
२८ भदौ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम कायमै रहेको भन्दै धनुषामा जारी रहेको निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र धनुषाको सिफारिसमा जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आगामी असोज ४ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले किराना, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि राति ८ बजेसम्म स्वास्थ्य सम्बन्धी मापदण्ड परिपालना गर्नेगरी संचालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै, निषेधितबाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
जिल्लाभित्र सबै प्रकारका निजी सवारी साधनहरु जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिइने निर्णय पनि गरेको छ ।
जिल्लामा शैक्षिक संस्था, अनुमति प्राप्तबाहेकका आन्तरिक उडान, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, स्पा, सैलुन व्युटीपार्लर खोल्न निषेध गरिएको छ ।
प्रतिक्रिया 4