१२ कात्तिक, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड नेतृत्वको एमाओवादीले जनताको सेवाभन्दा ‘गाईभैंसी पाल्ने संघर्ष’लाई मुख्य बनाएको आरोप लगाएका छन् ।
‘उहाँ (प्रचण्ड) हरु गाईभैंसी पाल्ने संघर्ष मुख्य हो भन्नुहुन्छ, हामी जनताको सेवा गर्ने गरी कार्यकर्ता परिचालित हुनुपर्छ भन्छौं,’ एमाओवादी र माओवादीवीच फरक छुट्याउँदै विप्लव भन्छन्,’ उहाँहरु राजनैतिक क्रान्ति पूरा भइसक्यो अब आर्थिक क्रान्ति मात्र बाँकी छ भन्नुहुन्छ, हामी नेपालमा राजनैतिक सत्ता नै परिवर्तन भएको छैन, पहिले जनताको राज्य निमार्ण गर्नुपर्दछ भन्छौं । उहाँहरु सत्ता परिवर्तनको संघर्षलाई सहायक बनाउनु हुन्छ, हामीले राजनैतिक सत्ता परिवर्तन गर्ने संघर्ष नै मुख्य हो भन्छौं ।
विप्लवको थप भनाइ छ- ‘उहाँहरु एक थान संविधान बनाउनेतिर हुनुहुन्छ, हामी त्यो तरिकाले हुँदैन, जनताको संविधान नबन्ने भएपछि अर्को अधिकारसम्पन्न राजनैतिक सभा निर्माण गरौं भन्छौं ।’
वैद्यलाई चेतावनी
नेकपा- माओवादीभित्र मोहन वैद्यको लाइनमा असहमति राख्दै आएका विप्लवले पार्टीमा भइरहेको विवादलाई चाँडो सुल्झाउन आफूले मोहन वैद्यलाई सचेत गराएको खुलासा गरेका छन् ।
आफ्नै पार्टीका मजदुरहरुले प्रकाशित गरेको वेबसाइटलाई लिखित अन्तरवार्ता दिँदै पार्टीभित्रको अन्तरविरोधबारे भनेका छन्- ‘पार्टीमा भइरहेको बहसलाई कसरी सुल्झाउने भन्नेबारेमा अध्यक्ष कमरेड किरणसँग गम्भीर छलफल चलिरहेको छ । हामीले भनेका छौं, मिल्छ एकमतका साथ क्रान्तिकारी कार्यदिशा निर्माण गरेर जाउँ । मिल्दैन, छिट्टै विशेष विधि र नीतिको प्रयोग गरेर पार्टीलाई एउटै धारमा जाने बनाऔं । आशा छ, हामी एउटा सार्थक निस्कर्षमा पुग्नेछौं ।’
प्रतिक्रिया 4