+
+

‘हामी राष्ट्रिय विभूतिलाई गाली गर्दै हिँड्दैनौं’

गंगाप्रसाद उप्रेती, कुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान गंगाप्रसाद उप्रेती, कुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान
२०७७ असोज ३ गते २०:१७

३ असोज, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा गंगाप्रसाद उप्रेतीको यो दोस्रो कार्यकाल हो । त्यसअघि एक कार्यकाल उपकुलपति भएका उनले दोस्रो कार्यकाल पनि नियुक्ति पाएका हुन् ।

२००४ फागुनमा तेह्रथुमको आठराईमा जन्मेका उप्रेतीका नियात्रा, निबन्ध, कविता, समालोचना र अनुसन्धानका एक दर्जन पुस्तक प्रकाशित छन् ।

नेपाली वाङ्मयको श्रीवृद्धि गर्ने मुख्य अभिभारा बोकेको प्रतिष्ठानका कुलपति उप्रेतीसँग अनलाइनखबरका लागि निर्भीकजंग रायमाझीले गरेको कुराकानीको सम्पादित अंशः

प्रज्ञा प्रतिष्ठानको उपस्थिति नेपाली वाङ्मय क्षेत्रले महसुस गर्न नसेकेको हो ?

२०१४ सालदेखि ०६७ सम्म एकेडेमीको अवस्था के थियो र ०६७ पछि के छ भनेर हेर्नुपर्छ । पहिला एकेडेमी एक जाति, एक क्षेत्रको थियो । २०६२÷०६३ को जनआन्दोलनपछि नेपालका सबै जातिको पहिचान जोगाउन के–के काम भयो, हेर्नुपर्छ । हामी आउनेबित्तिकै एकेडेमीलाई सबै भाषा–संस्कृतिको छाता बनाउन खोजेका छौं ।

नेपाली साहित्य भनेका नेपालमा बोलिने सबै भाषाका साहित्य हुन् । हामीले सबै नेपालीको आकांक्षा र पहिचान स्थापना गर्ने सोचले काम थाल्यौं । अहिले एकेडेमीको सबै संरचना समावेशी छ । भन्नेहरू त कम्युनिस्टले गठन गरेको टिम सबै कम्युनिस्ट, कांग्रेसले गरेको जति सबै कांग्रेसका भन्छन्, तर यसभित्र सबै अटेका छन् म भन्न सक्दछु ।

तपाईंको कार्यकालमा भएका केही उल्लेख्य कामहरू ?

भूकम्पले क्षति पुर्याएको प्रतिष्ठानको ऐतिहासिक भवन बनाउन (रेट्रोफिटिङ गर्न) मैले धेरै उर्जा खर्च गरेको छु । चारै दिशा हारगुहार गर्दा बल्ल प्रतिष्ठानको यो ऐतिहासिक भवन पुनःनिर्माण भएको छ । भारतको सहयोगमा बृहत पुस्तकालय भवन बनेको छ । सभाहल, डबलीलगायत भौतिक संरचनाको पुनःनिर्माण गरिएको छ ।

दुई कार्यकाल कुलपति, एक कार्यकाल उपकूलपति हुनुले तपाईंको लागि प्रतिष्ठान ‘स्थायी जागिर’ नै बनेको प्रतीत हुँदैन ?

नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका सुुशील कोइरालाले मलाई कुलपति नियुक्ति गर्नुभएको हो । यसको मुख्य कारण उपकुलपति हुँदा थालेको काम पुरा गर्नु थियो । स्वयं बैरागी काइँलाले मलाई कुलपति बनाउन जोड गर्नुभयो । कामको आवश्यकताले एक कार्यकाल दोहोरिएँ । कसैले कसैलाई माया गरेर कुलपति भएको होइन ।

फेरि, कुलपति पद गंगाप्रसाद उप्रेतीको मात्र होइन । कुन पदमा को, कसरी फिट हुन्छ सरकारले हेर्ने हो । र पनि, धेरै कुराको मैले जवाफ दिनुपरिरहेको छ ।

एकचोटी उपकुलपति भए पनि म आफैंले तीन कार्यकाल मान्दै आएको छु । बैरागी काइँला कुलपति हुँदा म निकै सक्रिय थिएँ । उहाँले मलाई सबै काममा संलग्न गराउनुहुन्थ्यो । यही कारणले म दोहोरिएको हुँ । अबचाहिँ दोहोरिन्न भनिसकेको छु ।

यहाँको कार्यकालमा केकस्ता प्राज्ञिक कामहरू भए ?

