सुरु भएदेखि मंगलबार साँझसम्म बाढी पहिरोबाट ११७ जनाको ज्यान गइसकेको छ । यीमध्ये ११४ पहिरोमा परेका हुन् । यो अवधिमा ५१ जना बेपत्ता भएका छन् ।

बैशाखयता बाढी पहिरोबाट १२२ जनाको मृत्यु भइसकेको छ भने १६१ जना घाइते भएका छन् ।

सह–प्राध्यापक डा. थापा पूर्वाधार निर्माणमा जथाभावी नगरी समयमै बाढीपहिरो रोकथामका उपाय अपनाएर जोखिमयुक्त ठाउँको वस्ती सार्ने, उद्धारको तयारी गरेर बाढीपहिरोको क्षति घटाउन सकिने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?