+
+

‘नेम्वाङको डेडलाइन त्यतिकै जान्छ, जेठमा संविधान जारी हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २० गते १७:१५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान नबनी सुशील कोइरालाले प्रधानमन्त्री पद एमालेलाई हस्तान्तरण नगर्ने बताएका छन् ।

अनलाइनखबरसँग आइतबार विशेष कुराकानी गर्दै डा. कोइरालाले भने- ‘संविधान जारी भयो भने त छाड्नैपर्‍यो, संविधान जारी भएन र जेठ १५ गते जारी गर्ने सहमति भो भने दुई/तीन महिनाले त के फरक पार्ला ? यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाएर अगाडि बढे भैहाल्यो नि ।’

नेकपा एमालेसँग संविधान बनेपछिमात्रै सुशील कोइरालाले प्रधानमन्त्री पद हस्तान्तरण गर्ने सहमति भएको डा. कोइरालाले अनलाइनखबरलाई बताए । तर, हतार गरेर प्रक्रिया निलम्बन गरी माघ ८ मै संविधान जारी गर्नु उचित नहुने उनले बताए ।

कांग्रेस नेता डा. कोइरालाले सभामुख सुवास नेम्वाङले दिएको सोमबारको ‘डेडलाइन’ त्यतिकै खेर जाने र मस्यौदा समितिले नै संविधानको ड्राफ्ट तयार पार्ने बताए ।

सरकार परिवर्तन र संविधान निर्माणका एजेन्डादेखि कोइराला परिवारको आन्तरिक प्रतिस्पर्धा लगायतका विषयमा डा. कोइरालासँग अनलाइनखबरले गरेको कुराकानी :

Dr-Shekhar-koirala
कांग्रेस पदाधिकारी बैठकले संविधानभसभा अध्यक्ष सुवास नेम्वाङको प्रस्तावलाई सकारात्मक भनेको थियो, फेरि एकाएक विरोध गर्न थाल्नुभयो नि ?

– हामीले सकारात्मक भनेका थिएनौं, त्यो कसरी आयो, थाहा भएन । प्रधानमन्त्रीजीले  मैले त्यसरी बोलेको छैन भन्नुभो । हामी सबैले त्यसरी एकजनालाई मस्यौदा लेख्न दिनुहुँदैन, त्यसरी दिँदा भोलि विकृति ल्याउँछ भनेका छौं । मस्यौदा समिति छँदैछ । बरु मस्यौदा समितिमा पठाउने निर्णय गरौं । मस्यौदा समितिले सात दिन, दस दिन जति लगाउँछ, गरोस् भन्ने हाम्रो भनाइ हो ।

दलहरुवीच सहमति भएन भने पनि कृष्ण सिटौला नेतृत्वको मस्यौदा समितिले नै संविधान लेख्नुपर्छ भन्न खोज्नुभएको हो ?

– अँ । मस्यौदा समितिलाई त काम गर्न दिइएकै छैन नि । हामीले त केही बनाएकै छैन ।

तपाईहरुले सहमति गर्न नसकेपछि सभाध्यक्ष नेम्वाङले बाध्य भएर आफैं मस्यौदा लेख्न पाउँ भनेको हैन र ?

– सभामुखज्यूले को-कोसित सल्लाह गर्नुभो, थाहा छैन । राम्ररी सल्लाह गरेको जस्तो पनि लागेन । उहाँको आफ्नै विचार हो कि जस्तो पनि देखिन्छ । तर, यो अत्यन्त पेचिलो विषय छ । हामी सहमतिको कुरा गर्दैछौं । माओवादी र मधेसी दलहरुले पनि त्यसको (नेम्वाङको प्रस्तावको) विरोधै गरेका छन् । कार्यव्यवस्थामै विरोध गरे क्यार ।

पहिलेको सहमति माघ ८ मा प्रधानमन्त्री सुशील कोइरालाले पद छाड्ने भनिएको होइन, संविधान बनेपछि छाड्ने भनेको हो-शेखर कोइराला

सभाध्यक्षले नै संविधानको मस्यौदा गर्दा के हुन्छ ?

