
काठमाडौं । निर्देशकको रुपमा घनश्याम लामिछानेको मजाको पक्ष के हो भने उनी नजानेको कुरा सिक्न हिच्किचाउँदैनन् । ‘धौली’, ‘पञ्जेबाजा’देखि ‘चित्रा’सम्म आइपुग्दा उनको करिअर ग्राफ यस्तो देखिन्छ ।
‘धौली’ बनाउँदा धेरै कुरा मिसिङ थिए । ‘पञ्चेबाजा’मा उनले यसलाई उतार्ने प्रयास गरे । ‘चित्रा’मा उनले कथ्य, चरित्र चित्रण र द्वन्द्व विकासको डिटेलिङमा काम गरेका छन् । कतिले उनलाई ‘आर्ट निर्देशक’ समेत भने ।
बिहीबार आयोजित ‘चित्रा’को पत्रकार सम्मेलनमा लामिछानेले आफूलाई ‘आर्ट हाउस’ निर्देशक भन्ने भाष्यको खण्डन प्रयास गरे । ‘यसपछि आउने लण्डन टु पेरिस’ले मलाई मूलधारसँग जोड्छ । फिल्म आफैंमा कला हो । म विभाजन गर्न चाहन्नँ,’ उनले आलोचनाको खण्डन प्रयास गरे ।
‘मैले बनाएका अघिल्ला फिल्म नाटकजस्ता भए भन्ने गुनासो पनि आयो । नाटकलाई अब नाटकघरमै बनाउँछु । अहिले चाहिं हलमा सिनेमा देखाऊँ कि भनेर लार्जर द्यान लाइफ फिल्म बनाएको छु,’ उनले भने । ‘चित्रा’ महिलाप्रधान फिल्म भएको र यसले बाबुछोरीको सम्बन्धको कथा प्रस्तुत गर्ने उनले बताए ।
फिल्ममा प्रमोद अग्रहरिको पनि शीर्ष भूमिका छ । ट्रेलर हेर्दा उनी केही नकारात्मक चरित्रमा प्रस्तुत हुन्छन् । ‘मेरो पात्रले फिल्ममार्फत विभिन्न कथा भन्छ । मलाई रिसाउन क्यामेराअघि मात्रै आउँछ । मलाई मान्छे मार्न क्यामेराअघि मात्रै आउँछ,’ अग्रहरि भन्छन्, ‘चित्रामा मलाई रिसाएको र मान्छे मारेको रुपमा मात्र देख्नुहुन्छ । अरु कुरा मेरो क्यारेक्टरले भन्छ ।’
निर्माता समेत रहेका सन्तोष अधिकारीको यो डेब्यु फिल्म हो । चित्रा नामक पात्रको बुवाको भूमिकामा उनी छन् । ‘लामो तयारीपछि म अभिनयमा आएको हुँ,’ अधिकारी भन्छन्, ‘म आफूलाई धेरै मानिसको प्रतिनिधि पात्रको रुपमा लिन्छु । अभिनयको सपना देख्ने व्यक्तिहरुको प्रतिनिधि पात्र हुँ ।’
फिल्म ‘चित्रा’ पुस २७ गतेदेखि प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया 4