
नेपालको जतिजति उत्तरतर्फ बढ्दै गयो, त्यतित्यति खाना र भेषभुषामा रोचकता र फरकपन देख्न सकिन्छ । उच्च हिमालयसम्म पुग्दा त त्यहाँको खाना, बसोबास र पहिरनको शैलीमा पूरापूर भिन्नता पाउन सकिन्छ । यो सबै वातावरण अनुकूलको संस्कृतिले गर्दा भएको हो ।
उच्च हिमालय भेगमा के खाना खान्छन् त ? नेपाली परम्परागत खाना एवं पर्यटनको बारेमा कलेज अफ फुड साइन्स एण्ड टेक्नोलोजीको लागि २०१४ मा गरेको अध्ययन अनुसार नेपालको उच्च हिमालय भेगको मुख्य परम्परागत खाना भनेको मःमः टिङ मःमः, घिउ चिया वा नुन चिया र खाप्सा उत्तर हिमालय भेगको मुख्य खाना हो । यी खानाहरुको निर्माण विधिको बारेमा तल उल्लेख गरिएको छ ।
घिउ चिया वा नुन चिया
तिब्बतबाट ल्याएको नुन, घ्यु, दूध र विशेष प्रकारको चियापत्तिलाई दोङ्मो भन्ने भाँडामा राखेर घोलेर यो चिया बनाइन्छ । घरपजोङ गाउँपालिकाको स्याङ लगायतका विभिन्न उच्च हिमाली क्षेत्रमा अहिले पनि यो चिया नियमित पिउने गरिन्छ ।
दाउरामा कसौंडीमा राखेर पकाएको सो चियालाई झ्यापिल भन्ने भाँडामा खन्याइन्छ । तिब्बतबाट ल्याएको नुन भनिने विशेषखाले नुनलाई चियामा मिसाउने गरिन्छ । यो नुन जति खाए पनि प्रेसरलाई असर गर्दैन भन्ने उनीहरुको मान्यता छ । यसरी बनाइएको विशेष खालको चिया नै त्यहाँको परम्परागत खानामा पर्छ ।
टिङ मःमः (स्थानीय भाषामा टिङमो)
टिङ मःमः भुटानी एवं तिब्बती खाद्य परिकार हो । यो मःमः जस्तै तताएर बनाउने परिकार भए पनि यसको स्वाद र बनाउने पद्धति एवं आकारमा समेत भिन्नता हुन्छ । यो आफैँमा एउटा रोटी जस्तै हो । यसलाई मसलेदार तरकारीसँग राखेर खाने गरिन्छ ।
कसरी बनाउँछन् टिङ मःमः ?
सबैभन्दापहिले २५० ग्राम जति मैदाको पिठो लिनुहोस् । त्यसमा ५ ग्राम नुन र १० ग्राम जति चिनी राख्नुहोस् । त्यसमा आवश्यक पानी मिसाएर मुछ्नुहोस् । त्यसलाई त्यतिबेलासम्म मुछ्नुहोस् जतिबेलासम्म त्यो बेल्नको लागि तयार हुँदैन ।
पिठोलाई राम्रोसँग मुछेपछि त्यसलाई रोटी बनाउँदा जस्तै ठूलो ठाउँमा राखेर बेल्नुहोस् । रोटीको जस्तो आकारमा बनेपछि त्यसलाई ४/५ तहमा हुने गरी पट्याउनुहोस् र त्यसलाई लाम्चो आकारमा रहनेगरी काट्नुहोस् । त्यसपछि वाफ युक्त भाँडामा तताएर त्यसलाई खान योग्य बनाइन्छ ।
खाप्से
खाप्सा उच्च हिमाली भेगको एक किसिमको प्रमुख खाद्य परिकार हो । ल्होसारको समयमा तिब्बेतियन समुदायले बनाउने खाप्सा त्यहाँको परम्परागत खाना पनि हो । यो पनि मैदा, चिनी, तेल र दूधयुक्त परिकार हो । खाप्सा बनाउँदा माथि उल्लेखित सबै सामग्रीलाई एउटै भाँडोमा राखेर पिठो मुछेर त्यसलाई बेल्ने गरिन्छ । त्यसपछि त्यसलाई बराबर चारकुने वर्गाकार शैलीमा काटेर त्यसलाई सानोसानो टुक्रा बनाइन्छ । त्यो सानो आयाताकार टुक्राको बीचमा प्वाल पारिन्छ र त्यसलाई आकर्षक बनाएर तेलमा राखिन्छ । काठमाडौं उपत्यकामा नमकिन बनाएको जस्तैगरी खाप्सा तयार पार्ने गरिन्छ ।
मःमः
तिब्बतको रैथाने परिकार हो मःमः । यसको उत्पत्ति कहाँबाट भयो भन्ने बारेमा मतभेद रहेपनि तिब्बत एवं उच्च हिमाली भेगमा ममलाई ‘मोहमोः’ भन्ने गरिन्छ । पछि त्यही शब्द अपभ्रंश भएर हामीकहाँ आइपुग्दा मःमः हुनपुगेको हो । जसरी मोहमोबाट मःमः भयो, यसैगरी यसको स्वाद र शैलीमा पनि विविधता आएको छ । अहिले रेस्टुरेन्टको मेनुमा थरीथरीका मम पाउन सकिन्छ । स्टिम ममदेखि सी म:म:सम्म । ममकै परिकारलाई थप परिमार्जन गर्दै त्यसमा स्वाद थप्ने काम भएको छ ।
प्रतिक्रिया 4