
११ पुस, काठमाडौं। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएकी छिन् ।
आइतबार नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष पौडेलले दुई पटक विघटन भएको प्रतिनिधिसभा अहिले पनि अवरुद्धको अवस्थामा रहेको भन्दै प्रतिगमनको खतरालाई सानो ठान्नु नहुने बताइन् ।
उनले विगतमा प्रतिगमनका विरुद्धमा लडेका राजनीतिक दलहरु एक हुनुपर्ने आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गरिन् । उनले प्रतिगमन विरोधी शक्तिहरु एकजुट भएर अगाडि जान नसकेमा देश फेरि प्रतिगमनतर्फ जाने र राजनीतिक दलहरुको भूल हुने बताइन् । प्राप्त भएको राजनीतिक उपलब्धीलाई संरक्षण गर्नु दायित्व भएको उनको भनाइ छ ।
उनले राष्ट्रियताको सम्बन्धमा सबै राजनीतिक दलहरु एक भएर जानुपर्ने बताइन्। उपाध्यक्ष पौडेलले माओवादी केन्द्रले गठबन्धन कायम राख्ने सम्बन्धमा पनि महाधिवेशनबाट निर्णय लिनुपर्ने बताइन् । उनले महाधिवेशनले एमसीसीलाई खारेज गर्न महाधिवेशनले निर्णय लिने पनि विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया 4