
१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै बृहत नागरिक आन्दोलनले काठमाडौंमा डम्फुसहित विरोध प्रदर्शन गरेको छ ।
संसद पुनर्स्थापनाको माग सहित डम्फु एपिसोड सोमबार माइतीघर मण्डलामा कोणसभा गरिएको हो । गत शनिबार बृहत नागरिक आन्दोलनले शंख एपिसोड आयोजना गरेको थियो ।
१५ पुसमा धिमे एपिसोड, १७ पुसमा च्याब्रुङ एपिसोड र १८ पुसमा सडक नाटकसहित सभा गरिने आयोजकले जनाएको छ । संसद पुनर्स्थापना भएर जनताको सार्वभौम अधिकार जनतामै नफर्किएसम्म आन्दोलन गर्ने आयोजकको भनाइ छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन फर्काएको भन्दै लेखक, साहित्यकार, कलाकार तथा अधिकारकर्मीहरू विरोध कार्यक्रममा सहभागी थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधीसभा विघटन गरेकी थिइन् । विघटन अंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सर्वोच्च अदालतमा एक दर्जन रीट दायर भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड–माधव नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायी लगायतले प्रतिनिधीसभा विघटनको विरोधमा निरन्तर प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया 4