
२५ फागुन, काठमाडौं । अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सैन्य क्याम्पमा भएको श्रृङ्खलाबद्ध विष्फोटमा परी मृत्यु हुनेको संख्या ९८ पुगेको छ । इक्वेटोरियल गिनीका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार भएको विष्फोटमा परी ६१५ जना मानिसहरु घाइते भएका छन् । इक्वेटोरियल गिनीको मुख्य सहर बाटास्थित सैन्य क्याम्पमा यो विष्फोट भएको हो ।
इक्वेटोरियल गिनीका राष्ट्रपति टिओडोरो एनगुएमाले यो दुर्घटना डाइनामाइटको व्यवस्थापनमा गरिएको बेवास्ताको कारण भएको बताएका छन् । उनका अनुसार श्रृङ्खलाबद्ध विष्फोटको कारण बाटाको अधिकांश घर तथा भवनहरुमा क्षति पुगेको छ । स्वास्थ्यमन्त्रीले विष्फोटपछि घाइतेहरुको उपचारको लागि आवश्यक प्रबन्ध गरिएको बताएका छन् ।
१४ लाख मानिसको जनसंख्या रहेको इक्वेटोरियल गिनीका अधिकांश मानिसहरु गरिबीमा छन् । सरकारले यो विष्फोटसँगै अन्तर्राष्ट्रिय समुदायलाई विष्फोटमा हराएका मानिसहरुको खोजी तथा उद्धारकार्यमा सहयोगको लागि आग्रह गरेको छ ।
-एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4