+

बास्केटबलका स्टार मनिष

२०८१ वैशाख  २५ गते १९:२५ २०८१ वैशाख २५ गते १९:२५
बास्केटबलका स्टार मनिष

२५ वैशाख, काठमाडौं । गत साता चीनको युनान प्रान्तमा भएको थ्रीअनथ्री बास्केटबल प्रतियोगितामा नेपालले स्वर्ण पदक जित्दै इतिहास रचेको छ ।

नेपाली बास्केटबलको इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेको यो पहिलो पटक थियो । प्रतियोगितामा नेपाली टिमकै मनिष केसी सर्वोत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेअर) घोषित भए ।

स्वर्ण जित्ने टोलीको कप्तान विजय बुर्जा र सदस्यहरुमा मनिष केसी, निकेश मगर र निश्चल महर्जन थिए । बास्केटबलमा पहिलो पटक देशका लागि स्वर्ण पदक जित्दा मनिष एकदमै खुशी भए । ‘जितेपछि कतिखेर नेपाल पुग्यौँ जस्तो भएको थियो’, उनले भने ।

पदक जितेर आएपछि नेपाल बास्केटबल संघ, अरु खेलाडी र समर्थकबाट पनि टोलीले भव्य स्वागत पाए । ‘हामीले केही गरेछौँ जस्तो महसुस भयो’, मनिष भन्छन् ।

चीनको युनान प्रान्तमा भएको थ्रीअनथ्री बास्केटबलमा नेपालसहित ७ राष्ट्र र चीनको विभिन्न प्रान्त तथा विश्वविद्यालय गरी कूल ३९ टिमको सहभागिता थियो ।

चीनको टोलीहरु प्रान्तको भएपनि उनीहरुको स्तर नेपालको भन्दा माथिको रहेको मनिष बताउँछन् । तैपनि नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो ।

‘चीनमा प्रान्तको टिम भएपनि एकदमै बलिया थिए, खेलाडीहरु पनि शारीरिक रुपमा बलिया थिए । थ्रीअनथ्री फिजिकल गेम भएकाले सुरुमा हामीलाई केही समस्या भएको थियो । तर विस्तारै हामीले राम्रो खेल्दै गयौँ र सुधार हुँदै गयो’, मनिषले भने ।

फाइनलमा नेपालले गत वर्षको विजेता युनान प्रान्तको टिमलाई २०-१९ ले पराजित गरेको थियो । ‘फाइनल एकदमै प्रतिस्पर्धात्मक भयो । चीनकै टिम भएकाले त्यहाँको सबै दर्शकले उनीहरुलाई सपोर्ट गरेका थिए । तर हामीले एक अंकले हरायौं’, मनिषले भने ।

नेपालले समूह चरणमा पनि चीनको प्रान्तीय टोलीलाई पराजित गरेको थियो भने क्वार्टरफाइनलमा भियतनाम र सेमिफाइनलमा थाइल्याण्डलाई पराजित गरेको थियो । ‘भियतनामको टोलीमा हामीजस्तै युवा खेलाडी थिए । थाइल्याण्डको टोली पनि राम्रो थियो’, मनिषले भने ।

फाइनलबाहेक अन्य खेलमा भने नेपालले दर्शकहरुको राम्रो समर्थन पाएको थियो । फोटो खिचाउनेदेखि अटोग्राफ लिनेहरुको भिड देखेर मनिष चकित नै परेका थिए ।

थ्रीअनथ्रीमा सफलता

मनिषले नेपाली टोलीबाट फुल कोर्ट र थ्रीअनथ्री दुवै बास्केटबल प्रतियोगिता खेल्दै आएका छन् ।

सन् २०१८ मा बंगलादेशमा भएको साबा एसिया क्वालिफायरबाट फुलकोर्ट बास्केटबलमा डेब्यु गरेका मनिषले सफलता भने थ्रीअनथ्रीबाट पाएका छन् ।

सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा उनले थ्रीअनथ्री टोलीबाटै खेलेका थिए । त्यसबेला नेपाली टोलीले रजत पदक जितेको थियो ।

गत वर्ष माल्दिभ्समा भएको फाइभ नेसन्स प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरेको थियो । लिग चरणको खेलपछि नेपाल शीर्ष स्थानमा थियो तर सेमिफाइनल खेल पनि हुने भयो र नेपालले भुटानसँग खेल्नुपर्ने भयो । जसमा नेपाल बजर बिटर (अन्तिम सट प्रहार) मा पराजित हुँदै पदक नजिक पुगेर पनि बाहिरियो ।

त्यसअघिसम्म यो प्रतियोगितामा लिग चरणपछि नै विजेता घोषित गरिने चलन रहेपनि फाइभ नेसन्स प्रतियोगितामा भने नेपाल सेमिफाइनलबाटै बाहिरियो ।

त्यस प्रतियोगितामा भुटानी खेलाडीले मनिषकै हातबाट बल खोसेर लगेको थियो । त्यो घटनाले मनिषलाई केही खिन्नसमेत बनायो । ‘फुल कोर्टमा नेपालले खेलेको त्यो टिम अहिलेसम्मको बेस्ट सेट थियो । तर अभागी भयौँ’, उनले भने ।

मनिसलाई थ्रीअनथ्री बास्केटबल खेल्दा भने मज्जा लाग्छ । ‘यसमा स्किल र हार्डवर्क छ, विपक्षीलाई पनि टक्कर दिन सकिन्छ । हाम्रो सम्भावना पनि थ्रीअनथ्री मै छ । १० मिनेटको खेल हुन्छ जसले क्वीक खेल्यो उसैले जित्छ’, मनिषले भने ।

बास्केटबलको फुलकोर्ट खेलमा खेलाडीको उचाईले पनि धेरै असर गर्छ । ‘१० मिनेटको चार क्वार्टर खेल्नुपर्छ । त्यसैले खेलाडीहरु थाक्छन्’, उनले भने ।

उनले राम्रो लगानी सुविधा र प्रशिक्षणहरु भए नेपालले पनि राम्रो गर्न सक्छ भनेर प्रमाणित गरेको बताए ।

विजय बुर्जाले सिकाए, अहिले उनकै टिममेट 

मनिषले अहिले अन्तर्राष्ट्रिय खेल खेल्दा बिजय बुर्जा उनको टिममेटको रुपमा छन् । तर कुनै समय मनिषले उनै बिजयबाट बास्केटबल सिकेका थिए । त्यसैले विजय उनको लागि कोच, मेन्टर र टिममेट सबै बन्न पुगे ।

‘कक्षा ८-९ मा पढ्दा विजय दाइले बास्केटबल सिकाउनुहुन्थ्यो । दाइकै इन्स्पिरेसनमा मैले खेल्न थालेँ । उहाँले सिकाउनुभयो । उहाँसँगै क्लबमा पनि खेलियो । अहिले राष्ट्रिय टिममा सँगै खेल्दा एकदमै सजिलो हुन्छ’, उनले भने ।

काठमाडौँ जडिबुटीका मनिषले स्कुलमा पढ्दादेखि नै बास्केटबल खेल्ल थाले । त्यसपछि सीसीआरसी कलेजमा प्लस टु पढ्दा धेरै बास्केटबल प्रतियोगिता खेले । कक्षा ११ र १२ पढ्दा उनले करिब २० प्रतियोगिता खेलेको सुनाए ।

‘त्यसबेला एकदम धेरै बास्केटबल हुन्थ्यो । हामीले धेरै प्रतियोगिता जित्यौँ । कलेजले पनि एकदमै सपोर्ट र सहयोग गरेको थियो’, मनिष सम्झिन्छन् ।

