
१६ कात्तिक, काठमाडौं । नेपालको कृषि क्षेत्रको अनुसन्धान गर्ने एकमात्र निकाय कृषि अनुसन्धान परिषद् (नार्क) आइतबारदेखि नेतृत्व विहीन भएको छ ।
डा. दिलबहादुर गुरुङले कार्यकारी अधिकृत पदबाट राजिनामा दिएकोले नार्क नेतृत्व विहीन भएको हो ।
गुरुङले गत शुक्रबार पत्रकार सम्मेलन गरी आइतबारदेखि लागु हुनेगरी पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै गुरुङले राजीनामा दिएका हुन् । काम गर्ने वातावरण नभएकोले राजिनामा दिएको गुरुङले बताए । ‘स्वायत्त संस्थामाथि हस्तक्षेप हुँदा वैज्ञानिकको इमानदारिता र स्वाभिमान बचाउनका लागि मैले राजीनामा दिएको हुँ,’ गुरुङले भने ।
यसअघि मन्त्री पराजुलीले स्वायत्त निकायको कार्यकारी निर्देशक पदमा रहेका गुरुङलाई मन्त्रालयमा काज सरुवा गरेका थिए । नार्कको अध्यक्ष कृषि मन्त्री हुने प्रावधान छ ।
कृषि अनुसन्धान परिषद् ऐन २०४८ अनुसार गुरुङलाई २६ मंसिर २०६८ मा मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा चार बर्षका लागि नियुक्त गरेको थियो । तर, मन्त्रीको राजनीतिक हस्तक्षेपका कारण कार्यअवधि बाँकी रहँदै उनले राजीनामा दिए ।
नार्कमा कार्यकारी निर्देशक हुने लाइनमा वरिष्ठताको क्रमअनुसार डा. टेकबहादुर गुरुङ र डा. यज्ञगजाधर खड्का रहेका छन् ।
प्रतिक्रिया 4