
२१ जेठ, रौतहट । अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गरीरहेको अवस्थामा प्रहरीले स्काभेटर र चालकलाई नियन्त्रणमा लिएको छ ।
रौतहटका विभिन्न स्थानीय तहहरुले खोलाहरुमा नदीजन्य पदार्थ निकासीका लागी अनुमति दिए पनि ठेकेदारहरुले मापदण्ड विपरीत बालुवा तथा ढुङ्गा उत्खनन् गर्ने गरेका छन् ।
वृन्दावन नगरपालिका ४ को रमौली घाटमा ४ वटा स्काभेटर तथा गढीमाई नगरपालिकाको १ र २ को घाटमा अनुमति विपरीत उत्खनन गरी रहेका चार वटा गरी कुल ८ स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले स्काभेटर नियन्त्रणमा लिने क्रममा अवरोध उत्पन्न गर्ने ७ जना चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक सिद्धि विक्रम शाहले बताए ।
पूर्वसभासद तथा नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णा यादवको क्रसरमा भण्डारण गर्न खोला दोहन तथा उत्खनन्को काम भएको स्थानीय उमेश यादवले बताएका छन् ।
गढीमाई र वृन्दावन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा पूर्व सभासद यादवले सो क्षेत्रमा नदीजन्य पदार्थको ठूलो कारोबार गर्दै आएका छन् ।
खोलामा लगाएको मुरली कन्सट्रक्सनको एक्साभेटरले १० फिटभन्दा बढीको खाल्डो बनाएर प्रारम्भिक वातावरणीय परीक्षण (आईई) को खिल्ली उडाएको छ । खोलामा अनुगमन गर्ने निकायले ध्यान नदिदा रौतहटको बागमती, लालबकैया, चादी लगायतका नदीको दोहन बढेको हो ।
गैर कानूनी रुपमा खोला उत्खनन् गरेर हजारौं घनमिटर ढुङ्गा बालुवा भण्डार गर्दा समेत जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरु मुकदर्शक बनेर बसेका छन् ।
रौतहटका खोलाहरुबाट राजनितिक पहुँच र आर्थिक चलखेलका आधारमा ठेकेदारहरुले अवैध उत्खनन् र भण्डारण गर्ने गरेका छन् ।
नियन्त्रणमा लिएका स्काभेटरहरुलाई जिल्ला समन्वय समितिको जिम्मा लगाउने तथा चालकलाई कानून बमोजिम कारवाही गर्ने प्रहरी उपरीक्षक शाहले बताए ।
प्रतिक्रिया 4