+
+

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि धौलागिरी अस्पतालको अत्यावश्यकबाहेक सेवा बन्द

पोखरा ९ जना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते ११:५१

२१ साउन, पोखरा । बागलुङको धौलागिरी अञ्चल अस्पताल अन्तर्गतको धौलागिरी क्याम्पसमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । क्याम्पसमा कार्यरत २५ वर्षीय स्टाफ नर्समा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘उहाँमा कोरोनाको केही सिम्टम्स देखिएको थियो । शंका लागेर स्वाब परीक्षणका लागि पठायौं । कोरोना पोजेटिभ आयो,’ अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्ट डा शैलेन्द्र विक पोखरेलले अनलाइनखबरसँग भने, ‘नतिजा पोजेटिभ आएपछि तत्काल उहाँलाई आइसोलेसनमा राखेर ओपीडी बन्द गरेका छौं ।’

२५ वर्षीय संक्रमित स्वास्थ्यकर्मीसँग कार्यरत अर्की स्टाफ नर्सलाई पनि क्वारेन्टिनमा पठाइसकिएको डा पोखरेलले बताए । उनले भने, ‘उहाँमा सिम्टम्स छैन । तर, पनि क्वारेन्टिनमा राखेर स्वाब परीक्षणका लागि पठाइसक्या छौं ।’ नर्सको ड्युटी समयमा त्यहाँ २ जनामात्रै स्वास्थ्यकर्मी रहने उनले बताए ।

पोखरामा ९ जना संक्रमित

पोखरा महानगरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा महानगरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार कोरोना संक्रमण पुष्टि हुनेमा १७ देखि ५७ वर्ष उमेर समूहका छन् । उनहरुमध्ये ४ जना भारतबाट, ३ जना बाराबाट, २ जना महोत्तरीबाट र एकजना सर्लाहीबाट पोखरा आएको महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

‘उहाँहरुमध्ये ७ जना क्वारेन्टिनमा र २ जना होम क्वारेन्टिनमा हुनुहुन्थ्यो,’ आचार्यले भने, ‘संक्रमण पुष्टि भएपछि अब उहाँहरुलाई जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।’ उनले सबैको संक्रमितको अवस्था सामान्य रहेको सुनाए ।

संक्रमितको सम्पर्कमा आएका ३६ जनाको स्वाब परीक्षण हुँदै

साउन १८ गते बिना ‘ट्राभल हिस्ट्री’ कोरोना संक्रमण पुष्टि भएका पोखराका ६२ वर्षीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण सुरु भएको छ । पोखरा १९ का ती पुरुष सामान्य रुघाखोकी लागेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरेका थिए ।

ती संक्रमितसँग सम्पर्कमा आएका पहिलो चरणमा ३६ जनाको स्वाब परीक्षण थालिएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए । ‘आजबाट परीक्षण सुरु गरेका छौं । सम्भवतः साँझ या भोलिसम्म रिजल्ट आउँछ होला !’ उनले भने ।

सशुल्क स्वाब परीक्षण गरेका ती व्यक्तिको घर फर्किएपछि कोरोना पुष्टि भएको थियो । सुरुमा पोखराकै ओम अस्पतालमा उपचारका लागि गएका उनी पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । हाल आइसोलेसनमा रहेका ती संक्रमितको स्वास्थ्यवस्था सामान्य रहेको आचार्यले जानकारी दिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ पुगेको छ । जसमध्ये कोरोना संक्रमणबाट निको हुनेको संख्या १३५४ छ । गण्डकीमा चारजना कोरोनो संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?