– मस्यौदा समितिलाई दिँदा त्यहाँ सबै दलका प्रतिनिधिहरु छन् नि त । त्यसैले यो नै बेष्ट र आइडियल हो । मेरो चाहिँ के भनाइ छ भने तपाईहरु माघ आठै गते संविधान जारी गर्ने भन्ने जुन सोच्दै हुनुहुन्छ, त्यो नगर्नोस् । देशको संविधानजस्तो कुरा सबै धाराहरु निलम्बन गरिकन छलफल पनि धेरै नगर्ने हो भने जनतामा त हामीले पुर्‍याउनुपर्‍यो । पहिलो मस्यौदा जनतामा पुग्नुपर्‍यो । हामी त्यो चाँहि गरौं ।

यहाँको विचारमा संविधान माघ ८ मै जारी गर्नुपर्छ भन्ने केही छैन ? के बैसाख/जेठमा बनाए पनि हुन्छ भन्न खोज्नुभएको हो ?

– सहमति भइसकेपछि लेख्ने काम भयो र जेठै १५ गते संविधान आउँछ भने त केही फरक परेन नि त । तर, जनतालाई एकदम बाइपास गरिकन, सभासदहरुलाई बाइपास गरिकन संविधान जारी गर्ने भनेको त त्यो त भोलिका लागि आत्मदाहजस्तो हुन्छ जस्तो लाग्छ मलाई ।

उसोभए सभाध्यक्ष नेम्वाङले सोमबारका लागि दिएको डेटलाइन के हुन्छ ?

– त्यो त्यत्तिकै जान्छ । जानु पनि पर्छ । मस्यौदा समितिले त हामीलाई डकुमेन्ट पठाइदिनोस् भनेर मागिसक्यो ।

संविधान नबने पनि माघ ८ पछि त सुशील कोइरालाले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री पद त छाड्नुपर्ला नि हैन ?

– हैन । राजनीतिमा नैतिकताको कुरा त आउँछ आउँछ हेर्नोस् । तर, संविधानको अन्तरवस्तुमा सहमति भयो र मस्यौदाको खाका हामीले जनतामा पुर्‍याउन सक्यौं भने यही सरकारलाई निरन्तरता दिएर राष्ट्रिय सहमतिको सरकार बनाएर अगाडि बढे भैहाल्यो नि ।

संविधान जारी भयो भने चाँहि सुशील कोइरालाले प्रधानमन्त्री पद छाड्नुहुन्छ ?

– संविधान जारी भयो भने त छाड्नैपर्‍यो । छाड्दिन भन्ने कुरा पनि हुँदैन । मोरल कुरा पनि हुन्छ ।  संविधान जारी भएन, सबै कुरा ठीक भो, अन्तरवस्तुमा सहमति भो र जेठ १५ गते जारी गर्ने भनेर सहमति भो भने त दुई तीन महिनाले त के फरक पार्ला र ?

तर, सरकार बनाउने बेलामा एमालेसँग के सहमति भएको थियो ? माघ ८ पछि सुशीलले प्रधानमन्त्री पद ओलीलाई हस्तान्तरण गर्ने भनिएको होइन ?

– पहिलेको सहमति माघ ८ मा छाड्ने भनिएको होइन, संविधान बनेपछि छाड्ने भनेको हो ।

संविधान जारी नहुञ्जेल कांग्रेसले गर्ने, त्यसपछि एमालेले गर्ने भन्या हो ?

– हो त्यही हो ।

तर, कांग्रेसभित्रै शेरबहादुर देउवाजीहरु माघ ८ पछि सरकार परिवर्तनका लागि चलखेल गर्न थाल्नुभएको सुनिन्छ नि ?

– खोइ, अहिलेसम्म त त्यस्तो देखिँदैन । त्यसलाई नकार्न त सकिँदैन । तर, मलाई लाग्दैन अहिल्यै त्यस्तो भइहाल्छ ।

मान्छेहरु भन्छन्, प्रधानमन्त्रीको विषय कांग्रेेसको महाधिवेशनसँग जोडिएको छ । सुशील कोइरालालाई महाधिवेशनसम्म प्रधानमन्त्री नछाड्दा फाइदा हुन्छ रे नि ?

– संविधान ८ माघमा जारी भयो भने त सुशीलजी कसरी प्रधानमन्त्री हुनुहुन्छ ? जेठैमा जारी भयो भने कसरी महाधिवेशनसम्म हुनुहुन्छ ?

कांग्रेसको महाधिवेशन चाँहि कहिले हुन्छ त ?

– हामीले एक वर्ष म्याद थपेका छौं । भदौ अन्त्यसम्म भनौं न । हामीले त बैसाख जेठैमा होस् भन्न खोजिराखेका छौं ।

छिटै महाधिवेशन गर्न दबाव दिँदै हुनुहुन्छ ?

– गरिराखेका छौं । तर, त्यो हिसाबले नेपाली कांग्रेसभित्र संगठनका कुराहरुमा त्यति भइराखेको छैन ।

तपाई १२ बुँदे सहमति र शान्ति प्रक्रियामा सक्रिय सहभागिता जनाउने नेतामध्ये एक हुनुहुन्छ, अहिले दलहरुवीच सहमति हुन नसकेका बेला तपाईसँग सहमतिको कुनै मोडेल छ ? अनलाइनखबरमार्फत् सबैलाई बताइदिनोस् न ।

– यो मेरो व्यक्तिगत विचार है त । यो नेपाली कांग्रेसको विचार हैन नि । मेरो विचार त के हो भने शासकीय स्वरुपमा नेपाली कांग्रेसले संसदीय व्यवस्था भनेको छ, एमाओवादीले राष्ट्रपतीय प्रणाली भनेको छ । स्थिरताको खोजी न हो हाम्रो । माओवादीहरु समावेशीको कुरा गर्छौं भन्नुहुन्छ, राष्ट्रपतीय प्रणालीले स्थिर सरकार दिन्छ, तर त्यो समावेशी हुँदैन ।

संसदीय व्यवस्थामा जनउत्तरदायी सरकार हुन्छ, तर स्थिरता अलिकति कम हुन्छ ।

तर, संसदीय व्यवस्थालाई हामीले अलिकति फराकिलो बनाइकन पाँचवर्षमा दुईचोटि मात्रै अविश्वासको प्रस्ताव ल्याउन पाउने, दुईवर्ष पहिले अविश्वासको प्रस्ताव ल्याउन नपाउने, ल्याउँदा पनि को प्रधानमन्त्री हुने भनेर विकल्प दिने, संसदीय समितिहरुलाई अझ प्रभावकारी बनाउने सुधारिएको संसदीय व्यवस्था भन्छु म त्यसलाई । यसले स्थिरता र उत्तरदायित्व दुबै दिन्छ । शासकीय स्वरुपमा यो उपयुक्त विकल्प हुन सक्छ ।

प्रदेशहरुको हकमा मिलनविन्दु के हुन सक्छ ?

– जति कम प्रदेश बन्यो, त्यति राम्रो । म त मधेसको मान्छे, मधेसमा केही साथीहरुले एउटै प्रदेशको कुरा गरिराख्नुभएको छ । मधेसको भूभाग भनेको जम्मा १७ प्रतिशत हो । १७ प्रतिशत भूभागमा हाम्रो ५१ प्रतिशत जनसंख्या छ । त्यहाँ प्राकृतिक स्रोत साधन पनि छैन ।

हामीले चुरेको भूभागलाई लिइकन अथवा जिल्लालाई नटुक्र्याइकन जंगल, जल जमीन, जडिबुटी, खनिजलगायत प्राकृतिक  स्रोत साधनमा मधेसीहरुको पनि हक लाग्नुपर्‍यो नि त । यसका लागि पनि मधेसी मोर्चाले सोच्नुपर्‍यो । मधेसमात्रै भने त उहाँहरुलाई प्राकृतिक स्रोत साधनै हुँदैन नि । जिल्लालाई तोडेन भने पनि यो समस्या धेरै हदसम्म कमी हुने रहेछ ।

म पूरै चुरे पनि भन्दिँन, १७ प्रतिशतबाट बढाएर हामीले २४/२५ प्रतिशत भावरसम्म सक्ने रहेछ । यसो गर्दा मधेसी जनताले प्राकृतिक स्रोत साधनमाथि आफ्नो हक अधिकार जमाउन पाउँछन् नि ।

दोस्रो कुरा, पहाडमा ८ वटा प्रदेश बनाउने उहाँहरुको सोच छ, मधेसमा चाँहि उहाँहरु दुईवटाको दिनुहुन्छ । भोलि केन्द्रमा उहाँहरुको प्रतिनिधित्व कसरी हुन्छ ? खाली उहाँहरुको मुख्यमन्त्री भएर मात्रै त हुँदैन । प्रतिनिधित्व धेरै महत्वपूर्ण कुरा हो । प्रतिनिधित्वका लागि मधेसमा तीन/चारवटा प्रदेश हुनुपर्छ भन्ने मेरो भनाइ हो ।

निर्वाचन प्रणालीमा चाँहि कांग्रेस र एमालेले समानुपातिक प्रणाली छाडे भन्ने आरोप छ नि ?

– यसमा मलाई पनि अलिकति अप्ठ्यारोपन लागेको छ । मलाई के लाग्छ भने अहिलेकै सिस्टममा ६०/७० प्रतिशत कति राख्ने हो, समानुपातिकमा ३० देखि ४० प्रतिशत राखेर, बन्दसूची गरेर विकृति विसंगति कम गर्न सकिन्छ ।

तपाईको विचारमा समानुपातिक निर्वाचन प्रणाली छाड्नु हुँदैन ?

