विश्वेश्वरप्रसाद कोइराला, नेपाली राजनीतिसँगै साहित्यमा पनि चर्चित नाम हो । उनले लेखेका थुप्रै कृतीहरु नेपालमा मात्र होइन, विश्वकै पाठकमाझ चर्चित छन् ।
उनै कोइरालाले लेखेको चर्चित कृती ‘तीन घुम्ती’मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ । विभिन्न चर्चित साहित्यकारहरुको कृतीमाथि सिनेमा बन्ने क्रममा ‘तीन घुम्ती’लाई पनि पर्दामा उतार्न लागिएको हो ।
जसका लागि प्रधानमन्त्री संरक्षक रहेको ‘बीपी कोइराला स्मृत्ती ट्रस्ट’सँग यसको निर्माणपक्षले अनुमती लिइसकेको छ । यस्तै, सिनेमा निर्माणका लागि चलचित्र विकास बोर्डबाट पनि पत्र प्राप्त गरिसकेको निर्माणपक्षले जनाएको छ ।
तिहारपछि छायांकन हुन लागेको सिनेमालाई बाबुराम ढकालले निर्देशन गर्दैछन् । यसअघि ‘दुलही’, ‘पर्खिराख है’, ‘नाइन ओ क्लक’ जस्ता सिनेमा निर्देशन गरिसकेका ढकालले केही सफल टेलिश्रृङ्खला पनि बनाएका छन् । बाबुराम ‘तीन घुम्ती’लाई आफ्नो चुनौती र सपनाको सिनेमा भन्छन् ।
कर्मा प्रोडक्शनको ब्यानरमा तयार हुन लागेको चलचित्रमा सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरी बरालको गीत रहनेछ ।
अहिले पटकथा तथा संवाद लेखन र संगीतको काम अगाडि बढिसकेको छ । कलाकारको पक्कापक्की केही समयपछि गरिनेछ ।
प्रतिक्रिया 4