+
+

मेलम्चीमा याङ्ग्री र लार्के पनि मिसाउन ऋण खोजिँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते ८:२४

२६ फागुन, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सकिएपछि आयोजनाको दोस्रो चरणको निर्माण थाल्ने योजना तयारी गरेको छ । मेलम्चीको दोस्रो चरणको आयोजना निर्माणका लागि विदेशी दाताहरुसँग वित्तीय स्रोतको जठाउन सरकारले छलफल अघि बढाएको छ ।

यसका लागि झण्डै ३० करोड अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान छ । एसियाली विकास बैंक (एडीबी) पनि मेलम्चीको दोस्रो परियोजनामा लगानी गर्न इच्छा देखाए पनि स्रोत सुनिश्चित हुन बाँकी रहेको आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

‘सुन्दरीजलमा बन्ने अर्को पानी प्रशोधन केन्द्रका लागि एडीबी लगानी गर्न तयार भइसकेको छ,’ उनले भने, ‘सिन्धुपाल्चोकमा बन्ने नयाँ परियोजनाका लागि भने ऋण लगानीको सहमति भइसकेको छैन ।’

डीपीआर तयार

यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । परामर्शदाता कम्पनी इप्टिसाले सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउने गरी बनाएको डीपीआर मेलम्ची खानेपानी विकास समितिलाई दिएको हो ।

मेलम्चीमा यांग्री र लार्केको पानी मिसाउन ११ किलोमिटरको सुरु खन्नुपर्नेछ झण्डै १२ किलोमिटरको दूरीमा रहेका यी खोलाको पानी मिसाइनेछ । यो आयोजनमा काम सुरु भएपछि ४ वर्षभित्र सुरुङको काम सकिने अनुमान गरिएको छ ।

यो योजना पूरा भए मेलम्चीबाट अहिले ल्याउन लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ । मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसाउने गरी मेलम्ची-२ को डीपीआर तयार भएको आयोजनाका प्रमुख खत्रीले जानकारी दिए ।

पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झार्नेछ । मेलम्चीको दोस्रो प्रोजेक्ट तयार भएपछि भने त्यसलाई ५१ करोड लिटरमा पुर्‍याउने योजना छ ।

यो योजनाअनुरुप मेलम्ची आयोजनामा यांग्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइनेछ । पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको पूरा माग थेग्न नसक्ने भएपछि सरकारले मेलम्चीका दुई खोलाको पानी पनि थपेर काठमाडौं ल्याउन लागेको हो ।

सरकारले पनि मेलम्चीमा थप लगानी गरेर काठमाडौंमा थप पानी ल्याउने घोषणा बजेट र नीति तथा कार्यक्रमबाटै नै गरिसकेको छ । काठमाडौंमा दीर्घकालीन रुपमा पानीको माग व्यवस्थापन गर्न दुई खोलाको पानी मिसाउन लागिएको हो । यसले काठमाडौंमा दीर्घकालीन रुपमा खानेपानीको अभाव पूरा गर्न सहज हुने विश्वास छ ।

अधिग्रहण चल्दै

आयोजनाका लागि जग्गा अधिग्रहणको काम ६५ प्रतिशत सकिएको मेलम्ची खनेपानी आयोजनाले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरुमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोट विरुवा, बालीनाली, गोठ टहराको मुआब्जा वितरण भइरहेको छ ।

यो आयोजना निर्माण गर्दा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर एकमा सबैभन्दा धेरै १५२ कित्ता जग्गा अधिग्रहण गरिनेछ । वडा नम्बर २ मा ५५, ४ मा ४४, ८ मा ३६, ९ मा ६ र वडा नम्बर ६ मा ४ कित्ता जग्गा अधिग्रहण हुनेछ  ।

आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवक्र्स, क्याम्पसाइट, माटो थुपार्ने ठाउँ लगायतका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो । सरकारले यस वर्ष मेलम्ची आयोजनाको दोस्रो खण्डको पूर्व तयारी अघि बढाउने गरी ठूलो बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?