+
+

महामारीको भुंग्रोमा कोरियाको रोजगारी

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७७ मंसिर १७ गते २१:२८

१६ मंसिर, काठमाडौं । पूर्वी चितवन घर भएका श्रीराम नेपाल कोभिड–१९ को महामारी नआएको भए यतिबेला कोरियामा हुन्थे । दुई वर्षअघि कोरिया जान भाषा परीक्षा पास गरिसकेका उनी अहिले पर्सा बजारमा पसल खोल्न सटर खोज्दैछन् ।

तर उनलाई चिन्ता छ– पसल खोल्नासाथ कोरियाको भिसा आयो भने यहाँ गरेको लगानी के होला ? ‘त्यतिकै बस्न मनले मानेको छैन,’ उनी भन्छन्, ‘काम थालौं भने भोलि भिसा आएर जान पाइयो भने पसलको लगानी डुब्छ ।’

श्रीराम जस्तै करिब १० हजार युवा अन्योलमा छन् । अहिले काठमाडौं बसेका दाङका एक युवक भन्छन्, ‘कोरियन भाषा परीक्षा पास भएपछि गज्जब भइहाल्छ भनेर बिहे गरियो । अहिले घर खर्च मात्रै होइन, आफ्नै खर्च पनि जुटाउन मुस्किल छ ।’

कोरियाबाट लेबर कन्ट्रयाक्ट आएपछि उनले परिवारको आग्रहमा विवाहको निर्णय लिएका थिए । उनी एक रेस्टुरेन्टको काम गर्दै काठमाडौं बसेका थिए । लकडाउनका कारण ६ महिना बेरोजगार भएका उनी काममा फर्किएका दुई महिना पुग्दैछ । ‘बीचमा अन्त काम खोज्दा पाइएन,’ नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, ‘कोरियाको चक्करले डुबाउने हो कि भन्ने चिन्ता भयो ।’

कोरियन भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन । प्रतिक्षा सूची (रोस्टर)मा नाम चढेर लेबर कन्ट्रयाक्ट आएपछि मात्र जान पाइने निश्चित हुन्छ । भाषा परीक्षा पास गरेको दुई वर्षसम्म रोस्टरबाट नाम हट्दैन ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण रोस्टरमा नाम चढेकाहरमा बेचैनी बढेको छ ।

संकटमा कोरियाको रोजगारी

सरकारी तवरबाट पारदर्शी रुपमा भाषा परीक्षा पास गरेर जान पाइने भएकाले दक्षिण कोरियाको रोजगारीमा युवाहरुको आकर्षण छ । आम्दानी पनि राम्रो हुने भएकाले प्रतिवर्ष करिब एक लाख युवा कोरिया जान भाषा परीक्षाको तयारी गर्छन् ।

सन् २०२० को लागि भएको भाषा परीक्षा दिएका ९२ हजारमध्ये करिब १२ हजार उत्तीर्ण भएका थिए । दुई वर्षअघि भाषा परीक्षा पास गरेकामध्ये पनि केहि भिसा कुरिरहेका छन् । तर कोभिड–१९ पछि नेपाली श्रमिकले पाउने कोरियाको रोजगारी अन्योलमा छ । श्रम गन्तब्य कोरियाले भिसा दिएको छैन ।

वैदेशिक रोजगर विभागकाअनुसार भाषा तथा कम्प्युटरमा आधारित प्राविधिक परीक्षा पास गरेर कोरिया जाने चरणमा रहेका नेपाली कामदारको संख्या करिब १० हजार छ । नेपालले श्रमिक भिसामा विदेश जान खुला गरेपनि कोरियाले प्रतिक्षा सूचीमा रहेका नेपालीलाई बोलाएको छैन । कोरियाको रोजगारी तत्कालका लागि गुम्ने हो कि भन्ने चिन्ता व्यक्त गरिँदैछ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल प्रक्रियामा रहेका श्रमिक पठाउनेबारे कोरियासँग निरन्तर पहल भइरहेको बताउँछन् । रोस्टर नवीकरण गर्नेसहित कोरियासँगको श्रम समझदारी (एमओयू)बारे पनि थप छलफल भइरहेको उनको भनाइ छ । ‘हामी कोरियाले श्रमिक बोलाउने दिनलाई कुरिरहेका छौं,’ भन्छन्, ‘श्रमिकलाई हानी नहुने गरी सरकारले गर्नुपर्ने सबै प्रक्रिया पुरा गरेका छौं ।’

उनका अनुसार कोरिया सरकारले विदेशबाट आउने श्रमिकको हकमा रु.१० लाखको कोरोना बिमा अनिवार्य बनाएको छ । नेपालमा भने विदेश जाने श्रमिकले कोरोना बिमा गर्ने व्यवस्था नै छैन । अब छुट्टै कोरोना बिमा गर्नुपर्ने कोरियाको शर्त छ ।

‘त्यस्तो बिमा पनि गर्न सक्छौं भनेर पत्र लेखेका छौं,’ वैदेशिक रोजगार विभागका महानिर्देशक दाहाल भन्छन्, ‘त्यसका लागि प्रिमियम तिर्न श्रमिक पनि तयार नै छन् ।’

सरकारप्रति श्रमिकको अविश्वास

कोरियामा कोरोना महामारी फैलिएको भन्दै नेपाल सरकारले २०७७ फागुन पहिलो सातादेखि त्यहाँको रोजगारीमा जान रोक लगायो । छलफल नै नगरी श्रमिक रोकेको भन्दै त्यसबेला कोरियाले असन्तुष्टि जनाएको थियो । अहिले कोरियामा महामारी नियन्त्रणउन्मुख भएपनि उसले नेपाली श्रमिक लैजान चासो दिएको छैन ।

श्रम विभागले छिटो पठाउन प्रयत्न भइरहेको बताएपनि प्रतिक्षामा रहेका श्रमिकहरु विश्वस्त छैनन् । आफ्नो भविष्य अनिश्चयमा परेको चिन्ता धेरैमा छ । सरकारी लापरवाहीका कारण कोरियामा रोजगारी नपाउने निश्चित भएको भन्दै उनीहरुले पटक–पटक माइतीघरमा प्रदर्शन समेत गरेका थिए ।

सरकारको हचुवापनले गर्दा भाषा परीक्षा पास गरेका आफूहरुको भविष्य अनिश्चित भएको उनीहरुको गुनासो छ । ‘महामारीअघि लेबर कन्ट्रयाक्ट आइसकेका श्रमिकहरको आवश्यक कागजातका प्रक्रिया पुरा भएन भने मुखमा आएको पनि रोजगारी गुम्छ,’ कोरिया जान भिसा कुरिरहेका सन्जय ढकाल भन्छन्, ‘कोरियन भाषा परीक्षा पास गर्न गरेको त्यत्रो मिहिनेत र लगानी खेर जाने डर छ ।’

कोरियाले विभिन्न प्रक्रिया पुरा गर्न समयसीमा तोकेको हुन्छ । कोरोनाका कारण कोरिया जान रोकिएकाहरुलाई त्यस्ता हदम्याद लगाएर फेरि भाषा परीक्षा दिनुपर्ने हो कि भन्ने त्रास पनि छ ।

विभागका महानिर्देशक दाहाल भने कोरोना संक्रमणको जोखिम घटाउन कोरियाले विदेशी श्रमिक नलिइरहेकाले रोकिएका सबै दावेदार कायम रहेको बताउँछन् ।

दशैंअघि नेपालमा संक्रमणको दर उच्च विन्दुमा रहेकाले कोरियाले तत्कालै श्रमिक लैजाने सम्भवाना देखिएको थिएन । अब संक्रमण दर घट्दै जान थालेकाले विस्तारै श्रमिक पठाउने वातावरण तयार हुने विश्वास सरकारी पक्षको छ । ‘भाषा परीक्षा लगायतका विषयमा छलफल र अवलोकन गर्न कोरियन टोली नेपाल आउन चाहेको छ,’ दाहालले भने, ‘हामीले त्यसका लागि स्वीकृति दिइसकेका छौं ।’

तर सन् २०२१ मा जाने श्रमिक छनोट गर्न २०२० भित्रै हुनुपर्ने ईपीएस भाषा परीक्षा अझैसम्म भएको छैन । सरकारले कोरियाको तालिका अझै पाएको छैन । हरेक वर्ष भाषा परिक्षाको तालिका कोरियाले पठाउँछ । हरेक जेठमा हुने भाषा परीक्षा यो वर्ष महामारीका कारण अनिश्चित बन्न पुगेको छ ।

कोरियामा बेरोजगारी

नेपालमा कोरिया जान हजारौं श्रमिक कुरिरहँदा दक्षिण कोरियामा रोजगारीको अवस्था सुखद् छैन । गत अक्टोबरमा दक्षिण कोरियाको बेरोजगारी उच्च विन्दुमा पुगेको थियो । दक्षिण कोरियाको तथ्यांक विभागका अनुसार अक्टोबरमा बेरोजगारी दर ४ दशमलव २ प्रतिशतमा पुगेको थियो ।

रोयटर्सका अनुसार कोभिड–१९को दबाब घरेलु व्यवसायमा देखिएसँगै कोरियाको बेरोजगारी बढेको हो । यसअघि गत सेप्टेम्बरमा दक्षिण कोरियाको बेरोजगारी ३ दशमलव ९ प्रतिशत थियो ।

त्यसअघि मे महिनामा कोरोना महामारीकै बीच कोरियाको बेरोजगारी १० वर्षकै सबैभन्दा उच्च ४ दशमलव ५ प्रतिशतमा पुगेको थियो । त्यसपछि सुधार भएकोमा अक्टोबरमा बेरोजगारी ४ प्रतिशतभन्दा बढी देखिएको थियो ।

दक्षिण कोरियाको तथ्यांक विभागका अनुसार अक्टोबरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रोजगार भएका मानिसको संख्या चार लाख २१ हजारले घटेको थियो । गत अप्रिलमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रोजगारीमा आबद्धको संख्या चार लाख ७६ हजार कम देखिएको थियो ।

कोरियाको मुख्यतः औद्योगिक र कृषि क्षेत्रमा नेपाली श्रमिक जाने गरेका छन् । कोरियामा ३५ हजारभन्दा बढी नेपाली श्रमिक रहेको अनुमान छ । महामारीका कारण उनीहरुले रोजगारी गुमाएको जानकारी नभएको वैदेशिक रोजगार विभाग बताउँछ ।

कोरिया किन आकर्षक ?

श्रमिकको हित रक्षाका लागि कोरिया सरकार खाडी मुलुकभन्दा प्रतितवद्ध मान्निछ । कोरियाले २००८ देखि सरकारीस्तरबाटै भाषा परीक्षा लिएर नेपाली कामदार लैजान थालेको हो । त्यसअघि म्यानपावर र व्यक्तिगत पहलमा नेपाली कामदार कोरिया पुग्थे ।

सरकार आफैं कामदार पठाउने प्रक्रियामा संलग्न भएपछि कोरिया नेपाली युवाको सर्वाधिक आकर्षक गन्तव्य बनेको बताउँछन् वैदेशिक रोजगारका जानकार मधुविलास पण्डित । भाषा परीक्षा उत्तीर्ण गरेपछि नेपालीले दुई पटक गरी नौ वर्ष आठ महिना त्यहाँ बस्न पाउँछन् ।

आकर्षक तलब दिनेगरि ४० वर्ष ननाघेका अदक्ष कामदार लैजाने कोरियाले प्रतिवर्ष औसत पाँच हजार नेपालीलाई रोजगारी दिइरहेको छ । कोरियाले कृषि र उत्पादनमुलक (उद्योग) समूहमा कामदार लैजान्छ । कृषिभन्दा उद्योग समूहमा जानेले बढी आम्दानी गर्ने गरेका छन् । केरियामा मासिक डेढ लाख रुपैयाँ भन्दा कम कमाउने श्रमिक छैनन् ।

ईपीएस कोरिया शाखाका अनुसार खाडी मुलुक र मलेसियामा जस्तो कोरियामा कामदारले राजगारदाताबाट कष्ट बेहोर्नुपर्दैन । सामाजिक, आर्थिक र भौतिक सुरक्षा अवस्था पनि राम्रो छ । वर्षैपिच्छे महँगीअनुसार कामदारको तलब वृद्धि हुन्छ ।

नेपाल सरकारले नै प्रक्रिया पुर्‍याएर पठाउने भएकाले कामदारले एक रुपैयाँ पनि अतिरिक्त शुल्क खर्चिनुपर्दैन । त्यसले खाडी मुलुक जाँदाको जस्तो ठगी हुने जोखिम शून्य बनाएको छ ।

कोरिया सरकारकै निगरानीमा हुने भाषा परीक्षाको नतिजा उसैले प्रकाशित गर्ने भएकोले यसको निष्पक्षतामा नेपाली युवाको विश्वास कायम छ । एकपटक कोरिया गएर फर्किएका नेपालीलाई अर्को पटक जान कम्प्युटरमा आधारित परीक्षा लिइने गरिएको छ ।

रोजगारदाताले रुचाएको कामदारको श्रम स्वीकृति उतैबाट नवीकरण गर्न सकिन्छ । त्यस्ता कामदारलाई कोरियाले ‘प्रतिबद्ध कामदार’का रुपमा भिसा दिइने गरेको छ । पाँचवर्षे भिसामा गएर उत्कृष्ट काम गर्नेहरुले थप पाँच वर्षको भिसा सजिलै पाउने व्यवस्था कोरियाले गरेको छ ।

पछिल्लो समय कोरियामा नेपाली कामदारमा डिप्रेसन र आत्महत्या लगायत समस्या बढेपनि त्यहाँ जान भाषा परीक्षा दिनेहरु भने बढेको बढ्यै छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?