३१ भदौ, काठमाडौं । गोलमेच सम्मेलनमा भाग लिने कि नलिने भन्नेबारे वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा विवाद देखिएको छ । अधिकांश सानादलहरुले सर्वपक्षीय राजनीतिक सम्मेलन बहिस्कार गर्न नहुने बताउँदा बताउँदै केही दलहरुले सहभागी नहुने निर्णय गराउन सफल भए ।
कांग्रेस र एमालेले वैद्य माओवादीसमेत मिलाएर चार दलीय सिन्टीकेट बनाउन खोजेको थियो, त्यहाँ जाँदा वैद्यजीहरुलाई फाइदै थियो-कुमार लिङदेन
बुद्धनगरस्थित वैद्य माओवादीको कार्यालयमा पुग्दा मंगलबार बिहान मोर्चाका केही नेताहरु रिसाइरहेका भेटिए । मोर्चाका एक नेताले भने- ‘सम्मेलनमा भाग लिएको भए के बिग्रन्थ्यो ? तर, विप्लवहरुसँगको अन्तरविरोधले गर्दा यिनीहरुले बहिस्कार गर्ने निर्णय गरेका हुन् । माओवादीभित्रैको लफडाले यो सब भएको हो ।’
संघीय लिम्बुवान पार्टी नेपालका भीम नेम्वाङले सम्मेलनमा सहभागी भएर आफ्ना एजेन्डा राखेको भए राम्रो हुने बताए । ३३ दलीय मोर्चाको बैठकमा सहभागी ४१ दलमध्ये झण्डै ७० प्रतिशत नेताहरु सम्मेलन बहिस्कारको विपक्षमा रहेको उनले बताए ।
वैठकमा वैद्य माओवादी र पिपुल्स पार्टीलगयतका सीमित दलले मात्रै सम्मेलन बहिस्कारको पक्षमा वकालत गरेको नेम्वाङले बताए ।
जनमोर्चा नेपालका जीवी धमलाले पनि आफूहरु सर्वपक्षीय सम्मेलनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।
तर, सर्वपक्षीय सम्मेलनमा सहभागी नहुने निर्णयमा ४१ दलकै पूर्ण सहमति रहेको माओवादी उपाध्यक्ष सीपी गजुरेलले दाबी गरे ।
वैद्य माओवादीको कार्यालयमा भेलाभएका मोर्चाका केही नेताहरुले भनिरहेको सुनिन्थ्यो, ‘हामीलाई यो निर्णय चित्त बुझेको त छैन, तर मिडियाले थाहा पाउने गरी असन्तुष्टि नराखौं ।’
माओवादीले ठीकै गर्यो : लिङदेन
यसैवीच पूर्वी नेपालमा वैद्य माओवादीको भन्दा सशक्त उपस्थिति जनाइरहेको संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले सम्मेलन बहिस्कार गरेर वैद्य माओवादीले सही निर्णय गरेको बताए ।
‘कांग्रेस र एमालेले वैद्य माओवादीसमेत मिलाएर चार दलीय सिन्टीकेट बनाउन खोजेको थियो, त्यहाँ जाँदा वैद्यजीहरुलाई फाइदै थियो,’ लिङदेनले अनलाइनखबरसँग भने-‘तर उहााहरुले ३३ दलीय मोर्चाको साथ नछाडेर राम्रो काम गर्नुभयो ।’
सर्वपक्षीय सम्मेलनलाई कांग्रेस र एमालेले एजेन्डासहितको सार्थम सम्मेलन भन्दा पनि ‘चिया सम्मेलन’मा परिणत गर्न खोजेकाले त्यस्तो सम्मेलन गर्नुको कुनै अर्थ नहुने लिङदेनले बताए ।
प्रतिक्रिया 4