प्लस टु सकिएपछि उनले साउथ साइडर्स क्लबबाट एक वर्ष खेले । साउथ साइडर्सपछि उनी हाउण्ड एकेडेमीमा गए । त्यही क्लबबाट उनले नेपाल बास्केटबल लिगको पहिलो संस्करण खेलेका थिए ।

हाउण्डबाट एक संस्करण खेलेपछि मनिषले टाइम्स क्लबबाट खेले । त्यहाँ उनले विजय बुर्जासँग एउटै टिमबाट खेलेका थिए । सन् २०१९ मा टाइम्स बास्केटबल क्लब बन्यो । विजय र मनिष दुबै टाइम्समा गए । राष्ट्रिय टिमका कप्तान सदिश प्रधान लगायत खेलाडी पनि आएपछि टाइम्स क्लब बलियो बन्यो । टाइम्सले नेपाल बास्केटबल लिगको दोस्रो संस्करण जितेको थियो ।

विजय बुर्जासँग लगातार खेल्दा धेरै सजिलो र फाइदा भएको मनिषले बताए । ‘उहाँ दाइजस्तो र कोच जस्तो पनि । राम्रोसँग गाइड पनि गर्नुहुन्छ । त्यही भएर चीनमा सँगै खेल्दा पनि सजिलो भयो । हाम्रो कम्बिनेसन पनि मिलेको थियो’, उनले भने ।

फुलकोर्टमा स्मल फरवार्डको भूमिकामा खेल्ने मनिष थ्रीअनथ्री मा भने बिग म्यानको भूमिकामा खेल्छन् । यद्यपि थ्रीअनथ्री क्वीक र फिजिकल खेल भएकाले सबै भूमिकाका लागि तयार हुनुपर्ने मनिष बताउँछन् ।

नेपाललाई फुलकोर्टमा स्वर्ण दिलाउने लक्ष्य

चीनमा थ्रीअनथ्रीको उपाधि जितेपछि अहिले मनिष बास्केटबललाई लिएर एकदमै सकारात्मक छन् । अहिले नेपाल बास्केटबल संघ (नेबा)ले पनि बास्केटबल विकासमा राम्रो गरिरहेको र खेलेर पनि केही गर्न सकिन्छ भन्ने लागेको उनले बताए ।

‘केही समयअघि नेपाल बास्केटबल लिग भयो । अहिले चीनमा जितेर आयौँ । खेलहरु भइरह्यो भने खेलाडीले पैसा पनि कमाउँछन्’, मनिष भन्छन् ।

मनिषले लिग खेल्दा धेरै सहयोग पाएको र पैसा कमाउने अवसर समेत भएको बताए । ‘अझ राम्रो लिगहरु भयो स्कुलहरुमा सिकाउन पाइयो भने राम्रो हुन्छ । नयाँ आउने खेलाडीहरु पनि आकर्षित हुन्छन्’, उनले भने । खेलहरु नहुँदा भने खेलाडीहरु बास्केटबलै टिकिरहन समस्या हुने उनको कथन छ ।

मनिषले विभिन्न स्कुलहरुमा बास्केटबल सिकाउँछन् । अब बास्केटबलमै करिअर बनाउने उनको सोच छ । उनको अबको लक्ष्य नेपालको लागि फुल कोर्टमा स्वर्ण जित्नु हो ।

‘फाइभ नेसन्समा मैले अन्तिम समयमा बल समातेको भए नेपालले जित्न सक्थ्यो भनेर धेरैले भने । त्यसबाट पनि म झन् मोटिभेट भएँ र नेपालको लागि जित्नुपर्छ भन्ने अटोठ लिएर अघि बढेँ’, मनिष भन्छन् ।

‘थ्रीअनथ्रीमा त हामीले जित्यौँ । अबको लक्ष्य फुल कोर्टमा गोल्ड मेडल जित्ने छ । त्यसैका लागि ट्रेनिङ गरिरहेका छौं । त्यही पोजिटिभिटीलाई कायम राख्दै खेल्छु’, उनले थपे ।

बास्केटबल मनिष केसी
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय