
६ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वितरण निकै अस्वस्थ देखिएको बताएका छन् । गुटेरसले कोरोनाको समग्र खोपमध्ये ७५ प्रतिशत खोप धनी मुलुकले पाएको उल्लेख गर्दै खोप वितरणमा देखिएको असमानताप्रति चिन्ता व्यक्त गरेका छन् ।
बुधबार राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा गुटेरसले अझैसम्म पनि १३० मुलुकमा कोरोना खोप कार्यक्रम सुरु नभएको बताए । उनले भने, ‘अहिलेको अवस्थामा खोपको निष्पक्षता विश्व समुदायको लागि सबैभन्दा नैतिक परीक्षा हो ।’
गुटेरसले तत्काल विश्वव्यापी खोप कार्यक्रमको योजना ल्याउन सबै मुलुकलाई आग्रह गरेका छन् । उनले विश्वका सबै मानिसहरुलाई सकेसम्म छिटो सबैलाई खोप पुर्याउनमा जोड दिनुपर्ने बताएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि धनी मुलुकमा ठूलो मात्रामा कोरोना खोप कार्यक्रम सञ्चालन गरिरहेका छन् तर धेरै मुलुकमा कोरोना खोप कार्यक्रम सुरु भएको छैन ।
विशेषज्ञहरुले सबै मुलुकमा कोरोना खोप नपुगेसम्म कोरोना महामारी अन्त्य नहुने भन्दै सबै मुलुकलाई सहकार्यको लागि आग्रह गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनले विश्वका सबै मुलुकमा महामारी नसकिँदासम्म सबग्र विश्वबाट कोरोना नसकिने बताएको छ ।
प्रतिक्रिया 4