+

२८ वर्षमै क्रिकेटबाट सरस्वतीको सन्न्यास

२०८१ जेठ  ३ गते १९:३३ २०८१ जेठ ३ गते १९:३३
२८ वर्षमै क्रिकेटबाट सरस्वतीको सन्न्यास

३ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशकी कप्तान सरस्वती जीएमले २८ वर्षको उमेरमा क्रिकेट करिअरबाट सन्न्यास लिएकी छिन् ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टी–२० प्रतियोगिता अन्तर्गत ललितपुर–११ बाट कोशी प्रदेशविरुद्ध खेलेपछि उनले सन्न्यास घोषणा गरेकी हुन् ।

ललितपुर मेयर्स–११ बाट खेलेकी उनलाई टोलीका अन्य खेलाडीले गार्ड अफ अनर दिएका थिए । पूजा महतो र सरस्वती चौधरीले उनलाई उचालेर बाहिर ल्याएका थिए । कोशीका खेलाडीले बाउण्ड्री बाहिरबाट तालीले सम्मान गरे ।

‘यो निर्णय मैले पहिला नै लिइसकेको थिएँ । तर अन्तिममा आउँदा एकदमै गाह्रो हुने रहेछ । एकछिन मलाई सपना जस्तो लाग्यो, सन्न्यासबारे सरस्वतीले भनिन् ।

आफ्नो करिअरको अन्तिम खेलमा सरस्वती कोशीविरुद्ध एक बल पनि नखेली रन आउट भएकी थिइन् ।

दाङकी उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्ने गर्थिन् । नेपालको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा स्थान बनाउन सकिनन् । लगातार प्रशिक्षणबाट बाहिरिएपछि उनले आफू राष्ट्रिय टिममा जाने लक्ष्यमा पुग्न नसकेको बताइन् ।

‘मेरो परिवारको लागि सन्न्यास लिनुपर्ने थियो । म घरको सिनियर हुँदा जिम्मेवारी छ । अहिलेसम्म परिवारले एकदमै साथ दिनुभएको थियो । तर मैले अब परिवारको बारेमा सोच्नुपर्ने बाध्यता नै छ’, उनले भनिन् ।

सरस्वतीले थपिन्, ‘मैले जति पनि खेलेँ, माथिल्लो स्तरमा उपलब्धी हात पार्न सकिन । अब मैले घरमा आग्रह गर्न पनि एकदमै गाह्रो भयो ।’

लुम्बिनीकी कप्तान उनले गत डिसेम्बरमा प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशविरुद्ध ६२ रनको योगदान गरेकी थिइन् । त्यसअघि लुम्बिनी प्रदेश स्तरीय छनोट खेल दाङले जित्दा उनी टोलीको कप्तान थिइन् ।

सन् २०२१ मा उनले लुम्बिनीबाट कोशी प्रदेशविरुद्ध ५० रनको अर्धशतकीय इनिङ खेलेकी थिइन् । उनका अनुसार कोशीविरुद्धको अर्धशतक करिअरको सबैभन्दा उत्कृष्ट क्षण थियो ।

उनी पुनः क्रिकेटमा देखिने सम्भावना छ । तर त्यो खेलाडी नभएर फरक भूमिकामा हुनेछ । तत्कालका लागि भने आफूले एउटा व्यवसाय सुरु गर्न लागेको सरस्वतीले बताइन् ।

‘नेपालबाट खेल्न नपाउँदा एकदमै दुःख लाग्छ । ग्रास रुटबाट खेल्दादेखिनै नेपालबाट खेल्ने एउटा सपना थियो । त्यो मैले पूरा गर्न सकिन । पछि फर्केर हेर्दा नेपालबाट खेल्न सकिन भनेर मलाई एकदमै पछुतो हुनेछ’, उनले भनिन् ।

अब नेपाली टोलीमा आउन खोजेका युवा खेलाडीलाई एउटा भिजन बनाएर खेल्न उनी सुझाव दिन्छिन् । ‘मैले एउटा भिजन बनाएपनि त्यसमा सफल हुन सकिन । बहिनीहरुलाई भिजनबाट नेपाली टोलीभित्र छिर्न सक्छौ वा सक्दैनौ त्यसमा एउटा प्लानिङ गर्न आग्रह गर्दछु’, सरस्वतीले भनिन् ।

सन् २०१४ मा त्रिवि क्रिकेट मैदानमा भएको यू–१९ राष्ट्रिय क्रिकेट महिला प्रतियोगिताबाट उनको यात्रा सुरु भएको थियो । स्कुल पढ्दा देवेन्द्रसिंह ठकुरीको प्रशिक्षणबाट सुरु गरेकी उनले पछि सञ्जु क्षेत्रीसँग पनि सिकिन् । २०६८ मा भएको छैटौं राष्ट्रिय प्रतियोगिताबाट ठूला प्रतियोगिता खेल्न सुरु गरेकी थिइन् ।

उनले काठमाडौंमा यस प्रतियोगिता खेल्न आउनुअघि सन्न्यासको कुरा प्रशिक्षकहरुलाई सुनाएकी थिइन् । तर उनीहरुले मानेका थिएनन् । नेपाली महिला टोलीको बन्द प्रशिक्षणमा २०१९ मा उनी पहिलो पटक परेकी थिइन् ।

प्रशिक्षक सञ्जु क्षेत्री उनको सन्न्यासमा आश्चर्य मान्छन् । आफूले अर्को वर्ष दशौं राष्ट्रिय प्रतियोगितासम्म खेल्न सुझाव दिएको बताउँछन् ।

‘मैले सरस्वती, लक्ष्मी चौधरी र शर्मिला मगरलाई दशौं (राष्ट्रिय खेलकुद) पछि सन्यास लिन सुझाव दिएको थिएँ । छैटौं राष्ट्रिय प्रतियोगितादेखि लगातार खेल्दै आएकी छिन् । खेलाडी र नेतृत्व पनि राम्रो भएको खेलाडी थिइन्’, सञ्जुले भने ।

क्रिकेट सरस्वती जीएम
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय