+
+
प्रिमियर कपमा नेपालको सुखद सुरूवात :

मलेसियाविरुद्ध ८ बलर प्रयोग, ब्याटिङमा संघर्ष

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत ३० गते २१:०९

३० चैत्र, काठमाडौं । पहिलो खेलमा शुक्रबार मलेसियालाई ५ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि रक्षा अभियान थालेको छ ।

जितका लागि पाएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । लक्ष्य पाउँदा सहज जितको अपेक्षा गरे पनि नेपाली ब्याटरले बाउन्ड्री प्रहार गर्न संघर्ष गरेपछि एक समय ढुकचुक अवस्थामा पुगेको थियो ।

२४ बलमा ३७ रन चाहिंदा नेपालले ३ विकेट गुमाएको थियो । स्पिनर वीरनदीप सिंहको १६औं ओभरको पहिलो बलमा रोहित २८ र अन्तिम बलमा दीपेन्द्र २० रनमा आउट
भएपछि नेपाल दबाबमा आयो । त्यसअघि कुशल भुर्तेल २४ बलमा २४ र आसिफ शेख ३५ बलमा ३२ तथा कुशल मल्ल ६ बलमा ७ रन बनाएर आउट भएका थिए । कुनै पनि शीर्षक्रमका ब्याटर खुलेर खेल्न सकेनन् ।

दीपेन्द्रले ११ बलमा २ चौका र १ छक्कासहित २० रन जोड्दै सहज बनाउँदै लगेका थिए । रोहित र दीपेन्द्र एकै ओभरमा आउट भएपछि नेपाललाई अन्तिम १८ बलमा ३० रन चाहियो । सन्दीप जोरा र गुल्शन झा दुवै नयाँ ब्याटर थिए ।

अनि क्रिजमा बिताउने समय कम भएको दबाबमा खराब सट खेले विकेट जाने जोखिम थियो । अनि सम्हालिएर खेल्दा एउटा ओभरमा मात्र रन आएन भने चाहिने रनरेट ह्वात्वै बढ्ने थियो ।

गुल्शनले मोहम्मद वाफिकलाई १८ औं ओभरको दोस्रो बलमा छक्का हान्दै माहोल फर्काए । १२ बलमा १७ रन चाहिएको थियो । वीरनदीपको १९औं ओभरको दोस्रो बलमा अहमद फैजले गुल्शनको क्याच छाड्न पुगे । त्यो नेपालको जितको टर्निङ प्वाइन्ट जस्तै भयो । तेस्रो बलमा स्वीच हिटमा सुन्दर छक्का हानेपछि जित औपचारिकता बाँकी थियो । गुल्शनले ७ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण १९ रन जोड्दै मलेसियासँग अप्रत्यासित हारबाट जोगाए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदान–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । कप्तान वीरनदीप सिंह
५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए ।

नेपालका रोहित पौडेल, आसिफ र सन्दीप जोरा बाहेक अन्य सबै खेलाडीले बलिङ गरेका थिए । दीपेन्द्र, ललित राजवंशी र अभिनाशले मात्रै आफ्नो पूरा ४ ओभर स्पेल गरे । प्रमुख बलर करण, सोमपाल, पार्टटाइम लेग स्पिनर कुशल भुर्तेलले २–२ ओभर बलिङ गरे । कुशल मल्ल र गुल्शन झाले १-१ ओभर बलिङ गरे ।

डेथ ओभर र पावर प्ले दुबैमा राम्रो बलिङ गर्दै दीपेन्द्रले मात्र १४ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्रले चौथो ओभरमा २ रन, छैटौंमा १ रन खर्चेर १ विकेट, १८औं ओभरमा ३ रन खर्चेर १ विकेट र अन्तिम ओभरमा ८ रन खर्चिंदै मलेसियालाई विशाल योगफलमा पुग्नबाट बाधक बनेका थिए ।

८ बलर प्रयोग गर्दा आफू खुसी भएको रोहित बताउँछन् । ‘मलेसियालाई १५० भन्दा कममा रोक्न दिप्पी दाईले पावर प्ले र डेथ ओभर दुवैमा राम्रो गर्नुभयो’ उनले भने, ‘अभिनाश दाइले पनि डेथ ओभरमा राम्रो गर्नुभयो । समग्रमा बलिङ युनिटबाट धेरै खुसी छु ।’

ब्याटिङमा भने मध्यक्रममा राम्रो गर्न नसकेको उनले स्वीकार गरे । ‘मलाई लाग्छ मध्यक्रम हामीले राम्रो ब्याटिङ गर्न सकेनौं । तर दिप्पी दाइ (दीपेन्द्र) र गुल्शनले खेललाई फिनिसिङ गरे’ प्रतियोगितामा पहिलो जित सधै महत्वपूर्ण हुने भन्दै कप्तान रोहितले भने ।

‘त्यो समयमा सिनारियो फरक थियो । केहि सट राम्रा थिए । विशेषगरी स्वीच हिट’, रोहितले गुल्शनको तारिफ गर्दै भने ।

नेपालले पहिलो खेलमा कमजोर फिल्डिङ गरेको थियो । रोहित पनि फिल्डिङबाट खुसी छैनन् । ‘फिल्डिङ राम्रो हुन सकेन । कमजोर फिल्डिङका कारण मलेसियाले ४/५ बाउन्ड्री सहज रूपमा प्राप्त गर्‍यो’ उनले भने ।

नेपालले शनिबार कतारसँग खेल्नेछ । नेपालले अन्तिम एक वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको ब्रान्ड क्रिकेटलाई निरन्तरता दिने रोहित बताउँछन् ।

ओमान जानुअघि नेपालले भारतको गुजरातमा फ्रेन्डसिप कप खेलेर गएको थियो । त्यसले गर्दा पनि खेलाडीहरू गर्मी कन्डिसनमा घुलमिल भएकाले कुनै समस्या नहुने
बताए ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?