+

लेभरकुजनले जित्यो जर्मन कपको उपाधि

२०८१ जेठ  १३ गते ७:१८ २०८१ जेठ १३ गते ७:१८
लेभरकुजनले जित्यो जर्मन कपको उपाधि

१३ जेठ, काठमाडौं । ग्राइन्ट जाकाको एक मात्र गोल मद्दमा काइजरस्लाटनलाई १-० ले पराजित गर्दै बायर लेभरकुजनले जर्मन कपको उपाधि जितेको छ ।

बर्लिनस्थित ओलम्पिया स्टाडियनमा शनिबार राति भएको खेलमा लेभरुकजनका लागि जाकाले १६औं मिनेटमा गोल गरेका थिए । त्यही गोल च्याम्पियन बन्न निर्णायक बन्यो ।

४४औँ मिनेटमा डिफेन्डर ओडिलोन कोसोनोउ रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेभरकुजन १० खेलाडीमा समेटिएको थियो । दोस्रो हाफ पूरा एक खेलाडी कम रहेर खेलेपनि लेभरकुजनले विपक्षीलाई गोल गर्न दिएन ।

लेभरकुजनले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग  र कप दुवै उपाधि जितेको हो । लेभरकुजनले दोस्रो पटक जर्मन कपको उपाधि जितेको हो । यसअघि लेभरकुजनले सन् १९९३ मा जर्मन कप जितेको थियो ।

यस सिजन लेभरकुजनले अपराजित रहँदै जर्मन बुण्डेसलिगाको उपाधि जित्ने कीर्तिमान बनाएको थियो । यस्तै लगातार ५१ खेलमा अपराजित रहँदै अर्को कीर्तिमान पनि बनाएको थियो ।

तर युराप लिगको फाइनलमा भने एटलान्टासँग ३-० ले पराजित हुँदै उपविजेता बनेको थियो ।

जर्मन कप लेभरकुजन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय