
एकातिर वन्यजन्तुको तस्करी गर्ने, अर्कोतिर त्यसको रक्षा गर्नेबीच सधै दोहोरी चलिरहन्छ । यो उपक्रम सदियौंदेखि जारी छ । त्यसैले यो कुनै नविन मुद्धा होइन ।
यद्यपि केही नेपाली फिल्ममेकरले यो मुद्दालाई बेलामौकामा उठाउने गरेका छन् । वन्यजन्तु तस्करीको कुरुप पाटोलाई उँधिन्दै आएका छन् । जस्तो मनोज पण्डितले ‘खाग’मा । निगम श्रेष्ठले ‘छड्के’मा ।
यसर्थ वन्यजन्तु तस्करीको कथा हाम्रो लागि नयाँ होइन । यद्यपि यस्तै विषयमाथि बनेको बलिउड फिल्म अमेजन प्राइममा सार्वजनिक भएको छ, भर्खरै । फिल्म हो, शेरनी ।
सिनेमाले टिप्ने कथा, यही समाजबाट हो । त्यसैले कथा वा विषयबस्तु पूर्णत अलग नहुन सक्छ, मिल्दोजुल्दो हुन्छ । तर, त्यसलाई प्रस्तुत गर्ने ढंग भने फरक हुन्छ । त्यसैले विद्या वालन अभिनित ‘शेरनी’ हामीले हेर्दै आएको फिल्म भन्दा अलग स्वादको हुनसक्छ ।
फिल्म ‘शेरनी’को कथा एक बन विभागको अफिसरको हो, जो एक शेरनीलाई बचाउनका लागि जुधिरहेका छन् । तर, उनको बाटोमा तगारो बनेका छन्- गाउँका मान्छेहरु, सरकारी हाकिमहरु, स्थानिय नेताहरु ।
विद्या विसेन्ट (विद्या वालन) वन विभाग प्रमूख हुन् । उनी जंगलमा घुमफिर गर्छिन् । जंगलमा जनवार र मान्छेलाई आक्रमण गर्ने शेरनीलाई सकुशल समात्ने यत्नमा छिन् । तर, उनको लागि यो काम सहज छैन ।
किनभने विद्याको बोस बंसल (वृजेन्द्र काला) आफ्नो जिम्मेवारीबाट भागिरहेका छन् । उनले शेरनीलाई मार्नका लागि एक निजी शिकारी पिन्टु भैया (शरत सक्सेना)लाई लिएका छन् । यता स्थानिय नेताहरु चुनावका लागि जंगल र शेरनीको मुद्दालाई उठाएर राजनीति गरिरहेका छन् । यस्तोमा विद्यामाथि चुनौतीको थुप्रो छ ।
यो झै-झमेला र अप्ठ्याराहरुबाट उनले पार पाउँछिन् ? शेरनीलाई सकुशल पक्राउ गर्न सफल हुन्छन् ? वा निजी शिकारी र स्थानिय नेताहरुको गोलचक्करमा फस्छिन् ? फिल्मले विस्तारमा यही कथा पेश गर्छ ।
परिपूर्ण पटकथा
यस फिल्मलाई अमित मासुरकरले निर्देशन गरेका छन् । उनले यसअघि फिल्म ‘न्यूटन’ बनाएर तारिफ बटुलिसकेका छन् । उनले पितृसत्ताको घना जंगलमा घुमिरहेको महिला वन र मान्छेवीच परस्पर निर्भरता र संघर्ष, जंगलसँग जोडिएको राजनीति, विकासको माध्यामबाट हुने पर्यावरणको क्षतिबारे देखाउने प्रयास गरेका छन् ।
आस्था टीकूले यसको कथा लेखेका हुन् । उनले लेखेको पटकथाले त्यस कुरालाई कटाक्ष गर्छ कि, कसरी सरकारी हाकिम र स्थानिय नेताहरुले आफ्नो स्वार्थको खेल खेल्छन् र सर्वसाधरणमाथि भ्रमको शिकार गर्छन् ?
फिल्मको पटकथा नै जोडदार छ । शेरनीको खोजीमा विद्या विसेन्ट कुनाकाप्चा चाहर्छिन् । उनी शेरनीलाई बचाउन चाहन्छन् । आफ्नो टोली र स्थानियको सहयोग लिएर पर्यावरणलाई सन्तुलन राख्ने उनको ध्येय छ । उनी भन्छिन्, ‘कुनै शेरनी नरभक्षी हुँदैनन्, ऊ भोको हुन्छ ।’ गाउँमा केही मान्छे यस्ता छन्, जसले वन्यजन्तु र पर्यावरणबारे बुझेका छन् । गाउँका प्रोफेसर हसन भन्छन्, ‘यदि बाघ छ भने जंगल हुन्छ । जंगल भयो भने पानी हुन्छ । पानी हुन्छ भने जीवन हुन्छ ।’
जबकि गाउँका मान्छेहरु जंगलमा आफ्नो हालीमुहाली चाहन्छन् । यस्तोमा चोरी शिकार गर्नेहरु, गाउँमा राजनीति गर्नेहरु र पितृसत्ताले गाँजेका सोंचसँग एक्लो विद्याले लड्नुपरेको छ । उनी अन्र्तमुखी छिन्, तर कमजोर छैनन् । सायद जंगलकै शेरनी जस्तो ।
अब्बल अभिनय
यस फिल्ममा विद्या वालनसँगै बृजेन्द्र काला, विजय राज, नीरज कबी, शरत सक्सेना जस्ता माझिएका कलाकारले काम गरेका छन् । फिल्मको सपोर्टिङ कास्ट पनि राम्रो छ । यी सबै मिलेर यो फिल्मलाई ‘खास’ बनाएका छन् । सबैले आफ्नो ग्ल्यामर छवीलाई छाडेर आ-आफ्नो भूमिकामा डुबेका छन् । फिल्ममा कतिपय रमाइलो तर गहन अर्थयुक्त दृश्य छन् । विद्या वालनले यो कुरा प्रमाणित गरिदिएका छन् कि, उनले आफ्नो लय छाडेकी छैनन् ।
निर्माताः भूषण कुमार, कृष्ण कुमार, विक्रम मल्होत्रा, अमित वी. मसुरकर
निर्देशकः अमित वी. मसूरकर
कलाकारः विद्या वालन, शरत सक्सेना, नीरज काबी, बृजेन्द्र काला, विजय राज
अमेजन प्राइममा उपलब्धः दुई घण्टा १० मिनेट
प्रतिक्रिया 4