
२२ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (विप्लव समूह) शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् ।
प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार राति उद्घाटन गर्दै उनले फागुन २१ गतेदेखि नेपाल पूर्णरुपमा शान्तिको देशका रुपमा रुपान्तरण भएको दाबी गरे । उनले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान पनि सञ्चालन भइरहेकाले विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।
‘हामीले योबीचमा दुई अध्याय पूरा गरेर सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल््यायौँ, त्यस्तै पछिल्लो पटक विभिन्न खालका विद्रोह र हिंसाको राजनीतिमा लागेको विप्लव समूहलाई पनि मूलधारमा ल्याएका छौं,’ उनले भने, ‘यसले समाजमा रहेको भय र आतङ्कलाई अन्त्य गरेको छ, अब मुलुकमा पर्यटकले निर्वाधरुपमा हिँडडुल गर्न समस्या छैन ।’
सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भई शान्तिपूर्ण राजनीतिमा आउने गरी उक्त समूहको नेतृत्व शुक्रबार सार्वजनिक भएको थियो । यो राजनीतिक सन्देशले कोभिडका कारण थलिएको पर्यटनलाई पुनरुत्थान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
पर्यटनमन्त्री ढकालले कोभिडविरुद्धको खोप पनि लगाउन सुुरु भइसकेकाले अब नेपालमा पर्यटक आउन कुनै पनि किसिमको अवरोध नरहेको जिकिर गरे ।
प्रतिक्रिया 4