
काठमाडौं । विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण सुस्त भएको पर्यटनका कारण काठमाडौं उपत्यका लगायत देशभरका सांस्कृतिक सम्पदाहरू सुनसान हुन पुगेका छन् । त्यही सम्पदा क्षेत्रमा आउने पर्यटकलाई विभिन्न सेवा दिएर आफ्नो गुजारा चलाएकाहरूको स्थिति अहिले दयनीय बन्दै गएको छ ।
यसैबीच भक्तपुर पर्यटन विकास समिति, स्टोरी साइकल, युरोपियन युनियन लगायतका संस्थाहरूको सहकार्यमा भक्तपुरको सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको जानकारीका लागि सञ्चालन हुँदै आएको भक्तपुर सम्पदा यात्रा मंगलबार भने भर्चुअल माध्यमबाट हुने भएको छ ।
भक्तपुर दरबार स्क्वायर क्षेत्रको पश्चिमपट्टिको मूल प्रवेशद्वारमा सम्पदा यात्राको लागि तयार भएका आन्तरिक तथा बाह्य पर्यटकले मन्दिरकै छेउमा रहेको एउटा कलात्मक उग्रचण्डी र उग्रभैरवको मूर्तिसँगै सम्पदा यात्रा सुरु गर्नेगर्छन् । त्यसपछि अघिबढेको टोलीले चारधाम, न्याकंझ्या दरबार, गोल्डेन गेट हुँदै ५५ झ्याले दरबारसम्म पुग्ने गर्छन् । न्याकंझ्या दरबार भनेको ऐना राखेको झ्याल भएको भन्ने अर्थ हुन्छ । अर्थात् पहिले मुस्लिम शासकहरू आउँदा नेपालका राजालाई एउटा ऐना उपहार दिएका थिए । त्यतिबेला नेपालमा ऐना हेर्ने चलन थिएन वा के थियो । राजाले सबैले ऐना हेरून् भनेर झ्यालमा ऐना राख्ने गरेकोले त्यो दरबारको नाम नै न्याकंझ्या दरबार भएको स्थानीय बताउँछन् । यसरी नै बढ्छ भक्तपुरको सम्पदा यात्रा । हरेक मन्दिरमा छुट्टाछुट्टै किंवदन्तीहरू जोडिएको पाइन्छ ।
सम्पदा यात्रामा मन्दिरको विश्लेषणसँगै प्राचीन एवं मध्यकालीन सांस्कृतिक संरचनाको केन्द्र भक्तपुरस्थित सम्पदाको बारेमा जानकारी दिने गरिन्छ ।
सम्पदायात्रामा ५५ झ्याले दरबारपछि पाँचतले मन्दिर, भैरवनाथको मन्दिर, टौमढी, दत्तात्रय हुँदै पुजारी घरसम्म पुगेर यो सम्पदा यात्रा सम्पन्न हुने आयोजक भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले जानकारी दिए ।
सम्पदा यात्रामा केवल ती मूर्त र स्थापित सम्पदाको मात्रै अवलोकन हुँदैन । जातीय संस्कार अनुसार दैनिक काममा खटिएका भक्तपुरेको हरेक कर्ममा सांस्कृतिक संस्कार झल्किएको हुन्छ । एकाधबाहेक बाहिरी संस्कारबाट सकेसम्म जोगिँदै आएको भक्तपुरमा अहिले पनि पाइलापाइलामा जीवन्त संस्कृति देख्न सकिन्छ ।
त्यहाँका हरेक धारा र इनारहरू लोककलासँग जोडिएका छन् । हरेक मन्दिरले एउटा पूर्ण इतिहास बोकेको छ, साथमा मौलिक र नयाँ कला संस्कृतिको उदाहरण पनि ।
पशुपति मन्दिरबाट भित्र छिरेपछि पुग्ने न्यातपोलको सुन्दरतासँगै स्थानीय रैथाने खानाको स्वादमा रमाउने पर्यटकले त्यही न्यातपोलको सम्मुखमा बसेर आफ्नो अमिट सम्झना मानसपटलमा सजाएर अघि बढ्छ । माटोको भाँडाको काम गर्ने जाति र धातुको काम गर्ने जातिको सिमानाको रूपमा रहेको न्यातपोलको त्यो प्राङ्गण केवल विभाजनको रंगमञ्च मात्रै होइन । वर्षको एकदिन दुवै जातिका मान्छेलाई जम्मा पारेर सद्भाव बढाउने आँगनी पनि हो ।
यात्राको क्रममा स्थानीय कला, संस्कृति र खानाका परिकारको स्वाद समेत चखाउँदै जाने योजना अनुसार सुरु गरिएको भक्तपुर सम्पदा यात्रा मंगलबार अपराह्न ४ बजे भक्तपुरबाट भर्चुअल रूपमा सुरु हुँदैछ ।
मूर्त र अमूर्त संस्कृतिको संरक्षणमा समेत उदाहरणीय काम गरेको भक्तपुरले यस पटकको सम्पदा यात्रामा युरोपियन मुलुकका सहरहरूलाई समेत महत्व दिएको छ । स्थानीय पथप्रदर्शक रीता सुवालद्वार गराइने भर्चुअल सम्पदा यात्रामा सम्पूर्ण मूर्त तथा अमूर्त संस्कृतिको बारेमा जानकारी दिने तयारी रहेको भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले जानकारी दिए ।
यो कार्यक्रमलाई ब्रिटिस काउन्सिल र युरोपियन युनियनले समेत आफ्नो सामाजिक सञ्जालमार्फत् प्रचारप्रसार गर्ने तयारी गरेको छ । भक्तपुरमा यो छैटौं सम्पदा यात्रा हो । यो मंगलबार अपराह्न ४ बजेदेखि हुनेछ ।
प्रतिक्रिया 4