
६ पुस, कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता लेखराज भट्टकै सिफारिसमा मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले नेता भट्टको साथ छोडेपछि सुदूरपश्चिम प्रदेश सरकारमा प्रचण्ड–नेपाल पक्षको पल्ला भारी भएको छ ।
अहिले नेता भट्टको साथ छोडेर मुख्यमन्त्री भट्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता भीम रावललाई साथ दिइरहेको उनी निकट एक नेताको भनाइ छ ।
प्रदेशमा मुख्यमन्त्री भट्टसहित ७ मन्त्री छन् । उनीहरूको सङ्ख्याको आधारमा प्रचण्ड–नेपाल पक्षको सङ्ख्या बढी छ । पूर्वएमालेबाट कानुनमन्त्रीसहित ४ र पूर्वमाओवादीबाट मुख्यमन्त्रीसहित ३ मन्त्री छन् ।
पूर्वएमालेमा रहेका तत्कालीन रावल निकट सामाजिक विकास मन्त्री दीर्घ सोडारीको कारबाही पछि पनि रावल निकट नै रहेका कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्री बनाइएको थियो ।
यसका अलवा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट पनि रावल पक्षका हुन् । पूर्वएमालेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोरा केपी पक्षका मन्त्री रहेको पाइएको छ ।
यता पूर्वमाओवादीमा रहेका मुख्यमन्त्री भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरी प्रचण्ड पक्षमा छन् भने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा कुनै पनि पक्षमा खुलेर देखिएका छैनन् ।
‘अहिले कित्ताकाट गर्ने बेला आएको छैन । कित्ताकाटले पार्टी टुक्रिने अवस्था आउँछ,’ उनले भने, ‘त्यस्तो अवस्थामा पक्ष हेरौँला अहिले एकताको पक्षमा छु ।’
नेपाल–प्रचण्ड समूह बलियो
उसो त केन्द्रमा मतभेद सुरु हुनुभन्दा अघि नै तत्कालीन एमालेमा नेपाल र ओली गुट प्रष्ट देखिएको सुदूर पश्चिम प्रदेशमा अहिले प्रचण्ड-नेपाल समूह र ओली समूह गरी दुई खेमामा विभाजित छन् । ५३ जना प्रदेशसभा रहेको सुदूरपश्चिम प्रदेशमा तत्कालीन एमालेबाट २५ र माओवादीबाट १४ जना सांसद छन् । ३९ जना प्रदेश सभा सदस्यमध्ये अहिले अधिकांश प्रचण्ड-नेपाल खेमाका छन् ।
नेपाल–प्रचण्डसहित सुदूरपश्चिम प्रदेशमा केही योगेश भट्टराई र घनश्याम भुसाल निकटका पनि सांसदहरू रहेका छन् ।
प्रदेश सभामा ४ वटा विषयगत समिति छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति पाएको छ भने नेकपाले ३ समिति पाएको छ । सामाजिक विकास समितिकी सभापति कुन्ती जोशी अझै पनि कुनै पक्षमा खुलेको देखिएको छैन । तर, उनलाई नेता लेखराज भट्ट निकट रहेको नेकपा स्रोत बताउँछ । जोशी भने आफू कुनै व्यक्ति विशेषको निकट नरहेको दाबी गर्छिन् ।
‘दुवै पक्षबाट कमजोरी भएको छ । म यो वा त्यो पक्षको होइन’ उनी भन्छिन् ‘पार्टी विभाजन भए पक्ष रोजौला ।’
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क बहादुर कुँवर रावल निकट छन् । विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरी ओली निकट छन् ।
केन्द्रको किचलो प्रदेश सरकार हुँदै स्थानीय तहको सरकार र पाटी पंक्तिमा पनि परिसकेको छ ।
आइतबार धनगढीमा देखिएको दृश्यले त्यसलाई पुष्टि गर्छ । धनगढीमा ओली निकटका युवाहरूद्वारा पार्टी एकताको लागि प्रदेश स्तरीय युवा दबाव भन्दै आयोजना गरिरहँदा प्रचण्ड-नेपाल पक्षका युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनमा केही जनप्रतिनिधि पनि देखिएका थिए ।
पूर्वमाओवादी र एमालेबाट निर्वाचित भएकाहरू मात्रै होइन अहिले एउटै पार्टीबाटै निर्वाचित भएका तर, गुट फरक परेका स्थानीय तहमा पनि त्यसको बाछिटा पर्न लागेको छ ।
मुख्यमन्त्री र कानुनमन्त्री काठमाडौं जाँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह काठमाडौं जाने भएका छन् ।
भोलि हुने भनिएको केन्द्रीय कमिटीको बैठकमा भाग लिन मुख्यमन्त्री भट्ट र कानुनमन्त्री शाह काठमाडौं जान लागेका हुन् । मुख्यमन्त्री भट्ट र कानुनमन्त्री शाह केन्द्रीय सदस्य हुन् । भट्ट प्रदेशमा दलको नेता र शाह उपनेता हुन् ।
संघीय संसद् विघटन पछि दलका नेता र उपनेता काठमाडौँ पुग्दा प्रदेश सरकारको विषयमा पनि चर्चा सुरु हुन थालेको छ । हाल दुवै जना प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् ।
केन्द्रीय कमिटीको बैठक भन्दा पहिले दुवैले नेकपाका अध्यक्ष पुष्पकमल दालाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्ने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
‘भेटमा प्रदेश सरकारको विषयमा पनि छलफल हुन सक्छ,’ स्रोतले भन्यो, ‘तर, संघीय संसद् विघटन प्रकरण निचोडमा नआएसम्म प्रदेश सरकारमा हेरफेर गर्ने कुरा छैन ।’
प्रतिक्रिया 4