+
+

कुश्माको बन्जी र स्विङ कात्तिक १५ देखि सञ्चालन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते १२:३६

१३ कात्तिक, काठमाडौं ।पर्वतको कुश्मामा निर्माण भएको बन्जी र स्वीङ कार्तिक १५ बाट सञ्चालनमा आउने भएको छ । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारी छ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने घोषणा गरेको हो ।

२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो। पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सन्चालनमा आउन ढिलाई भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी

५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाईपछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो बन्जिका रुपमा परिचित गर्ने तयारी छ ।

यहाँको स्वीङ बिश्वकै अग्लो बनेको कार्कीको भनाई छ । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ। पोखरादेखि कुश्माको दुइतर्फी गाडीको सुबिधासहित बन्जी वा स्विङको ८ हजार ४ सय ५० रहेको छ। टेण्डम (जोडी स्वीङको १२ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

गुलेली शैलीको पिङ
बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।

जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक रहेको कम्पनीको दावी छ । यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ, तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ।

चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ। पिङ खेल्न प्रतीव्यक्ति २ सय ५० रुपैयाँ लाग्ने कार्कीले बताए।

स्काइ साइक्लिङ

स्टिल कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ तयार गरिएको हो। विश्वकै सबैभन्दा ऊचाईमा सन्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ। दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एकपटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने कार्कीले बताए।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्काइ साइक्लिङ तयार गरिएको र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए। साइक्लिङका लागि आवस्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए।

साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ। लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुँदाइन्छ। स्काइ साइक्लिङको सन्चालन भने केही महिनापछि गरिने बताइएको छ।

बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘द क्लिफ रिसोर्ट’ बनेको छ । २१ वटा सफारी टेन्ट रहेको रिसोर्टमा ७० जना अट्ने छ्न ।

लगानी

सम्पुर्ण परियोजना सक्न बीस करोड खर्च हुने योजना भएपनि लकडाउनले गर्दा समयमा उद्घाटन गर्न नपाएर लागत बढी २८ करोड पुगेको कम्पनिका अध्यक्ष राजु कार्की बताउँछन् ।

अध्यक्ष कार्की सँगै युवराज जोशी, नेत्र प्रसाद पराजुली, फ्लोरेन्स कार्की, राजन जोशी र नवराज शर्मा लगायतको लगानी रहेको परियोजनामा प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ । बन्जी र स्विङकालागि बनाइएको पुलको मात्र लगानी ८ करोड बढी रहेको बताइएको छ। १ सय २० रुपैयाँ तिरेर उक्त पुल वारपार गर्न सकिन्छ।

कसरी पुग्ने ?

द क्लिफ प्रालि पोखराबाट ५५ किमि, अन्नपूर्ण बेसक्याम्प को गेट-वे नयाँपुल बाट १५ किमि दुरीमा अवस्थित छ।

काठमाडौ, चितवन, पोखराबाट पर्वत कुश्मासम्म सजिलै सार्वजनिक बस पाइन्छ। पोखराको बाग्लुङ बसपार्कमा गएर कुश्मासम्म पुग्ने ‘सेयरिङ ट्याक्सी’मा पनि जान सकिन्छ।

द क्लिफमै गाडी सहितको प्याकेज बुक गरेर पोखरा-कुश्मा दुइतर्फी गाडीको सुबिधा लिन सकिन्छ। जम्प नगर्ने तर हेर्न मात्र जान चाहने ब्यक्तिले २ हजार रुपैयाँ तिरेर ‘गो एन्ड सी’ प्याकेज रोजेर दुइतर्फी गाडीको सुविधा लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?