पुष्प दुलाल
५ भदौ पोखरा । कास्कीमा प्रधान कार्यालय रहेका ११ वटा बैंक तथा वित्तीय संस्थाले आर्थिकक वर्ष २०७०/०७१ मा ९१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो उनीहरुको चुक्ता पुँजीको २८.१६ प्रतिशत हो ।
पोखरामा प्रधान कार्यालय राखेर वित्तीय कारोबार गर्दै आएका सात विकास बैंक र चार फाइनान्स कम्पनीको कुल चुक्ता पुँजी ३ अर्ब २२ करोड ४२ लाख १९ हजार रुपैयाँ छ ।
चुक्ता पुँजीका आधारमा गरिमा विकास बैंक पहिलो नम्बरमा छ भने पोखरा फाइनान्स ११औँ स्थानमा छ । गत असार मसान्तसम्ममा गरिमाले ३७ करोड ४० लाख रुपैयाँ चुक्ता गरिसकेको छ भने पोखराल ८ करोड ४१ ल्ााख रुपैयाँ चुक्ता गरेको छ ।
नाफाका आधारमा मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा छ भने मेट्रो डेभलपमेन्ट बैंक अन्तिम स्थानमा छ । गत वर्ष मुक्तिनाथको खुद नाफा १५ करोड २० लाख र मेट्रो खुद नाफा ३ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी गरिमा विकास बैंकले १० करोड २६ लाख, सिटी डेभलपमेन्ट बैंकले ९ करोड ८१ लाख, फेवा फाइनान्सले ९ करोड ३३ लाख, ओम फाइनान्सले ९ करोड १ लाख रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै गण्डकी विकास बैंकको ७ करोड ९१ लाख, विश्व विकास बैंकको ७ करोड ८७ लाख, कामना विकास बैंकको ६ करोड ३८ लाख, पोखरा फाइनान्सको ६ करोड १७ लाख, कास्की फाइनानसको ५ करोड ३९ लाख रुपैयाँ नाफा छ ।
बैंक | खुद नाफा (०००)मा |
---|---|
मुक्तिनाथ विकास बैंक | १५२००० |
गरिमा विकास बैंक | १०२६२७ |
सिटी डेभलपमेन्ट बैंक | ९८१०० |
फेवा फाइनान्स | ९३३२१ |
ओम फाइनान्स | ९०१०९ |
गण्डकी विकास बैंक | ७९१०६ |
विश्व विकास बैंक | ७८७३७ |
कामना विकास बैंक | ६३८२८ |
पोखरा फाइनान्स | ६१७७७ |
कास्की फाइनान्स | ५३९५८ |
मेट्रो डेभलपमेन्ट बैंक | ३४६४८ |
जम्मा | ९०८२११ |
११ वटै संस्थाहरुले गत वर्ष ३३ अर्ब ४९ करोड ४७ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब १६ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उनीहरुको कुल खुद व्याज आम्दानी १ अर्ब ८५ करोड १३ लाख रुपैयाँ रहेको छ । संस्थाहरुको नाफाको मुख्य आधार नै व्याज आम्दानी भएको देखिन्छ ।
निक्षेप संकलन र कर्जा प्रवाहका आधारमा पनि मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा छ । मुक्तिनाथले गत वर्ष ५ अर्ब १९ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ४४ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
निक्षेप संकलन र कर्जा प्रवाहका आधारमा ओम फाइनान्स दोस्रो स्थानमा छ । ओमले ४ अर्ब ५० करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
निक्षेप संकलन र कर्जा विस्तारका आधारमा मेट्रो डेभलपमेन्ट बैंक ११ औँ स्थानमा छ । मेट्रोले १ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३१ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
काठमाडौं उपत्यकापछि बैंक वित्तीय संस्थाको धेरै उपस्थिति भएको सहर पोखरा हो । संस्थाहरुको बाक्लो उपस्थितिले वित्तीय पहुँच विस्तारमा उल्लेख्य भूमिका खेले पनि संस्थाहरुबीच हुने तीव्र प्रतिस्पर्धा चुनौति बन्दै गएको ओम फाइनान्सका महाप्रवन्धक बुद्धि मल्लले जानकारी दिए ।
प्रतिक्रिया 4