– हो । यसको प्रतिशतमा थोरै सुधार गर्न सकिन्छ । तर, यसो गर्दाखेरि हामीले थ्रेसहोल्ड बिर्सन हुँदैन । थ्रेसहोल्ड १.५ प्रतिशत राख्ने कि, २ राख्ने कि वा २.५ राख्ने, यसमा राजनीतिक दलहरुले बसेर छलफल गर्नुपर्छ । तर, थ्रेसहोल्ड हुनैपर्छ ।

पहिले तपाईसमेत लागेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुभयो, अहिले दलहरु नमिलिरहेका बेला तपाईचाँहि किन भूमिकाविहीन ?

– भूमिका त पार्टीका नेतृत्व गर्नेहरुमा भर पर्छ ।  अलिकति त फरक आउँछ नि । सबैको आफ्नो आफ्नो स्टायल हुन्छ । मेरो भूमिका कम भएकोजस्तो लाग्दैन ।

कोइराला परिवारबारे कुरा गरौं, वीपीको राष्ट्रिय मेलमिलापको कुरा गर्ने कोइराला परिवारभित्र बिराटनगरस्थित पुर्ख्यौली सम्पत्तिमै झगडा छ भन्ने सुनियो नि ?

– पैत्रिक सम्पत्तिमा हाम्रो केही पनि झगडा छैन । हाम्रा बुबाहरु धेरै वर्ष पहिले छुटि्टइसक्नुभएको हो । बिराटनगरको त्यो घरजग्गा ८/८ कठ्ठा बुबाहरुका नाममा आयो, बुबाहरुबाट हामी छोराछोरीहरुले पायौं । त्यो घर र त्यसले चर्चेको ८ कठ्ठा जग्गा मेरा बुबाबाट म र दाजुका नाममा छ । वीपीका छोराहरुले पाउनुभएको जग्गा बेच्नुभयो । सुजाताले जीपी फाउन्डेसन भनेर घर बनाउनुभएको छ, उहाँले बेच्नुभएको छैन । यसमा झगडा झुगुडीको कुरै छैन, त्यो त हाम्रै घर हो । त्यहाँ कोइराला परिवार सबै बस्थ्यौं, अहिले पनि बस्छौं ।

कोइरालाहरुको प्रतिस्पर्धा पार्टी नेतृत्वका लागि पनि हुने गरेको सुनिन्छ नि ?

– राजनीतिमा अलिअलि प्रतिस्पर्धा नहुनु पनि नराम्रो हो । प्रतिस्पर्धा हुन्छ । यसलाई अन्यथा लिन पनि हुँदैन । तर, हामीवीच गलत प्रतिस्पर्धा चाँहि छैन ।

आगामी दिनमा नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारमै रहोस् भन्नेमा तपाईहरु कति सजग हुनुहुन्छ ?

– हामीले काम गरिरहनुपर्‍यो । मेहनत गरिरहनुपर्‍यो । नेपाली कांग्रेसका कार्यकर्ता माझ पुगिरहनुपर्‍यो । उनीहरुका दुख-सुखमा साथ दिनुपर्‍यो । कार्यकर्ताले हामीलाई पत्याउनुपर्‍यो । पत्याए भने नेतृत्व आफैं आउँछ । खालीस् कोइरालाको विरासत छ भनेर म घरमा बसिराखें भने त आउने हैन नि ।

पार्टी सभापतिमा सुजाता कोइरालाले इच्छा गरेको सुनिन्छ, शशांक कोइरालाको पनि नाम आउने गरेको छ, आगामी महाधिवेशनमा सुजातालाई सघाउनुहुन्छ त ?

– हैन, मैले पनि सोध्छु नि त उहाँलाई । म किन हुँदिन भन्ने कुरा त मैले पनि त गर्नुपर्‍यो नि ।

तपाई आफैं सभापतिमा उठ्ने ?

– नेपाली कांग्रेसका कार्यकर्ताले कसरी लिन्छन् । मलाई पत्याएनन् भने बेग्लै कुरा हो, पत्याए भने म अगाडि आउँछु ।

अनलाइनखबरबाटै घोषणा गरिदिनु न, आगामी महाधिवेशनमा कांग्रेसको सभापतिको दाबेदार म हुँ भनेर ।

– अहिले त म कार्यकर्तासित भेटभाटमै व्यस्त छु । उहाँहरुसित छलफल पनि गरिराखेको छु । अहिले टाइम छ । समय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?