+

छनोट खेलबाट खेलाडी उत्साहित, तर महिला लिगको छैन टुंगो

२०८१ वैशाख  २७ गते १९:५५ २०८१ वैशाख २७ गते १९:५५
छनोट खेलबाट खेलाडी उत्साहित, तर महिला लिगको छैन टुंगो

२७ वैशाख, काठमाडौं । ७ देखि २० वैशाखसम्म सुर्खेतमा सञ्चालित महिला लिगको क्वालिफायर्स (छनोट खेल) बाट तीन टिम छनोट भएका छन् । निर्माणाधीन प्रादेशिक रंगशालामा भएको खेलमा कोशी प्रदेश अपराजित हुँदै च्याम्पियन बनेर महिला लिगमा छनोट भयो ।

त्यस्तै सुदूरपश्चिम दोस्रो र आयोजक कर्णाली तेस्रो हुँदै महिला लिगमा स्थान बनाए । कोशीले छनोट प्रतियोगितामा सञ्चालित ६ मध्ये ५ मा जित र एउटामा बराबरी खेल्दै १६ अंक जोडेर शीर्ष स्थानमा रह्यो भने दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले ५ खेलमा जित र एउटामा हार व्यहोरेर १५ अंक जोड्यो ।

घरेलु टिम कर्णालीले ६ मध्ये ४ वटामा जित र दुई वटामा हारसहित १२ अंक जोडेर तेस्रो हुँदै महिला लिगमा छनोट भयो ।

चौथो भएको मधेशको ३ जित, २ हार र १ बराबरीसहित १० अंक, गण्डकीले २ जितसहित ६ अंक, लुम्बिनीले एक जितबाट ३ अंक जोड्यो भने सबै ६ खेल हारेको बागमतीले कुनै अंक जोड्न सकेन ।

पहिलो पटक महिला लिगमा छनोट भएको कर्णालीले यसलाई ठूलो उपलब्धि मानेको छ । ‘हामी पहिलो पटक महिला लिगमा छनोट भएका छौं । कर्णाली प्रदेशका लागि यो महत्त्वपूर्ण र ऐतिहासिक क्षण हो’, प्रशिक्षक दिलिप बस्यालले भने ।

खेलाडी वर्षा वलीले सिनियर र जुनियर खेलाडीको राम्रो तालमेल मिलेका कारण लिगमा छनोट भएको बताइन् ।

महिला लिगमा क्वालिफायर्स खेलेर आएका ३, विभागीय ३ र एउटा विदेशी गरी सात टिम खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को योजना छ । यी टोलीबीच डबल राउन्ड रोबिनमा आधारित रहेर ३० खेल खेलाउने एन्फाले क्यालेन्डर बनाएको छ । क्यालेन्डरमा जेठ–असार महिनामा गर्ने भनिए पनि महिला लिग सञ्चालन हुने मिति र समय तोकिएको छैन ।

एन्फाका महासचिव किरण राईले छिट्टै बैठक बसेर महिला लिग सञ्चालन गर्ने स्थान र समय निर्धारण गर्ने बताए । ‘हामी छिट्टै बैठक बसेर महिला लिगको भेन्यू र मिति तय गर्छौं’, उनले भने ।

नेपालमा २०७८ चैतयता महिलाहरूको राष्ट्रिय लिग भएको छैन । त्यतिबेला लिगको पहिलो चरण सञ्चालन गरेर स्थगित भएको थियो । त्यसअघि २०७७ सालमा भएको महिला लिगमा नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ, विराटनगर महानगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका, झापाको चन्द्रपुर नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका गरी ७ टिम सहभागी भएका थिए । एक महिनासम्म सञ्चालित लिगमा कुल ४२ खेल भएका थिए । त्यसयता भने महिलाहरुको राष्ट्रिय लिग भएको छैन ।

छनोट खेलमार्फत नेपाली महिला फुटबलले केही उदीयमान खेलाडी पाएको छ । जसमा सर्वाधिक गोलकर्ता यशोदाकुमारी चिराल हुन् । सुदूरपश्चिम टिमकी उनले पहिलो पटककै सहभागितामा ७ गोल गरेर सर्वाधिक गोलकर्ता बनेकी हुन् ।

त्यस्तै कोशीकी समीक्षा मगर र पूर्णिमा राई, मधेशकी रजनी थोकर, कर्णालीकी वर्षा वली, सुनकला राई तथा गण्डकीकी संगीता विक र ममता पुनले पनि महिला फुटबलमा आफ्नो बलियो उपस्थिति देखाएका छन् ।

मैदानमा शौचालयको समस्या

सुर्खेतमा १० हजार दर्शक क्षमताको रंगशाला बन्दैछ । निर्माणाधीन रंगशालामा नै प्रतियोगिता गर्दा खेलाडीहरूले भने केही समस्या भोग्नुपर्‍यो ।

कर्णाली रंगशालामा महिला लिग सञ्चालन हुँदा न खेलाडीका लागि शौचालय थियो न ड्रेसिङ रुम नै । खेलाडी, अफिसियल र दर्शकहरूका लागि अस्थायी शौचालय बनाइएको थियो ।

खेलाडीहरूले शौचालय जाँदा पालो पर्खनुपथ्र्यो । खेल सञ्चालनका बेला लुम्बिनीकी एक खेलाडी शौचालयमा पालो कुरिरहेकी थिइन् । ‘आफूलाई गाह्रो भइसक्यो प्याड पनि फेर्नुपर्ने कतिन्जेल कुर्नुपर्ने हो’, उनले भनेकी थिइन् ।

ड्रेसिङ रुम नहुँदा खेलाडीले जर्सी फेर्न पनि उपयुक्त ठाउँ थिएन । सुदूरपश्चिम प्रदेशकी कप्तान अञ्जली चन्द भन्छिन्, ‘शौचालयको सबैभन्दा ठूलो समस्या थियो, फोहोर पनि उत्तिकै थियो । पिरियड (महिनावारी) हुँदा त झनै गाह्रो भएको थियो ।’

यसमा एन्फा महिला संघकी अध्यक्ष पेमा डोल्मा लामा कठिनाइका बाबजुद कर्णालीमा महिला लिग सञ्चालन गर्नु सकारात्मक पक्ष भएको बताउँछिन् ।

असार भित्रमा सक्ने योजनासहित बन्दै गरेको कर्णाली प्रादेशिक रंगशाला खेल आयोजना गर्न उपयुक्त नभएको एन्फा पदाधिकारीहरू नै बताउँछन् ।

मैदानको पिच भने सन्तोषजनक रहेको खेलाडीहरू बताउँछन् । ‘अरू ठाउँमा यत्तिको मैदान पनि हुँदैन । त्यो हेरी त मैदान निकै राम्रो थियो । तर धुलो भने अलि बढी थियो’, सुदूरपश्चिमकी कप्तान अञ्जलीले भनिन् ।

थिएनन् फिजियो

महिला लिगको छनोट खेल हुँदा मैदानमा स्वास्थ्यकर्मी तैनाथ थिए । तर कुनै टिमसँग फिजियो थिएनन् । घाइते भएका खेलाडीलाई स्वास्थ्यकर्मीले जाँच गर्थे, तर तिनको चोटको अवस्था हेरेर सही उपचार गर्न फिजियो थिएनन् ।

‘मैदानमा मेडिकल टिम त थियो तर उहाँहरूलाई मसल्स र खेलाडीको इन्जुरीको बारेमा थाहा हुँदैनथ्यो’, अञ्जलीले भनिन् ।

चोट लागेका खेलाडीले आफूले जानेको, बुझेको तथा प्रशिक्षक र सिनियर खेलाडीको मद्दतमा निको हुने प्रयास गरेका थिए । व्यवसायिक फिजियो नहुँदा हरेक टिमका खेलाडीले प्रतियोगिता अवधिभर पूर्ण फिट नभई खेल्नुपरेको थियो ।

महिला लिग
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय