+

महांकाल, ह्याङले, हेटौंडा र थाहा प्रकाश दाहाल स्मृति भलिबलको सेमिफाइनलमा

२०८१ वैशाख  २४ गते १९:३९ २०८१ वैशाख २४ गते १९:३९
महांकाल, ह्याङले, हेटौंडा र थाहा प्रकाश दाहाल स्मृति भलिबलको सेमिफाइनलमा

२४ वैशाख, काठमाडौं । घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका पहिलो प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार सेमिफाइनल प्रवेशको क्रममा महांकालले बागमती गाउँपालिकालाई २५–२२, २९–२९ ले हराएको हो ।
महांकालले सेमिफाइनलमा थाहासँग खेल्ने छ । थाहाले माडी नगरपालिकालाई २५–१७,२५–२१ ले हराएको हो ।

हेटौंडाले खाँडादेवी गाउँपालिकालाई २५–१२, २५–१६ ले हराएको छ । अर्को क्वाटर फाइनल खेलमा ह्याङलेले गाकर्णेश्वर नगरपालिकालाई २५–२३, २९–२७ ले हरायो । हेटौंडा र ह्याङले सेमिफाइनलमा भिड्ने छन् ।

१६ टोलीको सहभागिता रहेको प्रतियोगिता मंगलबार सकिने छ । प्रधानमन्त्री दाहालका छोरा ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ ।

विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्राङ्गण तथा मानीखेलको भलिबल मैदानमा भइरहेको छ ।

प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको हो । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट शीर्ष दुई स्थान पाउने टोली अन्तिम आडमा प्रवेश गर्ने बोगटीले जानकारी दिए ।

आयोजक कमिटीको संयोजक डोल्मा माया गोलले प्रतियोगिताको सफलताले सो क्षेत्रमा भलिबलको विकासमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको छ ।

प्रतियोगिताको सुरुवात देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका हेटौंडा र थाहा अपराजित टोली हुन् । घरेलु टोली महांकाल भने पहिलो खेलमा हेटौडासँग पराजित हुनुको बाबजुद उत्कृष्ट कम ब्याक गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

प्रकाश दाहाल स्मृति भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय