
२६ वैशाख, काठमाडौं । विभिन्न मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको हिमालयन डिस्टिलरी कुनै समय सेयर बजारमा मूल्यवान कम्पनीका रूपमा चिनिन्थ्यो ।
१३ फागुन २०७७ मा यो कम्पनीको मूल्य प्रतिकित्ता ४ हजार २ सय ५० रुपैयाँ पुगेको थियो । त्यतिबेला मूल्य त्यसै बढेको थिएन, कम्पनीको वित्तीय स्थिति मजबुत थियो, बलियो वित्तीय स्थितिका कारण मूल्य स्वाभाविक मानिन्थ्यो ।
तीन वर्षअघि वार्षिक १ अर्बभन्दा बढी नाफा कमाउने गरेको कम्पनी अहिले एक चौथाइ नाफामा खुम्चिन थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १ अर्ब ५ करोड खुद नाफा कमाएको थियो । त्यतिबेला वार्षिक प्रतिसेयर आम्दानी ६९ रुपैयाँ थियो । त्यसयता नाफा घट्दै आएको छ ।
२०७९/८० मा कम्पनीले ६६ करोड १ लाख मात्रै खुद नाफा कमाएको थियो भने चालु आव २०८०/८१ को तीन महिना बाँकी रहँदा तेस्रो त्रैमाससम्म २१ करोड ४ लाख मात्रै नाफा कमाएको छ । अहिले वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसामा झरेको छ । कम्पनीको बिक्रीबापत आम्दानी नै उच्च दरले घट्दा नाफा घटेको हो । गोल्डेन ओक, सिल्भर ओक, हिमालयन ऐला, ब्लु ओक, ब्ल्याक ओकलगायत मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
बजारमा यी मदिराको माग तथा खपत घटेपछि कम्पनीको बिक्री आम्दानी घटेको हो । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनमै कम्पनीले यही कुरा प्रष्ट्याएको छ । ‘मागका साथै खपतमा गिरावट आउँदा मदिरा व्यवसाय त्यसबाट अछुतो रहन सकेको छैन,’ कम्पनीले आफ्नो वित्तीय प्रतिवेदनमा उल्लेख गरेको छ, ‘माग तथा खपतमा आएको गिरावटका साथै मदिरा बजारमा बढेको प्रतिस्पर्धा लगायत कारण समग्र व्यापार, व्यवसायमा संकुचन आउँदा मदिरा व्यवसाय पनि प्रभावित भएको छ ।’
गत वर्ष तेस्रो त्रैमासिक अवधिको तुलनामा यस वर्ष बिक्री घट्न जाँदा नाफामा पनि ६४ प्रतिशतले गिरावट आएको कम्पनीको भनाइ छ । कम्पनीको बिक्री आम्दानी केही वर्षदेखि नै घट्दै आएको तथ्यांकले नै देखाउँछ । २०७८/७९ मा कम्पनीले ७ अर्ब ५८ करोड र २०७९/८० मा ६ अर्ब ३८ करोडको उत्पादन बिक्री गरेको थियो । चालु आव २०८०/८१ तीन महिना बाँकी रहँदा तेस्रो त्रैमाससम्म २ अर्ब ७४ करोडको मदिरा बिक्री गरेको छ, जुन समीक्षा अवधिको तुलनामा पनि १ अर्ब ७९ करोडले कम हो ।
नाफासँगै घट्दो लाभांश
हिमालयन डिस्टिलरीको नाफासँगै विगतमा लाभांश इतिहास पनि उत्कृष्ट रहँदै आएको थियो । पछिल्ला वर्ष नाफामा आएको कमीसँगै लाभांश दर पनि घट्दै गएको हो । २०७६/७७ को नाफाबाट कम्पनीले सेयरधनीलाई ५० प्रतिशत नगद र ५० प्रतिशत बोनस सेयर बोनस गरी कुल १ सय प्रतिशत लाभांश दिएको थियो ।
त्यस्तै २०७७/७८ को नाफाबाट २५ प्रतिशत नगद र ७५ प्रतिशत बोनस सेयरसहित १ सय प्रतिशत नै लाभांश दिएको थियो । २०७८/७९ को नाफाबाट १० प्रतिशत नगद र ६० प्रतिशत बोनससहित कुल ७० प्रतिशत लाभांश दिएकोमा २०७९/८० को नाफाबाट १५ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी २५ प्रतिशत मात्रै लाभांश दिन सक्यो ।
सेयर मूल्य निरन्तर ओरालो
तीन वर्ष अघिसम्म बजारका उत्कृष्ट कम्पनीमध्ये ‘टप फाइभ’ भित्र हिमालयन डिस्टिलरी पनि पर्दथ्यो । उच्च प्रतिसेयर आम्दानी र राम्रो लाभांश वितरणका कारण यो कम्पनी लगानीकर्ताको आकर्षणमा थियो ।
तर, पछिल्लो समय मदिरा बिक्री तथा खपत घटेसँगै कम्पनीको वित्तीय सूचक कमजोर बन्दै गएका छन् । यसले कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । उत्पादन तथा प्रशोधन समूहमा यो कम्पनी पर्छ । बोनसपछि समायोजित सेयर भाउ अहिले तीन वर्षयताकै न्यून छ । समग्र उत्पादन तथा प्रशोधन समूह बढ्दो प्रवृत्तिमा रहँदा पनि हिमालयन डिस्टिलरी भने निरन्तर घटिरहेको छ ।
मंगलबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ३ सय ३५ रुपैयाँमा झरेको छ । यो मूल्य २०७८ वैशाख १३ यताकै न्यून हो । २०७९ पुस २१ मा कम्पनीको मूल्य २ हजार ७ सय नाघेको थियो । त्यसयता कम्पनीको मूल्य पनि ‘बियरिस ट्रेन्ड’ मा देखिन्छ ।
तर, यो कम्पनी सूचीकृत उत्पादन तथा प्रशोधन समूहको सूचक २०७९ पुस २१ मा ५६ सय अंक रहेकोमा अहिले ६३ सय ३६ अंकमा छ । समग्र समूहको सूचक बढ्दा पनि कम्पनीको मूल्यमा उच्च गिरावट देखिनुमा घट्दो बिक्री आम्दानी नै प्रमुख कारण हो ।
प्रतिक्रिया 4