
२५ माघ, काठमाडौं । तीव्र गतिमा अगायडि बढिरहेको राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ लाई पटक–पटक खस्ने सुक्खा पहिरोले ‘ब्रेक’ लगाइदिएको छ ।
सिन्धुली र रामेछाप सीमानामा अवस्थित सुनकोशी नदीमा बाँध बाँधेर १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीमा खसाल्दै बागमती सिँचाइ आयोजनामा पानी पुर्याउने उद्देश्यले आयोजना अगाडि बढेको हो ।
तर, आयोजनाको सुरुङ खन्ने काम सुक्खा पहिरोका कारण पछिल्लो एक महिनायता रोकिएको आयोजना निर्देशक मित्र बरालले जानकारी दिए ।
‘सुरुमा धुलोमात्र खसिरहेको थियो, पछि यसमा पानी पनि रसाउन थाल्यो,’ बरालले अनलाइनखबरसँग भने, ‘जसले गर्दा काम नै रोक्नुपर्ने अवस्था आयो ।’
त्यहाँ ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) बाट सुरुङ खन्ने काम भइरहेको छ । तर, लेदोले मेसिनमै क्षति गर्ने अवस्था आएसँगै काम रोक्नुपरेको उनले बताए । कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये १०.५४४ किलोमिटर खन्ने काम पूरा भइसकेको छ । बाँकी २.७ किलोमिटर सडक खन्ने काम अहिले अवरुद्ध भएको हो ।
टीबीएम मेसिन फसेपछि यसलाई सुरक्षित निकालेर काम सुचारु गराउन टीबीएम निर्माता अमेरिकी कम्पनी रबिन्सनका प्राविधिक समेत बोलाइएको उनले जानकारी दिए ।
भूगोलविज्ञ, प्राविधिक र इन्जिनियरहरू मेसिनलाई सुरक्षित बनाउन र विकल्पमा काम अगाडि बढाउने बारे निरन्तर लागिपरेको निर्देशक बरालले जानकारी दिए ।
यहाँ यसअघि यस्तै समस्या आउँदा टीबीएमको दायाँ र बायाँ दुवै छेउमा बाइपास सुरुङ बनाएर मेसिन र जमिनको घर्षण कम गराइ सुचारु गराइएको थियो । त्यसबेला केमिकल प्रयोग गरी जमिनमा कडापन दिने उपाय समेत अपनाइएको थियो । यसपटक पनि सोही उपाय लगाउने तयारी आयोजनाले गरेको छ ।
सुनकोशी मरिन डाइभर्सनमा सुरुङ खन्न थालेसँगै चौथो पटक यस्तो समस्या आएको हो । यसअघि पनि केही स्थानमा सोही समस्या देखिएको थियो । तर, त्यसलाई सल्टाउँदै अगाडि जाँदा लेदो बगेर मेसिन नै फस्ने अवस्था आएको आयोजनाले जनाएको छ ।
यो आयोजना निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ । यहाँ प्रतिकूल भौगोलिक अवस्थाका कारण टीबीएम अगाडि बढ्न नसक्ने प्रकृतिको समस्या पहिलो पटक ५ जनवरी २०२३ मा मेसिन रोकिएको थियो ।
त्यसबेला बाइपास सुरुङ निर्माण गरी रासायनिक ‘इजेक्सन’ गरी समस्या समाधान गरिएको थियो । दोस्रो पटक ३१ मार्च २०२३ मा समेत सोही समस्या देखिएको थियो । यो समस्या समाधान गरी एक महिनापछि २६ अप्रिल २०२३ मा सुचारु भएको थियो ।
आयोजनाका अनुसार त्यसबेला समेत टीबीएमको कटर हेडको माथि तथा दाँया–बाँयाबाट समेत धुलो झर्ने समस्या देखिएको छ ।
तेस्रो पटक अक्टोबर २०२३ मा टीबीएम अड्किएको थियो । १० अक्टोबर २०२३ मा मेसिन अड्किएपछि बाइपास सुरुङ बनाएर १३ दिनको प्रयासमा २३ अक्टोबरबाट मेसिन सुचारु गरिएको थियो ।
‘पहिला धुलोमात्र खस्ने अवस्था थियो,’ निर्देशक बरालले भने, ‘अहिले पानी पनि रसाएपछि समस्या जटिल बनेको हो । सुरुङ निर्माण बाहेकका काममा भने अवरोध छैन ।’
सुरुङ खन्ने काम असोज २०७९ बाट सुरु भएको थियो । यसअघि भेरी–बबई डाइभर्सन परियोजनामा यस्तै टीबीएम मेसिन प्रयोग गरी सुरुङ खनिएको थियो । निर्माण कम्पनीले दुई वर्षमा सुरुङ खनिसक्ने लक्ष्य लिएको थियो ।
यो सुरुङ चुरे र महाभारत शृङ्खलाको फल्टलाइन क्षेत्रमा पर्ने भएकाले केही समस्या हुन सक्ने आँकलन सुरुबाटै गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २० फागुन २०७७ मा आयोजना शिलान्यास गरेका थिए ।
साढे ४९ अर्बको परियोजना, चालु वर्ष नै ४ अर्बको काम
यो परियोजना कुल ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ लागतमा कार्यान्वयन भइरहेको छ । आयोजनाबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने उद्देश्य छ ।
आयोजनामा यस वर्षमात्र ४ अर्ब रुपैयाँ लागतको काम हुने अनुमान गरिएको निर्देशक बरालले जानकारी दिए । आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य पनि छ ।
सिन्धुली खुर्कोटदेखि दुई किलोमिटर माथि सुनकोशी नदीमा हेडवर्क्स निर्माण गरी कमलामाइ, कुसुमटार (सिन्धुली) मा विद्युतगृह निर्माण गरी बिजुली उत्पादन लक्ष्य छ ।
आयोजना २०८५/८६ मा सक्ने लक्ष्य छ । यो आयोजना अन्तर्गत कुल भौतिक प्रगति २६.३८ प्रतिशत भइसकेको छ । वित्तीय प्रगति २४.१० प्रतिशत छ । ४९ अर्बमध्ये ११ अर्ब ९१ करोड रुपैयाँ भुक्तानी भइसकेको आयोजनाले जनाएको छ । यस वर्ष सरकारले यो आयोजनालाई ४ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिक्रिया 4