
१८ चैत, काठमाडौं । भोकमरीमा नेपालको प्रगति सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ ।
विश्वव्यापी भोकमरी सूचांक (जीएचआई) ले तयार गरेको ‘विश्वव्यापी भोकमरी सूचांक प्रतिवेदन २०२०’ ले नेपाल भोकमरी अवस्थामा जोखिमपूर्णबाट मध्यम अवस्थामा आएको देखाएको हो ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक प्रतिवेदनअनुसार विश्व भोकमरी सूची सन् २०२० मा १०७ मुलुकमध्ये नेपाल ७३ औं स्थानमा छ । र नेपालले १९.५ नम्बर ल्याएको छ ।
प्रतिवेदन अनुसार सन् २००० मा नेपालको जिएचआई सूचांक ३७.४ थियो । यो क्रमशः घट्दै सन् २००६ मा ३१.०, सन् २०१२ मा २२.८ र सन् २०२० मा १९.५ मा आइपुगेको हो ।
‘यो मध्यम अवस्था हो, धेरै भोकमरी र भोकमरी नै नहुने अवस्था होइन’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा गैरसरकारी संस्था (गैसस) महासंघ नेपालका अध्यक्ष जीतराम लामाले भने । प्रतिवेदनअनुसार दक्षिण एसियामा भारतको जीएचआई सूचांक २७.२ रहेको छ । पाकिस्तानको सूचांक २४.६, बंगलादेशको सूचांक २०.४ रहेको छ ।
सन् २०३० भित्र शून्यमा झार्ने लक्ष्य
नेपालले सन् २०३० भित्र भोकमरी शून्यमा झार्ने लक्ष्य राखेको छ । तर, यो लक्ष्य प्राप्त गर्नु चुनौतीपूर्ण रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेलले बताए ।
‘लक्ष्य प्राप्तिमा धेरै चुनौती छन् । चुनौतीहरुको सामना गर्दै सन् २०३० भित्रै भोकमरी शून्यमा झार्न प्रयासरत छौं’ कार्यक्रममा उनले भने ।
५० बढी देशमा भोकमरी दर उच्च
५० बढी देशमा भोकमरी दर उच्च रहेको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये हाइटी, मादागास्कर, लाइबेरिया र भेनेजुएलासहित १४ देशमा भोकमरीको समस्या गम्भीर रहेको र यी देशका एक चौथाइदेखि आधा जनसंख्या भोकमरीको शिकार भएको जनाइएको छ ।
तथापि, सन् २०१२ मा मध्यम, गम्भीर र अतिगम्भीर अवस्थामा रहेका ४६ देशका भोकमरी सूचांक क्रमिक रूपमा घटेको उल्लेख छ ।
प्रतिक्रिया 4