१ असोज, काठमाडौं । पृथ्वीलाई सूर्यको हानिकारक किरणबाट बचाउन मद्दत गर्ने ओजोन तहमा सुधार भइरहेको वैज्ञानिकहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले एक नयाँ अध्ययनबाट यो तथ्य सार्वजनिक गरेको हो ।
ओजोन तह एक यस्तो रक्षा कवच हो जसले सूर्यबाट निस्किने हानिकारक अल्ट्राभायलेट रे (पराबैजनी किरण)बाट पृथ्वीको जीवन सुरक्षित राख्न मद्दत गर्दछ ।
विगतमा गरिएको अध्ययनमा फ्लोरिन, क्लोरिन, ब्रोमिन र आयोडिनको अत्यधिक प्रयोग तथा क्लोरोफ्लोरोकार्बनको अत्यधिक उत्सर्जनले ओजोन तहमा क्षति पुगिरहेको निष्कर्ष निकालिएको थियो ।
एयरोसोल्स, फ्रिज, एसी जस्ता उपकरणको अत्यधिक प्रयोगबाट पनि ओजोन तहमा क्षति पुग्छ । यदि ओजोन तह फाटेर सूर्यको हानिकारक किरण पृथ्वीमा आएमा त्यसले जीवन समाप्त पार्ने भनेर चिन्ता व्यक्त हुँदै आएको थियो ।
विश्व मौसम विज्ञान संगठनले विश्व ओजोन दिवसको अवसर पारेर सार्वजनिक गरेको एक बुलेटिनमा विगतमा पातलिँदै गएको भनिएको ओजोन तह अहिले बाक्लिँदै गएको उल्लेख छ । डब्ल्यूएमओले भनेको छ– ओजोन तहको सुधार १९८० को अवस्थासम्म पुग्न सक्छ ।
बुलेटिनमा लेखिएअनुसार अन्टार्कटिका क्षेत्रमा पनि सुधार देखिएको छ । तर अन्टार्कटिका क्षेत्रमा ओजोन तह पूर्ण सुधार हुन सन् २०४५ सम्म र अन्य क्षेत्रमा २०४० सम्मको समय लाग्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
अन्टार्कटिका क्षेत्रमा पर्ने ओजोन तहमा आएको सकारात्मक सुधार टिकाउ हुनेमा भने आशंका व्यक्त गरिएको छ । किनभने वातावरणमा हुने कुनै पनि गतिविधिले त्यसलाई नकारात्मक प्रभाव पार्नसक्ने चिन्ता छ । त्यसैले डब्ल्यूएमओले भनेको छ, ‘ओजोन तहमा देखिएको सुधारको कारणलाई पूर्णरुपमा बुझ्न बाँकी छ र यसको निरन्तर निगरानी जरुरी छ ।’
संयुक्त राष्ट्रसंघका महासचिवले भने– सुखद
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ओजोन तहमा सुधार हुनु सुखद भएको बताएका छन् । उनले एक सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘ओजोन तह बिरामी थियो, अब यो सुधारको बाटोमा छ ।’
यसको रक्षाका लागि अपनाउनुपर्ने उपायलाई जारी राख्न पनि उनले जोड दिएका छन् ।
उनले मोन्ट्रियल प्रोटोकल र त्यसमा भएको संशोधन ‘किगाली सम्झौता’ कार्यान्वयन तथा तापक्रम वृद्धिमा जिम्मेवार ग्याँस हाइड्रोफ्लोरो कार्बन (एचएफसी) को प्रयोग चरणबद्ध रुपमा हटाउनुपर्ने उनको भनाइ छ । त्यसो गरेमा मात्र आम नागरिक र पृथ्वीको रक्षा गर्न सकिने महासचिव गुटेरेसको भनाइ छ ।
‘अहिले तापक्रमले रेकर्ड तोडिरहेको छ । त्यसलाई रोक्न अधिकतम पहल आवश्यक छ,’ गुटेरेसले भनेका छन् ।
🌋 What role did meteorological conditions and a volcanic eruption play in the 2023 Antarctic ozone hole?
📊 This bulletin highlights growing evidence that the ozone layer is on track for long-term recovery.
🌐 #WorldOzoneDay: https://t.co/gB1XCv9tAh pic.twitter.com/swaoyEKIAQ
— World Meteorological Organization (@WMO) September 16, 2024
ओजोनको रक्षाका लागि जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष विश्व ओजोन दिवस मनाउने गरिन्छ । दिवस मनाउने क्रममा मोन्ट्रियल प्रोटोकल र त्यसमा भएको संशोधन ‘किगाली सम्झौता’ कार्यान्वयनका लागि जोड दिने गरिन्छ ।
मोन्ट्रियल प्रोटोकल र किगाली सम्झौता के हो ?
ओजोन तह संरक्षणका लागि चाल्नुपर्ने कदमका विषयमा क्यानडाको मोन्ट्रियल शहरमा एक अन्तर्राष्ट्रिय सन्धि भएको थियो । सन् १९८७ सेप्टेम्बर १६ मा मोन्ट्रियल शहरमा आयोजित सम्मेलनमा २४ देशले सम्झौतामा हस्ताक्षर गरेका थिए । मोन्ट्रियल प्रोटोकललाई हाल १९६ देशले मान्यता दिइसकेका छन् ।
मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन भने सन् १९८९ जनवरी १ देखि सुरु भएको थियो । मोन्ट्रियल प्रोटोकलमा हालसम्म आठ पटक संशोधन गरिएको छ । आठौं संशोधन रुवान्डाको राजधानी किगाली शहरमा सन् २०१९ मा भएको थियो ।
वैज्ञानिकहरु यदि यो अन्तर्राष्ट्रिय सन्धि सम्झौता पूर्णरुपमा पालना हुने हो भने सन् २०५० सम्ममा ओजोन तह भरिने विश्वास गर्छन् ।
ओजोन तह रक्षाका लागि महत्वपूर्ण मानिने यो सन्धि सम्झौता मोन्ट्रियल प्रोटोकल र किगाली सम्झौताको रुपमा परिचित छ ।
संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानले यो सन्धिलाई हालसम्म भएका अन्तर्राष्ट्रिय सम्झौताहरुमध्ये सबैभन्दा महत्वपूर्ण भनेका थिए ।
प्रतिक्रिया 4