
कति सिरियस भई’रा मित्र? आज सबैले जानेको तर अलि रोचक म्याथको जीवन कहानी सुनाउँछु है त हजुर !
म गणितमा खासै कमजोर विद्यार्थी थिइनँ। किनकि मलाई स्कूले दिनदेखि नै टक्कर दिने साथीहरूको संख्या कम नै थियो भन्दा हुन्छ।
मलाई बीजगणितमा सबैभन्दा बढी मनपर्ने शीर्षक थियो लस (एलसीएम) र मस (एचसीएफ)। दुई वा दुईभन्दा बढी समीकरणलाई खण्डीकरण गरिसकेपछि आएको साझा र बाँकी दुवैबाट निकालिएको मानबाट म सन्तुष्ट त अवश्य नै थिएँ किनकि क्लासमा पनि हिसाब मिल्ने अनि परीक्षामा पनि नम्बर आउने भएर। तर एकदिन यस्तो भएन जब मेरो मनमा लस र मसको जीवन उपयोगिताबारे अनेकौं प्रश्न उब्जिए।
प्रश्न जतासुकै सोध्दा पनि मलाई उत्तर पाइने दिशा त देखाइयो तर उत्तर भने देखाइएन। न त कुनै रिफरेन्स नै दिइयो। त्यस्तै अठार/उन्नाइसको हुँदो हो मेरो उमेर। त्यतिबेला मेरो मनमा यो प्रश्नको बीजारोपण भयो।
तसर्थ यसले जीवनमा राखेको अर्थको बारेमा साधारण तर महत्वपूर्ण कटु सत्य बुझ्न यतिका वर्ष लाग्यो।
प्लस टुपछि काठमाडौंमा काम खोज्ने क्रममा म बसेको ठाउँ महालक्ष्मीस्थानदेखि जावलाखेलसम्म काम खोज्न खुब हिंडें सात दिनसम्म। जीवन अलि संघर्षशील थियो त्यतिबेला। अझै लस र मसको व्यावहारिक ज्ञानबारे यथेष्ट ज्ञान पनि खासै थिएन।
७ दिनसम्म त्यही बाटो दिनको दुईपटकका दरले हिंडे तापनि बोल्ने हिम्मत आएन। किनकि मलाई पहिलोपल्ट बोल्दा मस लगाउनुपर्छ भन्ने थाहा थिएन।
थाहा थियो त केवल मस र लसका हिसाबहरू। त्यसैले पनि होला मलाई त्यो एकता प्रकाशनमा झाडु लगाउने काम पनि मिलेन। पछि बल्लतल्ल एकजना फेन्सी पसलका अन्जान दाइले झाडु लगाउने काम मिलाइदिए त्यो पनि १५ दिन ट्रायल र त्यसपछि कामको गनिता गर्ने शर्तमा।
जब बीएस्सी पढ्न क्याम्पस गइयो तब एकजना केटीले मलाई फ्याट्टै मन पराइन्। तर हेर्नुस् म त मस र लसको व्यावहारिक ज्ञान नजान्ने। त्यसले उनीसँग मेरो सम्बन्ध टिकेन।
पछि बुझ्दै जाँदा त महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि लस (साझा र बाँकी) बारेको व्यावहारिक ज्ञान नबुझेर आफ्नी पत्नीसँगको सम्बन्ध टुंग्याएको कुरा थाहा पाएपछि मेरो होश उड्यो। अन्तिम समयमा उनले ‘म्याथम्याटिक्स इज दि मस्ट डिफिकल्ट सब्जेक्ट इन दि वर्ल्ड’ भने। खोइ यो कुरालाई तपाईंले कसरी बुझ्नुहुन्छ?
जब डेल कार्नेजीको पुस्तक ‘हाउ टू विन फ्रेन्ड्स एण्ड इन्फुइन्स पिपल’ पढें तब बल्ल मलाई साझा विशेषता, साझा र बाँकी विशेषता बारेको ज्ञान प्राप्त भयो। पछि मार्केटिङको काम थालेपछि त झन् यसको भरपूर उपयोग गरें।
यहाँ हामीले जीवनमा कसैसँग केही मस (साझा) नभए पनि एक साझा हुन्छ भनेर कहिले बुझ्ने ? योगसूत्रमा भनिएको छ- ‘त्यो एकलाई जान जुन जानेपछि जान्न बाँकी केही रहन्न।’
श्रीमदभागवत गीतामा पनि भनिएको छ कि हामी जीवात्मा अनि ईश्वर चाहिं परमात्मा। जीवनमा लस र मसको तात्त्विक सम्बन्ध सजीव र निर्जीव दुवैसँग पनि हुन्छ।
एक दिन एकजना मित्र हस्याङफस्याङ गर्दै मेरो कोठाको ढोकामा आए र ढक्ढकाए। त्यसपछि मैले ढोका खोलें र उनले मलाई बाहिर निस्कौं न भन्ने प्रस्ताव गरे। मैले पनि स्वीकारें उनको अनुरोधलाई। उनी जटिल समस्यामा छन् तर समाधानको बाटो सरल छ भन्ने कुरा बुझ्न समय लागेन।
‘अग्लो घर तलबाट हेर्दा पनि टोपी खस्छ, त्यसलाई जहाजबाट हेर्दा पनि टोपी त खस्छ तर शरीर र आँखाबीचको कोण भने निकै फरक पर्छ।’ त्यस्तै लस र मसबारे बुझ्न थालेपछि उनको ‘ब्रेक अप’बारे काउन्सिलिङ गर्न खुबै सजिलो भयो।
बाहिर उनी आफ्ना कुराहरू सुनाउन थाले मलाई। मैले उनलाई अन्त्यमा सोधें- ‘बिहे र प्रेमबारे तिम्रो धारणा के छ ?’
उसले कनी कनी जवाफ दियो। ऊ म्याथमा अब्बल विद्यार्थी पनि हो तर उसले किन यस्तो उत्तर दियो भन्नेमा पनि निकै शंका पो लाग्न थाल्यो।
‘कुरा सिम्पल छ त प्रेम मसबाट सुरु हुने अनि लसमा गएर टुङ्गिने हो हैन र?’
मेरो कुरा सुनेर ऊ एकछिन पछि मुसुक्क हाँस्यो। मैले उसलाई मुस्कुराउँदै भनें- ‘थिङ्क वियोन्ड दि बोर्डर।’
सानो मानको ठूलो महत्व भयो कि क्या हो ? हा..हा.. गर्दै ऊ र म मसको बाटोदेखि लसको बाटोतिर लाग्यौं।
ताई न तुईको कुरा गर्यो भन्ने प्रश्न मनमा उठ्नु स्वाभाविक हो है। किनकि मस (साझा) र लस (साझा र बाँकी) यस्तै हो हजुर। यहाँ साझाको अर्थ धेरैको स्वामित्व भएको भन्ने बुझिन्छ भने बाँकी भनेको बचत हो। हामीले गणितमा मान मात्र निकाल्न जानेर पुग्दैन व्यवहारमा सान पनि ल्याउन जान्नुपर्छ।
त्यसैले हामीले जीवनमा पनि सोचाइको दायरा बढायौं र अलिक फराकिलो तरिकाले सोच्यौं भने हाम्रो जीवन धेरैको लागि साझा बन्न सक्छ। अनि रहेको बाँकी वस्तुले इतिहास रच्न सक्छ। अब त हाम्रो जीवनको गणितीय यात्रा मसबाट लसतिर लैजाने कि ? हजुर पनि एकपटक यो यात्रामा जानुहुन्छ त ?
प्रतिक्रिया 4