+
+

निजी क्षेत्रसँग राष्ट्रपतिले भनिन् : पर्याप्त सम्भावना भए पनि अरुकै भर पर्नुपर्ने स्थिति छ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १९:४६

१२ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्याप्त सम्भावना भएर मुलुक पछि परेको बताएकी छिन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको भेटमा उनले निजी क्षेत्रलाई रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिइन् ।

‘प्राकृतिक स्रोत साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन’ उनले भनिन्, ‘अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ, रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा तपाईहरू गम्भीर भएर लाग्नुहोस् ।’

चुलिँदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गरिन् । हर कुरामा हामी बाह्य देशसंग निर्भर रहनुपर्ने अवस्था रहेको भन्दै उनले यो अवस्थालाई अन्त्य गरी आफ्ना लागि आवश्यक वस्तु आफैं उत्पादन गर्नुपर्ने धारणा राखिन् ।

स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमात्र वाह्य लगानी समेत आकर्षित हुने राष्ट्रपति भण्डारीको भनाइ छ । कृषि, उर्जा, पर्यटन क्षेत्रको विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने पनि उनले बताइन् ।

भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिड–१९ महामारीको असरबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक परेको बताए ।

साना तथा मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वतः चल्न सक्ने भन्दै उनले यस्ता उद्योगका लागि सरकारले ल्याएका राहत कार्यक्रम कार्यान्वयन हुनुपर्ने धारणा राखे । उनले उद्योग वाणिज्य महासंघले ल्याउने भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सिर्जना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको पनि जानकारी गराए ।

सरोकारवालासँगको छलफल र विज्ञका सहयोगमा भिजन पेपर तयार गरिने र सरकारसँगको सहकार्यमा कार्यान्वयन गर्ने योजना आफूहरुको रहेको उनले बताए ।

आइतबार राष्ट्रपतिसँगको भेटमा महासंघका अध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनसहितका पदाधिकारी सहभागी गिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?