प्राज्ञ परिषदका सदस्य संयोजक रहनेगरी ११ वटा विभाग बनाएका छौं । म आफैंले ‘नेपाली भाषा, कोश र व्याकरण विभाग’ सम्हालेको छु ।
हामीजस्ता संस्था निजि क्षेत्रमा पनि छन् । ती संस्थासँगको सहकार्यमा अनुसन्धानको काम गरेका छौं । जस्तो, गुरुङ समुदायबारे अध्ययन गर्नुपर्दा सम्बन्धित विद्वान र संस्थाहरूसँग सहकार्य गर्छौं ।

त्यस्तै, देशभित्र र बाहिरका अनुसन्धानकर्तालाई विद्वतवृत्ति दिने प्रबन्ध मिलाएका छौं । अन्तरराष्ट्रिय ख्याती कमाएका विदेशी संस्थाहरूसँग संस्थागत सहकार्य हामीले नै सुरु गर्यौं । सन् १९४९ अगाडि नै स्थापना भएको चिनियाँ लेखक संघ र चीनको संस्कृतिमा काम गर्ने संस्थाहरूको महासंघ ‘चाइना फेडेरेसन अफ लिट्रेरी एण्ड आर्ट सर्कल’ (सिएफएलएसी) सँग सांस्कृतिक आदान–प्रदान थाल्यौं । भारतको साहित्य अकादेमीसँग पनि सहकार्य गर्यौं । त्यसपछि दक्षिण एशियाली राष्ट्रका एकेडेमीसँग सांस्कृतिक आदान–प्रदान, गोष्ठी र अनुवादका काम थाल्यौं ।

वाङ्मयकै क्षेत्रमा काम गर्ने तीन छुट्टाछुट्टै प्रतिष्ठानहरूको आवश्यकता किन छ ?

लोकतान्त्रिक आन्दोलनपछि राज्यका संरचनाहरूलाई नयाँ रुप दिनुपर्छ भनेर बहस भयो । कलाकारले, संगीतकारले आफ्नो छुट्टै संस्था हुनुपर्छ भन्ने माग गरे । कला, साहित्य, ज्ञान–विज्ञानको साझा एकेडेमी थियो यो । समयअनुसार विज्ञानको लागि ‘नास्ट’ गठन भयो ।
तीन वर्षअघिको बजेटमा एकेडेमीहरू मर्ज गर्ने कुरा आएको थियो, तर प्रतिष्ठानको ऐन–नियम एकीकृत गर्न समय लाग्दा यो कुरा लम्बियो ।
मर्ज गर्ने कुरा मलाई ठीक लागेको हो । एकजना कुलपति हुने अनि विषयअनुसार तीनजना उपकुलपति र साझा सदस्यसचिव रहने एकेडेमी गठन भयो भने सोचेअनुसार प्रतिफल आउँछ ।

प्रतिष्ठानहरूका धेरैजसो सदस्य सृजनाशक्तिभन्दा राजनीतिक भक्तिभावबाट आएका भनेर टिकाटिप्पणी हुने गरेको छ नि ?

मलाई पनि यसले केही लेखेको छैन भन्छन् । अर्को जगमान गुरुङ पार्टीका मान्छे हुन् त ? संस्कृत र दर्शनशास्त्रमा उहाँको विद्वता छ ।प्रसिद्ध इतिहासकार दिनेशराज पन्त, कथाकार माया ठकुरी कुनै राजनीतिको दौडमा लागेका मान्छे हुन् र ? उमेरले प्राज्ञ देवी नेपाल कान्छा हुनुहुन्छ, तर छन्द कवितामा उहाँले धेरै गर्नुभएको छ । ईष्र्याभाव पनि हुनसक्छ, प्रज्ञामा भएकाहरूलाई जहिल्यै खेदो गरिन्छ ।

क्याम्पस पढाउने, ट्युसन पढाउने, संस्था खोल्ने, राजनीति गर्ने काममा सक्रियहरूबाट एकेडेमीले के पाउला त ?

यहाँ जो पनि अर्को कार्यालयबाट काजमा आउनुहुन्छ । जागिरभन्दा पनि विज्ञलाई दिइने पद हो हाम्रो । यहाँ आएपछि यहीँको काम गर्नुपर्छ । आजीवन सदस्यको हकमा उहाँहरूले आफ्नो इच्छाअनुसार काम गर्न पाउनुहुन्छ । प्राज्ञ परिषदका सदस्यले भने प्रतिष्ठानकै काम गर्नुपर्छ ।
यसबाहेक आफ्नो व्यक्तिगत सृजनाका काम गर्न प्राज्ञहरू स्वतन्त्र हुनुहुन्छ । उहाँहरू साहित्यिक गोष्ठी, सेमिनार वा प्राज्ञिक छलफलमा जाँदा एकेडेमीलाई पनि लाभ नै हुन्छ ।

एकेडेमीले राष्ट्रवादलाई प्रश्रय दिइरहेको छ भनिन्छ । पृथ्वी जयन्ती, भानु जयन्ती तपाईंहरूकै जिम्मामा परेको देखिन्छ नि ?

सरकारमा जो आए पनि हामीले राष्ट्रिय चेत दिने हो । राष्ट्रको जग बसाउनेहरूलाई हामी सम्झिन्छौं । प्रज्ञा प्रतिष्ठान पनि राष्ट्रको एउटा महत्त्वपूर्ण अंग हो । यसलाई भाषा, दर्शन, संस्कृति, सामाजिक शास्त्रको क्षेत्रमा काम गर्न अधिकार दिइएको छ । एकेडेमीले यो दायित्व निर्बाह गर्छ नै । नेपाल एकेडेमी प्राइभेट संस्थाजस्तो होइन, यो कुरा सबैले बुझ्नुपर्छ ।

पृथ्वीनारायण, भानुभक्त भन्ने नाम नेपाल निर्माणको क्रममा आएका हुन्, यसैले उनीहरूलाई हामी सम्झन्छौं । बाहिरका मान्छेले जस्तो हामी राष्ट्रिय विभूतिलाई गाली गर्दै हिँड्दैनौं ।

गोर्खाली राष्ट्रवादको पेलाइमा पर्नेहरूले त चित्त दुखाउँछन् नि ?

गोर्खाली राष्ट्रवादको शिकारमा पर्ने भनेको के हो ? यो नेपाल राष्ट्र हो, हामी राष्ट्रको अंग हौं । हामीकहाँ सबैको समावेशी सहभागिता छ । नयाँ संविधान बनेपछि सबैको प्रतिनिधित्व छ । यो त एउटा कुण्ठा बोकेको मान्छेले बोल्ने कुरा मात्रै हो ।

प्रज्ञाले गर्ने कार्यक्रम, गोष्ठी र सम्मेलनमा स्थापित लेखक, कलाकारको उपस्थिति नगन्य हुन्छ । यसलाई तपाईंहरू स्वभाव मान्नुहुन्छ ?
हाम्रो कार्यक्रमहरुमा हल भरिने गरी लेखक–कविको उपस्थिति हुने गरेको छ । हामी नेपालको बहुलतालाई सम्बोधन गर्ने गरी राष्ट्रिय–अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनहरू गर्छौं । त्यस्तो बेला सारा मातृभाषी कार्यक्रममा आउँछन् । भाषिक अधिकारको अभ्यास गराउने संस्था यही हो भन्ने सोचेर सबै आउँछन् । कसरी उपस्थिति छैन भन्न मिल्छ । फेरि, मेरो कार्यकालमा एक हजारभन्दा बढी किताब निस्केका छन् ।

प्रज्ञाले प्रकाशित गर्ने पुस्तक तथा पत्रिकाहरू यहीँको स्टोरमा थन्किएको देखिन्छ नि ?

प्रज्ञाले निकाल्ने पत्रिका र पुस्तकका पाना यहीँका प्राज्ञले लेखेर भर्दैनन् । सबै लेख–रचना बाहिरका लेखक–अन्वेषकहरूको छापिन्छ । वितरणमा केही ढिला भएको महसुस भएर अब सातवटै प्रदेशमा तुरुन्त जाने व्यवस्था गर्दैछौं ।

एकेडेमीबाट १२ वटा पत्रिका निरन्तर प्रकाशित भइरहेका छन् । नेपाली गद्यको लागि ‘समकालीन साहित्य’, काव्यको लागि ‘कविता’, सोधपत्रिका ‘प्रज्ञा’, भोजपुरी भाषाको ‘महुआ’, नेपालभाषाको ‘थाय्भु’, बालबालिकाका लागि ‘बालप्रज्ञा’, बहुभाषिक ‘सयपत्री, अनुवादको क्षेत्रमा ‘रुपान्तरण’, लिम्बु भाषाको ‘फक्ताङलुङ’, मैथिली भाषाको ‘आँगन’, सूचना–समाचारका लागि ‘प्रज्ञा गतिविधि’ र ‘जर्नल अफ नेपाल स्टडिज’ प्रकाशित भइरहेका छन् । प्रत्येक वर्ष हामीले बृहत पुस्तक प्रदर्शनी गरेर प्रज्ञाबाट प्रकाशित पुस्तक सहज उपलब्ध गराइरहेका हुन्छौं ।

तपाईं समालोचक पनि हुनुहुन्छ । नेपाली समालोचनाको स्तर कस्तो पाउनुहुन्छ ?

