
७ फागुन काठमाडौं । भारतको गम्भीर आपत्तिपछि नेपाल आयल निगमले भारतीय सवारी साधनलाई नेपाली भूमिमा तेल भर्न कडाइ गरेको छ । शुक्रबार सबै प्रादेशिक कार्यालय तथा सीमा क्षेत्रका कार्यालयहरुलाई विषेश परिपत्र गर्दै निगमले सीमावर्ती क्षेत्रका पम्पबाट भारतीय सवारी साधनमा इन्धन भर्ने सीमा तोकेको हो ।
अब भारतीय ठूला सवारी साधनले एकपटकमा इन्धन ट्यांकीमा १०० सय लिटरभन्दा बढी इन्धन भर्न पाउने छैनन् । निगमले सीमा क्षेत्रका पम्पहरुबाट जर्किन, ग्यालिन तथा ड्रममा तेल भरेर बिक्री गर्न पनि रोक लगाएको छ ।
नेपालबाट भारततर्फ इन्धन तस्करी बढीको भन्दै भारतले सीमामा कडाइ गर्न तथा मूल्य बढाउन भारतले नेपाललाई दबाब दिएको निगम स्रोतको दाबी छ ।
तस्करी र अपचलन रोक्नकै लागि यस्तो व्यवस्था गर्न परेको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्धारा जारी परिपत्रमा उल्लेख छ । साथै निगमले सीमा क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरुलाई खरिद बिक्रीको तथ्याङ्क राख्न र त्यस्ता पम्पहरुमाथि बारम्बार निगरानी राख्न पनि प्रादेशिक कार्यालयहरुलाई निर्देशन गरेको छ ।
परिपत्रअनुसार निगमका कार्यालयहरुले आफू मातहतमा पर्ने सीमा क्षेत्रका पेट्रोल पम्पहरु मध्ये दैनिक न्यूनतम ५ वटा पम्पहरुको निरीक्षण गरि आवश्यक विवरणहरु लिनुपर्ने, दैनिक औसत बिक्रीको परिणाम लिनुपर्ने र पम्पले बिक्रीवितरणको विवरणसहितको बिल राख्नु पर्ने व्यवस्था पनि गरेको छ ।
हाल भारतीय बजारमा भन्दा नेपालमा पेट्रोल ३५.२९ र डिजेल ४१.४३ रुपैयाँ सस्तो छ । खुला सीमा र मूल्यअन्तरका कारण सीमावर्ती क्षेत्रमा पेट्रोलियम तस्करी बढेको निगमको निश्कर्ष छ ।
भारतीय मिडियामा चर्चा
नेपालबाट भारततर्फ पेट्रोलियम तस्करी बढेको भन्दै भारतीय मिडियाले श्रंखलाबद्ध समाचार प्रकाशन गरेका छन् । भारतले बिक्री गरेको इन्धन नेपालबाट भारततर्फ तस्करी भएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।
नेपालमा भारतमा भन्दा २२ भारुले पेट्रोल सस्तो भएको र बिहार क्षेत्रमा छोटो बाटो भएर तस्करी बढेको समाचारमा जनाएको छ ।
बिहारको अरैरा र किसानगन्ज क्षेत्रमा तस्करीकै कारण आन्तरिक बिक्री प्रभावित बनेको हिन्दुस्तानटाइम्सले जनाएको छ ।
प्रतिक्रिया 4