१ पुस, काठमाडौं । बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुँदै आएका केही सरकारी कार्यालय मंगलबारबाट बिहान ६ बजेदेखि नै खुल्न थालेका छन् ।
सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा काठमाडौं उपत्यकासहित मोरङ, रुपन्देही, बाँके र कैलालीका बढी भिडभाड हुने कार्यालयमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १२ घण्टे सेवा सुरु गरेको हो ।
मंगलबार बिहान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काठमाडौं जिल्ला प्रशासन पुगेर बिहानी सेवाको उदघाटन गरेका छन् । सामान्य प्रशासन मन्त्री पण्डितले वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयको राहदानी शाखा उदघाटन गरे ।
बिहानैदेखि सरकारी कार्यालय उदघाटनका लागि सामान्य प्रशासन मन्त्रालयका सचिव डइन्द्रप्रसाद उपाध्याय भैरहवा पुगेका छन् । सहसचिव बाबुराम अधिकारी नेपालगन्ज तथा अर्का सहसचिव सुरेश अधिकारी मोरङ र सुनसरी पुगेका छन् ।
पाँचै जिल्लामा मंगलबार विहान ६ बजेदेखि जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ ।
काठमाडौं उपत्यकामा राहदानी विभाग, नेपाल टेलिकमको छ महसुल काउन्टर, खानेपानी संस्थानका २० वटै महसुल काउन्टर खुलेका छन् । यातायात कार्यालयले पनि १२ घन्टा सेवा सुरु गरेको छ । विद्युत प्राधिकरणमा भने तत्काल १२ घण्टे सेवा लागू गरिएको छैन ।

एक वर्षीया नाबालिकालाई राहदानी
रुपन्देहीमा एक वर्षीया नाबालिकालाई राहदानी दिएर १२ घण्टे सरकारी सेवा सुरु गरिएको छ । अनलाइनखबरकर्मी सलमान खानका अनुसार जिल्ला प्रशासन कार्यालयमा सामान्य प्रशासन मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले पडसरी-१ की एक वर्षीया नाबालिका आयुमी ढकाललाई बिहान ६ बजे राहदानी दिएर सेवा शुभारम्भ गरेका हुन् ।
विहानको सेवामा ४ पुरुष र ३ महिला गरी ७ जनाले राहदानी लिएको राहदानी फाँटका प्रमुख मिननाथ शर्माले जानकारी दिए ।
यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ का १६ वर्षीय विराट सेनले आफ्नो नागरिकता बनाएर पहिलो सेवा लिएको नागरिकता फाँटका प्रमुख यज्ञराज पोखरेलले बताए । एक महिलासहित ८ जनाले विहानी सेवाबाट नागरिकता बनाएको पोख्रेलले जानकारी दिए ।
सरकारले सेवाग्राहीको बढी चाप हुने कार्यालयहरुमा सुरु गरेको १२ घण्टे सेवा धेरै राम्रो रहेको रुपन्देहीका सेवाग्राहीले बताएका छन् ।
मोरङका अनलाइनखबरकर्मी ध्रुव भट्टराईका अनुसार सरकारले बिहान ६ बजेबाट सरकारी कार्यालय खुलाउन शुरु गरेको पहिलो बिहान मोरङ जिल्लाका सरकारी कार्यालय सुनसान देखिए ।
मालपोत कार्यालय मोरङमा बिहान ९ बजेसम्म एउटा अशंवण्डाको तोक लागेको थियो भने नापीमा पनि नक्सा पासको एउटा मात्रै काम भएको थियो ।
सेवा सुरु भएको पहिलो दिन धेरैलाई जानकारी नहुँदा सेवाग्राही कम भए पनि बुधबारदेखि बढ्दै जाने प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले अपेक्षा गरे ।
विहानी सेवाका लागि मोरङ जिल्ला प्रशासनमा ६ जना, मालपोत कार्यालयमा ११ जना र नापी कार्यालय ४ जना कर्मचारी खटाइएको छ ।
बाँकेमा धूप अगरबत्ति जलाएर सेवा शुभारम्भ
बाँकेका अनलाइनखबरकर्मी आरपी सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेमा धूप, अगरवत्ति जलाएर १२ घण्टे सेवा शुभारम्भ गरिएको थियो । पहिलो सेवाग्राहीको रुपमा बागेश्वरी-९ कि सिपा स्वानी थापालाई नागरिकता वितरण गरिएको थियो ।
मध्यपश्चिम क्षेत्रीय प्रशासक विजयकुमार मल्लिकले थापालाई नागरिकता वितरण गर्दै सेवा शुभारम्भ गरे ।
१२ घण्टे सेवा शुभारम्भ कार्यक्रममा बाँकेका सरकारी कार्यालयका प्रमुख तथा विभिन्न राजनीतिक दलका जिल्लास्थित नेताहरुको उपस्थिति थियो ।
सेवा शुभारम्भ गर्न सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रोहितकुमार भट्टराई लगायतको टोली बाँके आएको छ ।
सगरमाथा यातायात व्यवस्थापन कार्यालय लहानले पनि मंगलबार बिहानदेखि १२ घण्टे सेवा प्रारम्भ गरेको छ ।
अत्यावश्यक सेवा सन्चालन हुने सरकारी कार्यालय विहान ६ बजेदेखि नै खुले पनि कर्मचारीहरुले अतिरिक्त भत्ता नपाउने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
विहानी सेवा शुभारम्भका केही तस्वीरहरु हेर्नुहोस्











तस्वीरः श्रीधर पाैडेल
प्रतिक्रिया 4