नेपाली समालोचना विश्वविद्यालय केन्द्रीत भएको छ । समालोचना गर्ने काम प्राध्यापकहरूमा सीमित भयो भनेर प्राध्यापकहरूले पनि भन्दै आएका छन् । विश्वविद्यालय बाहिरका लेखकले आफूलाई समीक्षाको क्षेत्रमा दह्रो उभ्याउन नसकेर हो कि सायद । मेरो विचारमा कृति र कृतिकारले भोगेको समाजको पृष्ठभूमी बुझेर गरिएको समालोचनाले लाभ दिन्छ । अहिलेका समालोचक लागेको कुरा फ्याट्ट भन्न सक्दैनन् । यसैले सृजनात्मक साहित्यको तुलनामा समालोचना विधा फस्टाएको देखिदैन ।

कोरोना भाइरसविरुद्वको बन्दाबन्दीले एकेडेमीको कुन–कुन कार्यक्रमलाई प्रभावित पार्यो ?

विशेषतः राष्ट्रिय कविता महोत्सव र काठमाडौंलगायत देशभर निर्धारित गरिएका भाषिक–साहित्यिक कार्यक्रमहरू प्रभावित भए । पुस्तक सार्वननिकीकरण र छलफलका कार्यक्रम पनि रोकियो ।

एकेडेमीको ‘राष्ट्रिय कविता महोत्सव’ सधैं विवादमा पर्छ । विवादकै लागि महोत्सव नगर्न मिल्दैन ?

म आउनुभन्दा अघि त महोत्सवमा कुटाकुट नै हुन्थ्यो रे ! म आएपछि कविता लेखनसँगै वाचनको पनि अंक राख्ने निर्णय गर्यौं । प्रतियोगिताको अन्तिम दिन मञ्चबाटै विजेताको नाम घोषणा गर्न थाल्यौं । पछिल्ला वर्षहरूमा चर्को विवाद आएको छैन ।

जहाँसम्म महोत्सव रोक्ने कुरा छ, यो भनेको एकेडेमीको इतिहास रोक्नु हो । महाभूकम्प, महामारीजस्ता विपत्तिबाहेकको अवस्थामा कविता महोत्सव रोकिँदैन । त्यसैले २०२२ सालदेखि यो निरन्तर छ ।

कविता महोत्सवमा विजेता बनेका युवा प्रतिभाहरू त साहित्यबाट कोशौं टाढा भागिसकेका छन् नि ?

एकसमय ऊ सक्रिय रह्यो, पछि निस्क्रिय भयो भने त्यो कविताको नभई कविको समस्या हो । युवा कविहरूलाई प्रोत्साहित गर्नु महोत्सवको मूल उद्देश्य हो । धेरैलाई यही महोत्सवले कविको रुपमा स्थापित गरेको छ । प्रतियोगिको संख्या पनि हरेक वर्ष बढेकै छ ।

अघिल्लो वर्ष करिब चारसय युवाकवि यो प्रतियोगितामा सहभागी थिए । कोरोनाका कारण रोकिएको असार ९ गतेको महोत्सव अब उपयुक्त समय आएपछि गर्छौं ।

बाहिरबाट हेर्दा सबै ठीक, भित्र खोतल्दा सबै बिग्रेको हाम्रो यर्थाथ हो ?

पश्चिमा समाज झनै बिग्रेको छ । आर्थिक रुपमा हामी कमजोर छौं होला तर हामीमा एकता छ । हामी सबैको जीवनमा अप्ठेरो छ, त्यसलाई त हामीले नै सुधार्नुपर्छ ।

मैले भन्दै आएको छु– एउटा कवि भनेको भावनाको आवेग बोक्ने पुञ्जमात्र होइन, विद्वान पनि हो । उसको विचारले पाठकमा ऊर्जा भर्छ । त्यस्तो उर्जाशील कवि, जसले समाजलाई पथप्रदर्शन गर्न सक्छ, समाजलाई केही योगदान दिन सक्छ । उसका प्रयत्नहरू समाजलाई काम लाग्ने हुनुपर्छ ।

असाधारण चेतनाले व्यक्तिलाई कवि (सबै सृजनात्मक स्रष्टा) बनाउने हो । यो सामान्य व्यक्तिको चेतनाभन्दा उन्नत किसिमको हुन्छ । जसले समाजलाई उन्नत किसिमले ख्याख्या र दिशानिर्देश गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?