+

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित

२०८० मंसिर  २६ गते १४:२५ २०८० मंसिर २६ गते १४:२५
यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित

२६ मंसिर, काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।

दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ‍ओभरमा भेट्टायो ।

भारतका लागि ओपनर ब्याटर अर्हिन कुलकर्नीले ४३ र आदर्श सिंहले १३ रन बनाए । नेपालबाट ३ जना बलर प्रयोग भएको थियो, तर विकेट भने निकाल्न सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको थियो । यू-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो ।

नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । आकाश चन्द ४ रनमा अविजित रहे । नेपालका लागि टिकेर खेल्ने भर पर्दा ब्याटर अर्जुन कुमाल पनि क्रिजमा लामो समय टिक्न सकेनन् ।

अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन ७ रनमा क्याच आउट भएका थिए । अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट हुन पुगे ।

नेपालका लागि भारतका तीव्र गतिका बलर राज लिम्बानी निकै भारी परे । उनले ९.१ ओभर बलिङ गर्दै ७ विकेट लिए ।

उनले दिपक बोहोरा, उत्तम थापा मगर, कप्तान देव खनाल, दिपक प्रसाद डुम्रे, दिपक बोहरा, सुवास भण्डारी र हेमन्त धामीलाई आउट गरेका हुन् । अर्का बलर आरध्य शुक्लाले २ र आर्हिन कुलकर्नीले १ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको नेपाल यू-१९ एसिया कप क्रिकेटमा समूह चरणबाटै घर फर्केको छ ।

एसीसी यू-१९ एसिया कप नेपाल भर्सेस भारत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय