+
+

गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १८:३९

२ जेठ, गोरखा । गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । तर अक्सिजन उत्पादन सुरु हुन भने केही दिन लाग्ने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

‘अस्पतालको नयाँ बन्दै गरेको भवनमा प्लान्ट जडान गर्नकै लागि छुट्टै कोठा बनेको छ, त्यही कोठामा प्लान्ट जडान गरेका हौं’ उनले भने ।

अक्सिजन पाइपलाइन विस्तारको काम बाँकी रहेको ढकालले बताए । ‘नयाँ भवनको बिरामी भर्ना हुने सबै वार्डमा स्थायी रुपमा पाइपलाइन जडान भइसक्यो तर, भवनको काम सकिएको छैन, त्यसैले अहिले संक्रमितको उपचारका लागि बनाइएको आइसोलेसन वार्डमा अस्थायी रुपमा पाइपलाइन जडान गरेर अक्सिजनको व्यवस्था गर्न लागेका हौं,’ उनले भने ।

प्लान्टबाट अक्सिजन उत्पादन र पाइपलाइन जडान भएपछि अक्सिजन आवश्यक पर्ने कोरोना संक्रमितको उपचारमा सहज हुने अस्पतालको भनाइ छ । हाल अस्पतालमा संक्रमितका लागि निर्माण गरिएको आइसोलेसनमा १४ बेड छन् र चार जना संक्रमित उपचाररत छन्

हाल अस्पतालमा गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ वटा एचडीयू बेड जडानको काम पनि भइरहेको छ । अक्सिजन प्लान्ट जडानका लागि गोरखा अस्पतालमा गत बर्ष गण्डकी प्रदेश सरकारबाट ४९ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । तर अस्पतालको नयाँ भवन निर्माण पूरा नहुँदा प्लान्ट जडान हुन नसकेको हो ।

‘गत असोजमा भवन बनिसक्छ अनि प्लान्ट जडान गर्ने भन्ने थियो, तर भवनको काम सकिएन, अहिले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन बढी चाहिने भयो, त्यसैले प्लान्ट जडान गरेका हौं,’ सूचना अधिकारी ढकालले भने ।

जडान गरिएको प्लान्टबाट प्रति मिनेट ८० लिटर अक्सिजन उत्पादन हुने उनले बताए । ‘प्लान्ट जडान गरेर उत्पादन शुरु भएपछि एकै पटक कम्तीमा दश जनालाई अक्सिजन दिन मिल्छ,’ उनले भने ।

हाल गोरखा अस्पतालमा चितवनबाट अक्सिजन ल्याउने गरिएको छ । ‘यहीँ उत्पादन हुन थालेपछि बाहिरबाट ल्याउनुपर्ने भार पनि कम हुन्छ’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?