+

कर्णाली हाफ म्याराथन शनिबार वीरेन्द्रनगरमा हुँदै

२०८१ वैशाख  २८ गते १२:०८ २०८१ वैशाख २८ गते १२:०८
कर्णाली हाफ म्याराथन शनिबार वीरेन्द्रनगरमा हुँदै

२८ वैशाख, सुर्खेत । प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार हुने भएको छ ।

त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

‘अब दौडने छ कर्णाली’ भन्ने मूल नारासहित हुन लागेको प्रतियोगितामा देशभरबाट करिब ९०० खेलाडी सहभागी हुने बताइएको छ ।

हाफ म्याराथनमा सहभागी हुन राष्ट्रिय रूपमा स्थापित धावकहरूले समेत नाम दर्ता गराइरहेको आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन सुरु गरिएको हो ।

कर्णाली हाफ म्याराथन क्रमिक रूपमा प्रत्येक वर्ष सञ्चालन गरिने र यसले समग्र प्रदेशको पर्यटन र खेल क्षेत्रको विकासलाई टेवा पुर्‍याउने कर्णाली हाफ म्याराथनका स्थानीय आयोजक देवकुमार सुवेदीले बताए । ‘खेल र पर्यटनका माध्यमबाट कर्णालीलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सकिन्छ । त्यसैले अब म्याराथन प्रत्येक वर्ष आयोजना हुने छ,’ आयोजक सुवेदीले भने ।

कर्णाली म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा अघि बढाउने र विश्व म्याराथनको छातामुनि लैजाने उनको भनाइ छ । म्याराथनमा २१.०९७५ किलोमिटर पुरुष तथा महिला खुला, ४५ वर्षमाथि उमेर समूह, ५ किलोमिटर स्कुलस्तरीय छात्र एवम् छात्रातर्फ दौड र ५ किलोमिटर कर्पोरेट रन समावेश गरिएको छ ।

हाफ म्याराथनमा ७२ जना, ५ किलोमिटर छात्रा एवं छात्रातर्फ ७५९ जना र कर्पोरेटतर्फ ३९ जनाले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ । साथै हाफ म्याराथनमा उत्कृष्ट समय दिने एक जना धावकलाई वल्र्ड एथलेटिक्सबाट लेबल प्राप्त म्याराथनमा सहभागी गराइने छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा अन्य स्थानीय पालिका एवं निजी क्षेत्रको सहयोगमा हाफ म्याराथनको आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता बिहान ७ बजे वीरेन्द्रनगर–६, मा रहेको घण्टाघरबाट सुरु हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार रुपैयाँ पुरस्कार दिइने छ ।

कर्णाली हाफ म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय