Comments Add Comment

परम्परागत पहिरन र गहनामा सजिएर रानाथारुको ‘होरी’

तस्वीर सौजन्य : नन्दलाल राना

सुदूरपश्चिमी भेगमा बसोबास गर्ने रानाथारूहरुको विशेष पर्व होरी सोमबार सम्पन्न हुँदैछ । कञ्चनपुरको भीमदत्त नगरपालिका लगायतमा बसोबास गर्ने रानाथारुहरूले एक महिना ८ दिनसम्म मनाउने ‘होरी’ पर्व यस वर्षको लागि सम्पन्न भएको हो । माघ शुक्ल पूर्णिमाको दिन सुरु भएको सो पर्व फागु पूर्णिमा पछिको ८ दिनसम्म चल्ने गर्छ । होलिका दहनसँगै अन्यत्र होली सम्पन्न भएपनि रानाथारुहरूले भने मरेको होलीको रूपमा घरघरमा पुगेर थप ८ दिनसम्म ‘होरी’ मनाउने गर्छन् ।

होरी पर्व रानाथारुको सांस्कृतिक पहिचान संरक्षण गर्ने पर्व पनि हो । १ महिना ८ दिनमध्ये पहिलो एक महिना जिन्दा होलीको रूपमा मनाउने गर्छन् भने बाँकी ८ दिन मरेको होलीको रुपमा यो पर्व मनाउने गरिन्छ ।

जिन्दा होरीको समयमा युवायुवतीहरु साँझ परेपछि कहिले कसको त कहिले कसको घरमा गएर होरी गीत गाउँछन् । यो प्रायः रातिमा मनाइन्छ । जसको घरमा होरी खेल्न गइन्छ उसैको घरमा खाना खाएर मध्यराततिरमात्रै घर फर्किने चलन छ । यो जिन्दा होरीको समयमा रानाथारु एवं थरुनीहरुले परम्परागत पोसाक लगाउने गर्दैनन् । तर होलीको दिन र मरेको होलीको रुपमा मनाउने ८ दिन भने शरीरभरि परम्परागत पोसाक लगाएर होरी नाच्ने गरिन्छ ।

कसरी हुन्छ होरीको सुरुवात ?

कञ्चनपुर भीमदत्त नगरपालिका १४ मा बसोबास गर्ने रानाथारु होमस्टेका सञ्चालक समेत रहेका परशुराम रानाका अनुसार होरीको सुरुवात माघ पूर्णिमाको दिनदेखि नै हुन्छ । पूर्णिमाको दिन ‘भल्मन्सा’को घरमा जम्मा भएका जवानहरुले सबैघरबाट भेट उठाउने गर्छन् । पूजा सामग्रीलाई भेट भन्ने गरिन्छ । सबैघरबाट उठाएको भेटलाई होली राख्ने ठाउँमा लगेर विधिवत् रुपमा पूजा गरेपछि होरी पर्व सुरु हुन्छ ।

होरीको सुरुवातको क्रममा घरघरबाट ल्याएको भेटसँगै कन्डा (गुइठा), टिटरो (सुकेका मकैका, तोरीका डाँठ), दाउरा इत्यादिको समेत पूजा गर्ने गरिन्छ । पुजा सकेपछि त्यहीबाट होरीको गीत गाउँदै भल्मन्साको घरमा १/२ घण्टासम्म गीत गाउने गर्छन् । हरेक दिनको होरी गीत गाउने क्रममा दाउरा, कन्डा, टिटरो होरी राखेको ठाउँमा गई थुपार्ने चलन रहेको राना बताउँछन् ।

मरेको होली मनाउँदा पहिले पहिले युवती वा किशोरीहरु कसैको घरमा गएर होली खेल्ने अनुमति माग्छन् । घरधनीले होली खेल्ने अनुमति दिए भने त्यहाँ जरबैखान नामको होरी गीत गाएर उनीहरु फर्किन्छन् । त्यसपछि महिला र पुरुष दुवै आकर्षक परम्परागत पोसाकमा सजिएर होरी खेल्न पुग्छन् । अपराह्न ३/४ बजेदेखि सुरु हुने होरी राति १०/११ बजेसम्म चल्ने गर्छ ।

होरी जसको घरमा खेलिन्छ उसैले त्यहाँ आउने सबैलाई खानाको व्यवस्था गर्नुपर्ने चलन छ । सुरुमा नै होरी खेल्न अनुमति नदिएमा भने किशोरीहरु अर्कै घरमा होरी खेल्ने अनुमति माग्ने गर्छन् । रानाका अनुसार पहिलेपहिले त होरी रातभरि पनि खेल्ने गरिन्थ्यो । रातभरि होरी खेलेका कारण खसी काट्ने बंगुर काटेर भोज खुवाउने चलन समेत रहेको थियो । अन्यथा परम्परागत रानाथारुहरुको खाद्य परिकार खुवाएर पठाउने चलन छ । होरीको अन्तिम दिनलाई खकडऐरा भनिन्छ । होलीको १० दिनपछिसम्म पनि होरी मनाउने चलन रहेको राना बताउँछन् ।

होरीमा कुन पोसाक कसले लगाउँछन् ?

रानाथारुहरूको परम्परागत पहिरन खण्डखण्ड जोडेर आकर्षक रुपमा तयार पारिन्छ । घघँरिया यस्तै खण्डखण्ड जोडेर बनाइएको पहिरन हो । जसमा गोट, तोइ, मगजी, घुट्टा, कञ्चट, सबैया, कसिदा, अरसी, टिकुली, गिडासी, फुल्वा, सितारा र कन्ठीलाई जोडेर बनाइएको हुन्छ । रानाथारुहरुको अर्को मौलिक पोसाक अँगिया हो । यसमा मडना, मग्जी, बहँटी, कखौटी, जोकी, पछुवा, लाक, छाती, पछौटी, झालर, तिरपर, तनी, ताना जस्ता खण्डहरूलाई जोड्ने गरिन्छ । घघँरियाको पछिपट्टिको भागलाई आकर्षक बनाउनका लागि सितारा, सिसा, कण्ठीलगायत जोड्ने गरिन्छ ।

गहनाहरू तर्फ महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, त्यसपछि हसुला, सकरगरेला र हाल लगाउने गरेको राना बताउँछन् । पाखुरामा लगौरा, नाडीमा पहुँची, औंलामा कलात्मक औंठी, कम्मरमा सिक्रीवाला कैंधनी, पैंतलामाथि ढुन्नी, ढुन्नीको तल पैंडा र पायल लगाउने गर्छन् । पाखुरामा थडुवा, अँगियामाथि पैसाको माला पतुही तथा पाखुरा र कम्मरमा चालासमेत लगाउने गर्छन्। गर्धनमा कण्ठ, गरिया र घिच्ची लगाउनु उनीहरूको परम्परागत पहिरन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment