+

सप्तरी प्रिमियर लिगको उपाधि तिरहुत टाइगर्सलाई

२०८१ जेठ  २८ गते १८:०९ २०८१ जेठ २८ गते १८:०९
सप्तरी प्रिमियर लिगको उपाधि तिरहुत टाइगर्सलाई

२८ जेठ, काठमाडौं । सप्तरीमा सञ्चालित छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि तिरहुत टाइगर्सले जितेको छ।

राजविराजस्थित पब्लिक विन्देश्वरी मैदानमा सोमबार भएको फाइनलमा तिरहुत टाइगर्सले छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्‍यो ।

९२ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्स १४ ओभरमा ६० रन बनाउँदा अलआउट भयो । छिन्नमस्ताका लागि विशाल पटेलले सर्वाधिक १४, मयन यादवले १३ र फिर्दोस अन्सारीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । भीम सार्कीसहित छिन्नमस्ताका ४ जना ब्याटरले खाता समेत खोल्न सकेनन् ।

तिरहुतका देब्रे हाते स्पिनर दिपेश कंडेलले ४ ओभरमा २५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । प्लेयर अफ द म्याच कप्तान अनिल यादवले ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिए । बसिर अहमदले २ तथा अभिषेक कार्कीले १ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको तिरहुत टाइगर्सले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो । तिरहुतका लागि भोलाकुमार साहले सर्वाधिक २९ रन योगदान दिए । बसिर अहमदले १८ तथा रुपेश सिंहले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

छिन्नमस्ताको बलिङमा विशाल पटेल, फिर्दोस अन्सारी, गुणानन्द रोय र सुमित नेवारले समान २ विकेट लिए । उपाधिसहित तिरहुत टाइगर्सले ३ लाख रुपैयाँ हात पार्‍यो । उपविजेता छिन्नमस्ता लायन्सले १ लाख ५० हजार रुपैयाँ पायो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी तिरहुत टाइगर्सका बसिर अहमद घोषित भए जसले ६ खेलमा १९८ रन बनाउनुको साथै १० विकेट पनि लिए । यस्तै उत्कृष्ट बलर छिन्नमस्ता लायन्सका विशाल पटेल घोषित भए जसले ७ खेलमा १५ विकेट लिए ।

उत्कृष्ट ब्याटर कञ्चनरुप राइनोजका शुभ कंसाकार घोषित भए जसले ७ खेलमा २९७ रन बनाए । यस्तै उदीयमान खेलाडी छिन्नमस्ता लायन्सका मोहम्मद सोहेल खान घोषित भए जसले ७ खेलमा १२ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच तिरहुत टाइगर्सका कप्तान अनिल कुमार यादव घोषित भए । प्रतियोगिताको उत्कृस्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृष्ट बलर र ब्याटरले जनही १५ हजार रुपैयाँ तथा उदीयमान खेलाडीले क्रिकेट किट प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंह, राजविराज नगरपलिकाका प्रवक्ता जयनारायण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यान्द चौधरी, तिरुहट गाउँपालिकाका अध्यक्ष विजय यादव, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य दुर्गाराज पाठक र सप्तरी क्रिकेट संघ अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य आयुष श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

सप्तरी क्रिकेट संघको आयोजनामा एघार दिन चलेको प्रतियोगितामा सप्तरी जिल्लाका ६ वटा स्थानीय तहका टिमहरु सहभागी रहेका थिए ।

सप्तरी सप्तरी प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय