+
+

निक्षेपलाई प्रोत्साहन नगरिए पुँजी बाहिरिने जोखिम हुन्छ

डा. गुणाकर भट्ट, आर्थिक अनुसन्धान विभाग प्रमुख, नेपाल राष्ट्र बैंक डा. गुणाकर भट्ट, आर्थिक अनुसन्धान विभाग प्रमुख, नेपाल राष्ट्र बैंक
२०७७ भदौ २१ गते ११:२६

पछिल्लो समय बैंकहरुमा २ खर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता देखिएको छ । कोभिड-१९ का कारण कर्जाको माग हुन सकेको छैन । बैंकमा लगानीयोग्य रकम धेरै हुँदा यसको असर निक्षेपको ब्याजदरमा देखिएको छ ।

पछिल्लो समय बैंकहरुले कर्जाको ब्याजदरसँगै निक्षेपको ब्याजदर पनि घटाएका छन् । पुस मसान्तमा ६.८ प्रतिशत रहेको निक्षेपको ब्याजदर बैशाख मसान्तमा आइपुग्दा ६.४ प्रतिशतमा झरेको र असार मसान्तसम्ममा ६ प्रतिशतमा झरिसकेको छ । अझ साउन महिनामा यो भन्दा पनि तल ब्याजदर आउने सम्भावना देखिएको छ ।

विद्यमान असहज परिस्थितिका बावजुद बचतकर्तालाई निरुत्साहित गर्नु हुदैन । हामीले भन्ने यही हो । ब्याजदर निर्धारण बजारलाई छोडेको र व्यापारिक चक्रले ब्याजदरलाई निश्चित समयपछि फेरि आˆनै ठाउमा ल्याउने भएका कारण अल्पकालमा छिटै हस्तक्षेप गर्नु राम्रो पनि मानिँदैन । ब्याज

यही भएर हामीले यति नै ब्याज कायम गर भनेका छैनौं । बचतकर्ता निरुत्साहित भए भने आउने दिनमा साधन परिचालनमा समस्या आउन सक्छ । हालको अधिक तरलता राष्ट्र बैंकले कर्जा विस्तारलाई प्रोत्साहित गर्न अनिवार्य नगद मौज्दातलाई घटाएका कारण पनि देखिएको हो ।

२ वर्ष अगाडि २०७५ असार मसान्तमा मात्रै पनि अनिवार्य नगद मौज्दात ६ प्रतिशत थियो । आज पनि त्यही स्तरमा अनिवार्य नगद मौज्दात राख्न लगाउने हो भने बजारको अधिक तरलता रु ७० अर्व मात्रै हुने हुन्छ । यसमा पनि आयात सामान्य अवस्थामा आउने बित्तिकै अहिलेको तरलता आफै प्रशोचन हुन पुग्छ ।

यसर्थ आज तरलता पर्याप्त छ भनेर बचतकर्तालाई निरुत्साहित गर्ने हो भने केही समयपछि फेरि ब्याजदरमा अत्यधिक उतारचढावको चक्र दोहोरिने हुन्छ ।

हामी सबैले बुझ्नु पर्ने के हो भने बैंकहरुले कर्जा दिनका लागि जुटाउनु पर्ने श्रोत भनेकै निक्षेप हो । निक्षेप संकलन गर्नका लागि निक्षेपकर्तालाई ब्याज दिनुपर्यो, उनीहरुलाई प्रोत्साहन गर्नु पर्‍यो ।

निक्षेपकर्तालाई प्रोत्साहन गरिएन भने अर्थतन्त्रमा बचत परिचालन हुँदैन । केही दिनयता सर्वसाधारणले फोनमा कुन बैंकमा बढी ब्याज पाइन्छ भनेर मलाई समेत सोध्न थालेका छन् । यसको सीधा अर्थ के हो भने हामीले निक्षेपकर्तालाई कदर गर्न सकेनौं भने उनीहरु अनौपचारिक क्षेत्रतर्फ बचत पुर्‍याउने छन् ।

मुद्रास्फीतिभन्दा तल निक्षेपको ब्याजदर गयो भने पनि मान्छेले जानी नजानी बचत गर्दैन र खर्च गर्न थाल्छ । निक्षेपको ब्याजदर धेरै तल गयो भने भोलि वातावरण सहज भएपछि भारततिर पुँजी जाने सम्भावना पनि हुन्छ । खुला सीमाना भएका कारण अनौपचारिक रुपमा पुँजी उता जाँदैन भन्न सकिँदैन । यहाँ भन्दा धेरै उता ‘रिटर्न’ पाउने वा आफ्ना सम्बन्धका मान्छेमार्फत उतै पुँजी परिचालन गर्ने अवस्था रहेमा पुँजी पलायन पनि हुन सक्दछ ।

अर्को कुरा निश्चित आम्दानीमा आश्रति एउटा समूह हुन्छ । कोही पेन्सनवाला हुन्छन । कसैले उपदान लिएको पैसा बैंकमा राखेको हुन्छ । हामीले धेरै रकम हुने भन्दा पनि सामान्य मान्छेलाई हेर्नुपर्छ, ब्याजदर तल लगिदिँदा त्यस्ता मान्छेको जीवनस्तर नै खस्किने डर हुन्छ ।

निक्षेपको ब्याजदरमाथि जाँदा कुल गार्हस्थ्य बचतमा यस्को सकारात्मक प्रभाव पर्छ । ५ वर्ष अघि हाम्रो कुल गार्हस्थ्य बचत ४.१ प्रतिशत थियो । त्यसपछिको वर्षहरुमा निक्षेपको ब्याज बढेसँगै आन्तरिक बचत बढ्दै गएको छ । गत आर्थिक वर्ष यस्तो बचत १८.१ प्रतिशत रह्यो ।

२०७२ सालको कात्तिक मंसिरमा पनि आजकै जस्तो अवस्था थियो । विनाशकारी भूकम्प पछिको नाकावन्दीका कारण कर्जाको माग थिएन, रेमिट्यान्स उल्लेख्य आइरहेको थियो । त्यतिबेला बैंकहरुले निक्षेप लिन पनि मानेका थिएनन् ।

ब्याज तिर्नुपर्छ लगानी गर्ने ठाउँ छैन भनेर बैंकहरुले निक्षेप लिन गाह्रो मानेका थिए । परिणामतः बचत सहकारीतर्फ गइरहेको थियो । निक्षेपको बचत तल जादा बचत घट्ने हुन्छ । बचत नभएपछि लगानी कम हुन्छ । यसले अर्थतन्त्रलाई नै असर गर्छ । यसकारण हाम्रो जस्तो मुलुकमा बचतलाई प्रोत्साहन गर्नुपर्छ ।

विदेशबाट तत्कालै पुँजी आउने सम्भावना छैन । जसका कारण आन्तरिक रुपमै पुँजी परिचालनका लागि बचत बढाउनैपर्छ । अर्को पक्ष के छ भने नेपाल बाहिर काम गर्न गएका यूएन, अमेरिका लगायतका राम्रो आम्दानी गर्ने ठाउँमा भएका नेपालीहरुले निक्षेपको ब्याज राम्रो पाउदा बैंकमा जम्मा गर्छन ।

उनीहरु ब्याज आम्दानी गर्न लालायित हुन्छन् । ब्याजदर तल जाने हो भने उनीहरु पैसा पठाउन रुची राख्दैनन् । निक्षेपको ब्याजदर घट्दै जाने हो भने खाडी मुलुकबाट मात्रै होइन, ठूला विकसित देशहरुबाट आउने रेमिट्यान्स समेत घट्ने हुन्छ । यसर्थ २०७७ असारमा कायम रहेको ब्याजदरभन्दा तल ब्याजदर जान नदिनुमा बैंकहरुको समेत हीत देखेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?